बुटवल उपमहानगरले घटायो करका दर

Read Time = 3 mins

चन्द्रकान्त खनाल/हिटा
रूपन्देही । बुटवल उपमहानगरपालिकाले करका दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९÷०८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इ-रिक्सा, हाटबजार बैठकीलगायतमा करका दर घटाइएको हो । उल्लेखित करका दर साउन १ गतेदेखि लागू भएका छन् ।

सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटेको छ । यसअघि १० हजार रुपैयाँ घरबहाल लिनेले एक हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्नेमा अब नौ सय रुपैयाँ तिरे पुग्नेछ ।

सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार एक सय रुपैयाँदेखि ४९ हजार पाँच सय रुपैयाँसम्म कायम गरिएको छ । पाँच लाखसम्म करयोग्य सम्पत्ति भएमा एक सय रुपैयाँ र पाँच करोडदेखि माथि भएमा प्रतिहजारको दुई हजारका दरले सम्पत्ति कर तिनुपर्नेछ ।

त्यस्तै इ-रिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत पाँच सयका दरले एक हजार रुपैयाँ तिर्दै आएकोमा चालु आर्थिक वर्षमा तीन सयका दरले छ सय रुपैयाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दामोदर ज्ञवालीले बताउनुभयो ।

ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको मंसिरदेखि लागू हुने गरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ । यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी करबापत एक सय ३० रुपैयाँ तिर्दै आएकोमा मंसिरदेखि एक सय १५ रुपैयाँ र एक सय रुपैयाँ तिर्ने तरकारी पसलले ९० रुपैयाँ तिरे पुग्नेछ ।

त्यसैगरी महिला, अल्पसंख्यक र अपांगता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ भने सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने भएका छन् ।

ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनामा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा ७५ प्रतिशत छुट गरिने भएको छ । त्यस्तै नागरिकता, अपांगता, ज्येष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरिएको ज्ञवालीले बताउनुभयो ।

बुटवल उपमहानगरले चालु आवमा ६० करोड राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?