बेनीमा तीन सय वर्ष पुरानो बर्खेनाच सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

-ध्रुवसागर शर्मा 

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहाँसिक धरोहर मानिएको बर्खेनाच सुरु भएको छ ।

विसं १७६० को दशकमा वेनीमा वस्ती वसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ वसाइँसराइगरी आएका थिए । त्यतिवेला देखि नै बेनीमा बर्खेनाच देखाउने परम्परा वसेको हो ।

प्राचीन समयमा समाजमा खलपात्रको रुपमा चिनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिक बनाइ त्यसलाई बध गरेर (मारेर) कालीगण्डकीमा विसर्जन गरेसंगै एक महिने बर्खे नाच सुरु भएको हो । नेपाल भाषा मंकाः खलको आयोजनामा मंगलबार संगमचोकबाट तीनखुट्टे राक्षसको प्रतीकात्मक आकृतिलाई बजार परिक्रमा गराई बध गरेर कालीगण्डकी नदीमा विर्सजन गरिएको थियो ।

घण्टाकर्णलाई नदीमा बगाएपछि बर्खेनाच औपचारिक रुपमा सु्रु हुने नेपाल भाषा मंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । ‘हिजो घण्टाकर्णको बध गरी कालीगण्डकीमा विर्सजन गरियो, आजदेखि बर्खेनाच सुरु भएको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

वर्खेनाच अन्र्तगत लाखेनाच, रोपाइँ नाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र रथयात्रा, हनुमान नाँच आदी पर्दछन् । तर, पछिल्लो समय कलाकारहरूको अभावमा हनुमान नाच देखाउन छाडिएको छ ।

बर्खे नाचमा मंकाःखल अन्तरगतको यूवा संगठन ल्यामपुचले आवश्यक तयारी सहित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । जनशक्तीको अभावका कारण हनुमान नाँच, रोपाई लगायतका केही नाचहरु सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

बर्खेनाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरूको सम्झनामा सापरु अर्थात् नागानागीनी नाच निकाल्ने चलन छ । समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको बिसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गर्ने मंकाः खलका निर्वतमान अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ । बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको छ ।

बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन् ।

सदरमुकाम बेनीबजारमा तीनसय बर्ष पहिले मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू गरिएको बताइन्छ । बर्खेनाचअन्र्तगत तिजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समाप्त हुने प्रचलन रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?