नेपाल आठौँ आश्चर्यको देश

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 13 mins

विश्वमा सात आश्चर्यका बारेमा अधिकांशले जानकारी राखेको पाइन्छ । छिमेकी देश चीनको ग्रेटवालदेखि भारतको ताजमहलसम्मका संरचनाहरू सात आश्चर्यमा पर्ने गरेका छन् । संसारमा अचम्मका घटनाहरू समय समयमा घट्ने र ताजुब लाग्दा संरचनाहरू निर्माण पनि भइरहने भएकाले आजकल विभिन्न संस्थाहरूले सात आश्चर्यमा पर्ने कुराहरू भोटिङमार्फत चयन गर्ने गरेको पनि पाइन्छ । मान्छेले यस्तो पनि कसरी भयो भनेर विश्वास गर्नै कठिन हुने कुराहरूलाई सात आश्चर्यमा राख्ने गरिएको छ । नवनिर्मित या घटित संरचना या घटनालाई भने आठौँ आश्चर्य भन्ने गरिन्छ ।

नेपालदेखि बाहेकका अन्य मुलुकहरूमा आठौँ आश्चर्य बिरलै भेटिन्छन् । नेपाल भने यस्तो मुलुक हो, जहाँ दिनैपिच्छे पनि आठौँ आश्चर्यको घटना घट्न सक्दछ । प्रत्येक दिन नभए पनि संसारका ठूलाठूला र विकसित मुलुकहरूमा भन्दा बढी पत्यार गर्न नसिकने घटनाहरू नेपालमै घटिरहेका हुन्छन् र यस्ता घटनाहरू पनि नेपालीहरूका निमित्त भने सामान्य नै लागिरहेको पाइन्छ । जतिसुकै अपत्यारिलो कुरालाई पनि साधारण रूपमा लिन सक्ने नेपालीहरूको जस्तो खुबी शायदै अन्य मुलुकका नागरिकहरूको होला ।

विसं २०५८ जेठ १९ गते राजदरबार हत्याकाण्ड भयो । बैठक कक्षमै राजा वीरेन्द्रलगायतका कतिपय दरबारका सदस्यहरूले ज्यान गुमाए भने भागेर भर्‍याङ उक्लिसकेकी रानी ऐश्वर्य पनि बन्दुकको गोली खाएर इहलीला त्याग गर्न बाध्य भइन् । त्यतिमात्रै होइन, हत्याकाण्ड भएको भवनभन्दा भागेर निकै पर पुगेका अधिराजकुमार निराजनले समेत प्राण त्याग्न परेको इतिहास ताजै छ । यी सबैको हत्या तत्कालीन युवराज दीपेन्द्र एक्लैले गरेको प्रतिवेदन आयो, हामी सबैले पत्याएकै छौँ । लिखित इतिहास यही बनेको छ, प्रामाणिक इतिहास यही बनेको छ र भविष्यमा पनि यही नै रहनेछ ।

सम्भवतः जनार्दन शर्मा संसदीय समितिको प्रतिवेदनबाट चोखिँदैछन् । खाएको विष पो लाग्छ, नखाएको लाग्दैन भन्ने उखान विपरीत यो समितिको छानविनका आधारमा जनार्दन शर्मालाई नखाएको विष लाग्न पुगेको देखिन्छ । अनाहकमा खाईपाई आएको मन्त्रीको जागिर शर्माले गुमाए ।

कालो पदार्थ खाएर खाटमा डग्रंग पल्टेका युवराज दीपेन्द्रले एकैछिनमा उठेर लखेटी लखेटी आफ्नै परिवारका सदस्यलाई मार्न सक्नुलाई आठौँ आश्चर्य मान्नै पर्ने देखिन्छ । यो त भयानक घटना नै हो । अन्य सामान्य घटनाहरूको फेहरिस्त बनाउने हो भने निकै लामो बन्छ । एउटा ठूलै पुस्तकमा पनि नेपालका आश्चर्यजनक घटनाहरू अटाउन मुस्किल पर्ने देखिन्छ । मानिसले कस्तासम्म कार्य गर्न सक्दा रहेछन् र गरेका कामहरू पनि जनताका मनमा अमीट भए पनि प्रामाणिक रूपमा कतै नरहने गरी कसरी विलीन हुन सक्दारहेछन् भन्ने पनि नेपालका आश्चर्यहरूमा पर्ने गरेका छन् तर नेपाली जनता आश्चर्यका रूपमा लिँदैनन् र ती सामान्य घटना सरह नै सरल रूपमा पच्ने गरेका छन् ।

जसले जसलाई जे आरोप लगाए पनि हुने र आरोप प्रमाणित हुनु नपर्ने आश्चर्यजनक मुलुक पनि नेपाल नै बन्ने गरेको छ । निकट विगतमै बजेट निर्माण सम्बन्धमा अचम्मकै घटना हुन पुग्यो नेपालमा । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका अधिकारीहरूलाई बाइपास गरेर अनधिकृत व्यक्तिहरू छिराई बजेट निर्माणका क्रममा करका दरहरू हेरफेर गर्ने कार्य गरे भन्ने आरोप पत्रपत्रिकाले लगाए । अर्थमन्त्रीले अस्वीकार गरे तर कसैले मानेनन् । संसदीय समिति नै गठन गरेर छानबिन गर्ने काम भयो ।

छानबिनको क्रम त सकिएको छैन तर काम सुरु गरेको पन्ध्र दिनसम्म पनि समितिले कुनै प्रमाण फेला पार्न सकेको छैन । सम्भवतः जनार्दन शर्मा संसदीय समितिको प्रतिवेदनबाट चोखिँदैछन् । खाएको विष पो लाग्छ, नखाएको लाग्दैन भन्ने उखान विपरीत यो समितिको छानबिनका आधारमा जनार्दन शर्मालाई नखाएको विष लाग्न पुगेको देखिन्छ । अनाहकमा खाईपाई आएको मन्त्रीको जागिर शर्माले गुमाए ।

जनार्दन शर्मा चोखिएपछि पनि केका आधारमा यो समाचार प्रकाशित गरियो भनेर पत्रकार या सम्पादकलाई सोध्ने काम भविष्यमा शायदै गरिएला । यी सबै घटनाक्रम हेर्दा पत्रिका र पत्रकारले विनाप्रमाण कसैका बारेमा जस्तोसुकै जघन्य समाचार पनि प्रकाशित गर्न पाउने मुलुक नेपाल नै हो भन्न कुनै कठिनाइ पर्दैन जस्तो लाग्दछ । होइन भने पत्रिकाले प्रमाण दिनुपर्ने होइन र ? कि त असत्य समाचार प्रकाशित गरेकोमा क्षमा माग्नु पर्दैन र ?

सामान्य चोरीका घटनाका अभियुक्त समेतलाई केरकारका क्रममा पोलिग्राफ टेष्ट गर्ने गरेको पाइन्छ । पोलिग्राफ टेष्टले सत्य बोलेको हो कि असत्य भन्ने छुट्याउन मद्धत पुग्दछ भन्ने गरिन्छ । संसदीय समितिमा वयान दिने क्रममा अर्थ सचिव भक्कानिए । त्यो भक्कानिएको कारण पत्ता लगाउनेतर्फ कसैको ध्यान गएको पाइँदैन । सत्य कुरालाई सत्य हो भन्न पनि उनलाई भक्कानिनुपर्ने किन होला ? अनधीकृत व्यक्ति कोही छिरेको थिएन त उनले अर्थ मन्त्रालयमा कोही आएको थिएन भन्न पनि किन त्यति गाह्रो मानेका होलान् ? आश्चर्यकै विषय हो ।

निर्दोष व्यक्ति दोषको भागीदार बन्नु परेको जनार्दन शर्मामात्रै होइनन् । यस्तो नियति माओवादी पार्टीका नेताहरूले नै भोग्नु परेको पनि अचम्मकै कुरा हो । केही वर्षअघि सभामुख पदमा आसीन रहेका कृष्णबहादुर महराले पनि नभएको आरोप खेप्नु पर्दा छँदाखाँदाको सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । यदि महरा दोषी भएका भए त अदालतले चोखो भनेर कसरी प्रमाणित गर्न सक्दथ्यो र ? अदालतले सफाइ दिएपछि त्यसमाथि कसैले प्रश्न उठाउनु भनेको सरासर गल्ती नै मानिन्छ । विचरा महरालाई पनि नखाएको विष नै लाग्न पुग्यो भन्नुपर्ने भएको छ ।

विषै नखाई विष लाग्ने मुलुक नेपाल नै हो भन्दा संसारका मानिसहरूलाई आठौँ आश्चर्य लाग्ला तर नेपालमा भने कुनै विशेष घटनाका रूपमा लिने गरिएको छैन । अचम्म लाग्दा घटनाहरू यी मात्रै होइनन् । नेपालमा सत्ता परिवर्तन हुने बेलामा नेपालका ठूला नेताहरूको विदेश भ्रमण व्यापक हुने गर्दछ । नेताहरू त्यहाँ गएर द्विपक्षीय विषयमा कुरा गरेर आयौँ भन्छन्, हामी पत्याउँछौँ । अर्को मुलुकको राजदूतले यहाँका पूर्वप्रधानमन्त्रीहरूलाई तिमीहरू मिल भनेर खुलेयाम भन्दछन्, हामीलाई सामान्य लाग्दछ । कुन-कुन राजनीतिक दलका बीचमा गठबन्धन गर्न उपयुक्त हुन्छ भनेर अरू नै देशका मान्छेहरूले निर्णय गर्दछन्, हामीलाई कुनै आपत्ति हुँदैन । संसारमा हुनै नहुने कुराहरू यहाँ भइरहन्छन् तर सबै सामान्य नै ठहरिने गरेका छन् ।

कृषकभन्दा कृषकको उत्पादन बेच्ने व्यापारी धनी, व्यापारीभन्दा बिचौलिया धनी, बिचौलियाभन्दा राजनीतिकर्मी धनी हुने अवसर दिने देश पनि नेपाल नै भएको छ र पनि सबै कुरालाई सामान्य रूपमा लिने नेपाली जनता नै हुन् भन्दा कुनै अत्युक्ति नहोला ।

जीवनभर जागिर नखाएको नेताले काठमाडौँमा घर बनाउँछ, नेपाली जनतालाई सामान्य नै लाग्दछ । कहिल्यै व्यापार व्यवसाय नगरेको राजनीतिकर्मी डेढ करोडको गाडी चढेर हिँड्छ, हामीलाई कुनै अचम्म लाग्दैन । कुनै उद्योगको मालिक नभए पनि शानशौकतपूर्ण जीवन यापन गरेका पार्टीका सदस्यहरू यत्रतत्र हैकम जमाएर हिँडेको देखिन्छ, नेपालमा आश्चर्यको विषय बन्दैन । कृषकभन्दा कृषकको उत्पादन बेच्ने व्यापारी धनी, व्यापारीभन्दा बिचौलिया धनी, बिचौलियाभन्दा राजनीतिकर्मी धनी हुने अवसर दिने देश पनि नेपाल नै भएको छ र पनि सबै कुरालाई सामान्य रूपमा लिने नेपाली जनता नै हुन् भन्दा कुनै अत्युक्ति नहोला ।

प्रत्येक वर्षको चुनावमा झुटा कुरा गर्ने कतिपय नेताहरू घरघरमा आइरहन्छन् र पनि तिनलाई सम्मान र विश्वास गर्ने देश पनि नेपाल नै हो । अघिल्लो पटकको चुनावमा बोलेका कुराहरू रत्तिभर पूरा नगरे पनि अर्को पटकको चुनावमा सजिलै जित्न सकिने देश पनि नेपाल नै भएको छ । सर्वसाधारण जनता नभएको र जनता जति सबै पार्टीकै कार्यकर्ता भएको जस्तो देश नेपाल नै दरिन पुगेको छ । एम् अधिकारीको कुरा उठ्ने र त्यत्तिकै बिलाउने देश हाम्रै हो । कुरा उठिसकेपछि एम् अधिकारी खोज्नु नपर्ने देश नेपाल नै हो तर उनको सौभाग्य जनार्दन शर्मा र कृष्णबहादुर महराको नियति भने उनले भोग्नु परेको छैन ।

नेपालमा थुप्रै एम् अधिकारीहरू छन् तर कुरा एकजनाको मात्र उठेको छ । एम् अधिकारीहरू जस्तै अरूहरूका बारेमा पनि खोजविन हुनुपर्ने हो तर आवश्यकता ठानिएको छैन । समयले कोल्टे फेर्दै जाँदा एम् अधिकारीहरू मुक्त देश नेपाल बन्ने आशा सबैको छ र त्यो दिन आएमा स्वच्छ प्रशासनले आफ्नो हैकम जमाउने छ । अचम्मका घटनाहरू घट्न छाडेका दिन अवश्यै नेपालको उन्नति हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रुाद काेइराला
कुलप्रुाद काेइराला
2022-07-28 10:20 am

दनक रुखले बुझ्छ सहन्छ ।अहिलेका सांसद,राजनीति कर्मी,मन्त्री सबै चरित्र,दृष्टि नभएका पाकेटमार छन् ।तिनलाई अाश्चर्य भनेकै थाह छैन भने सचिव किन भक्कानियाे भनेर साेध्नेछैनन् भनेर के लेखेकाे शान्ति? जुन देशका वक्ता दरदुर छन्,जुन देशका मन्त्री गर्धभजस्ता छन् र जुन देशमा मानव पुरिष र गाेमयमा विभेद गर्ने विवेक नै हराएकाेछ तत्र किमाश्चर्यम् ???

रिलेटेड न्युज

छुटाउनुभयो कि ?