कोरोनाबारे सरकारको निर्देशन अपेक्षित

हिमालय टाइम्स
Read Time = 5 mins

सुरुमा कोरोनाले संसार संत्रस्त बन्यो । अचानक फैलिन पुगेको यो संक्रमणका कारण विश्व प्रभावित भयो । भयभित बनेको संसार विस्तारै लयमा फर्कियो । केही देश सामान्य अवस्थामै रहे, कम प्रभावमै तिनीहरू पन्पिन सके भने केहीले निकै ठूलो क्षति व्यहोर्नुपर्‍यो । औषधि त बन्यो तर त्यसभन्दा पहिले निकै ठूलो संख्यामा मानिसको ज्यान गइसकेको थियो । खोपको निर्माण भएपछिका दिनमा संसारका मानिसहरूले खोप लगाए । नेपालले आफैँ खोप आविष्कार गर्ने भन्ने कुरा थिएन । तैपनि दाताराष्ट्रहरूले दिएको खोप ल्याएर नागरिकलाई लगायो । केही मात्रा खोप अनुदानमा प्राप्त भएको थियो भने केही खरिद गरेरै भए पनि ल्यायो । त्यसपछिका दिनहरूमा कोरोनाको प्रभाव झण्डै शून्यमै झर्‍यो । प्रभाव नै नभएपछि त्यसबाट डराइरहनु परेन ।

त्यसपछिका दिनहरू सामान्य जस्तै बने । कोरोना महामारी सुरु हुनुभन्दा पहिलेकै स्थितिमा नगरिकहरू आ-आफ्ना काममा लाग्नथाले । दुई वर्षसम्म कोरोनाले तहसनहस पारेको अर्थतन्त्र, मानिसहरूको पेशा व्यवसाय सुचारु बन्नथाल्यो । पहिले भएको क्षतिको पूर्ति नभए पनि अवस्था सामान्यतिर फर्किन लाग्यो तर यसको जुन तुस बाँकी थियो त्यसले फेरि टाउको उठाउन खोजेको देखिन आयो । निरन्तर ओरालो लागेर न्यून स्थितिमा पुगेको कोरोनाको प्रभाव हाल उरालिएर आएको पाइएको छ । यसको प्रभाव कम भएको होला तर महामारी भनेकोे महामारी नै हो । यसलाई कमजोर ठान्नु हुँदैन । हिजोका दिनमा यसको प्रभाव जति सबल थियो आज त्यति नहोला तर यसको वृद्धिदर फाट्टफुट्ट नै किन नहोस् यसबाट मानिसको मृत्युसमेत भएको उदाहरणलाई अघि सार्ने हो भने कोरोनाबाट अझै डराउनैपर्छ ।

तर, सरकारले भने यति भएर पनि नागरिकहरूको सचेतताका लागि कुनै कार्यक्रम ल्याएको छैन न सन्देशमूलक शिक्षाको प्रबन्ध गरेको छ । नागरिकहरू आफैँ सचेत हुनुपरेको छ । जानेका, बुझेका र सचेत रहनुपर्छ भन्ने भावनाका नागरिकहरू सचेत रहलान् तर सबैले यसरी बुझेका हुँदैनन् र बुझेर पनि नबुझे जस्तो गर्नुपर्ने कतिको बाध्यता छ । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको बताइएको छ तर त्यसलाई ओराल्ने कुनै उपाय अपनाइएको छैन । मंकिपक्स नामको महामारी पनि विश्वमा फैलिँदै गएको छ । कोरोना जत्तिको हानीकारक नभए पनि यसलाई कम आँक्न मिल्नेखालको छैन ।

यसबाट सजग रहनु परेको छ तर मूल रूपमा गत विगतका वर्षमा फैलिएको कोरोना संक्रमणको बाँकी तुस पुनः बढ्दै गएर हाल त्यसको ग्राफ निकै माथि पुगिसकेको अवस्थामा सरकार र जनता दुवै सचेत रहनै पर्छ । कोरोनाका पहिलो, दोस्रो र तेस्रो गर्दै फैैलिएको लहर आफ्नो स्वरूप बदली-बदली देखा परिरहेको छ । अबको संक्रमण चाहिँ चौथो लहर हुनसक्ने विज्ञ चिकित्सकले बताएका छन् । यो चौथो लहर वा स्वरूप कोरोनाको चौथो पुस्ता भएका कारण यसको प्रभावबारे यो फैलिनुभन्दा पहिले कसैले पनि केही बताउन सक्ने अवस्था छैन । लक्षणको अध्ययन गरेर यसबारे चिकित्सकहरूले पनि भन्न सक्ने हुन् ।

जनस्वास्थ्यका मापदण्ड पालन नगर्दा संक्रमण दर फेरि यसरी बढेको हो भन्ने चिकित्सकहरूको धारणा रहेको छ । कुरा घुमाउरो गरी उहाँहरूले पनि जनताले सचेतता नअपनाएको भन्ने नै हो । सचेत रहन सरकारले सन्देश सम्प्रेषण गर्ने र निर्देशन दिने मात्र हो सचेत रहने त नागरिकले नै हो । त्यसैले कोरानाको बढ्दो संक्रमणबाट जोगिन नागरिक नै सचेत रहनुपर्ने हुन्छ । यस यथार्थलाई हामीले सचेत भएर पालना गरौँ, यसैमा हामी सबैको भलाइ छ । सांसदहरूले मात्र मास्क लगाउँदैमा कोरोना दूरिदुहाइ हुन्छ भन्ने होइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?