कृषि विकास कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढासहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकामध्ये कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख र सब-इन्जिनियर राजेन्द्र राहीमाथि सिँचाई आयोजनाको यथार्थ नापजाँच र कार्यमूल्यांकन नगरी नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको, उपभोक्ता समितिसँग मिलेमतो गरी रकमको बढी भुक्तानी दिएको आरोप लागेको छ । यस्तै, कृषि विकास कार्यालय मुगुका तत्कालीन ना.प्र.स. मणिचन्द्र विक, जिल्ला समन्वय समिति मुगु्का तत्कालीन खरिदार विश्वास उपाध्यायमाथि झुटा कुरा लुकाईछिपाई गरेको आरोप लागेको छ ।

यस्तै, तीनमुखेदेखि लुवाबान्न्ना कृषि सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सह-सचिव सुरेश बुढामाथि सम्झौता अनुसारको कार्य मूल्यांकनभन्दा बढी भुक्तानी लिई गैरकानुनी कार्य गरेको आरोपमा मुद्दा दायर गरेको हो । छायाँनाथ रारा नगरपालिका वडा नं १० का तत्कालीन वडाध्यक्ष धर्मदत्त सावतले सिँचाईको कार्यसम्पन्न भए नभएको जानकारी नलिई हचुवाको भरमा भुक्तानी दिन सिफारिस गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

दायर गरिएको मुद्दामा अख्तियारले मणिचन्द्र बि.क. र खरिदार विश्वास उपाध्याय बाहेकका सबैलाई २३ लाख १० हजार १९९ रुपैयाँ बिगो माग दाबी गरेको छ । अख्तियारका अनुसार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १० स्थित तीनमुखेदेखि लुवाबान्नसम्म सिँचाई कुलो निर्माणका लागि कृषि विकास कार्यालय, मुगुबाट आ.व. २०७६/०७७ मा बजेट विनियोजन भएकोमा उपभोक्ता समिति र कृषि विकास कार्यालय, मुगुका कर्मचारीसमेतको मिलेमतोमा आफूलाई गैरकानुनी लाभ पुर्‍याई नेपाल सरकारलाई गैरकानुनी हानिनोक्सानी पुर्‍याउने गरी रकम अनियमितता भएको देखिएको छ । उक्त कुलो निर्माणमा त्यसका जिम्मेवार पक्षको मिलेमतोमा अनियमितता भएको भनी उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरुले भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले बुधबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?