नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा खेलमैदान निरीक्षण

हिमालय टाइम्स
Read Time = 3 mins

तनहुँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिले तनहुँको शुक्लागण्डकी नगरपालिका-८ गणपति खेलमैदानको निरीक्षण गरेको छ । उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको नेतृत्वमा आज खेलमैदानको निरीक्षण गरिएको हो ।

उपसमितिले खेलमैदानको निरीक्षण गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विकसँग छलफलसमेत गरेको छ । सो प्रतियोगिताअन्तर्गत तनहुँमा क्रिकेट खेल सञ्चालनका लागि खेलमैदानको सम्भाव्यता अध्ययन गरिएको बताइएको छ ।

राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजनाका लागि नगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने उपप्रमुख विकले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘शुक्लागण्डकीमा खेलकुद प्रतियोगिता आयोजना गरिनु गौरवको विषय हो, यसका लागि नगरपालिकाका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छौँ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँ क्रिकेट खेल सञ्चालनका लागि मैदान उपयुक्त देखिएको छ ।

करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।
खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरिरहेको छ । पोखराका विभिन्न ठाउँमा खेलमैदानको निरीक्षणपश्चात् उक्त टोली तनहुँ आइपुगेको हो ।

राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखराबाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?