अमेरिकी सहायक विदेशमन्त्री मन्त्री लू आज नेपाल आउँदै

Himalaya Times
Read Time = 3 mins

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज (बिहीबार) नेपाल आउँदै हुनुहुन्छ । लू आज साँझ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

नेपालमा रहँदा उहाँले उच्च राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । परराष्ट्र स्रोतले दिएको जानकारीअनुसार लू दुईदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै लूको भ्रमण हुन लागेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुखको नेपाल भम्रणलगत्तै लू नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लू मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गराउनुअघि नेपाल भम्रणमा आउनुभएको थियो । उहाँले शीर्ष नेताहरूलाई एमसिसी संसद्बाट पारित गर्न दबाबसमेत दिनुभएको थियो ।

अहिले नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा अमेरिकी सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको बेला लूको नेपाल भम्रण हुन लागेको हो । उहाँले नेपाल भम्रणअघि भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित दोवलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपालमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क-कसलाई भेटवार्ता गर्ने भन्नेबारे जानकारी बाहिर ल्याइएको छैन । विदेशमन्त्री लू बिहीबार र शुक्रबार नेपालमा रहनु हुनेछ ।

बुधबार मात्रै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपी कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको थियो । पछिल्लो समय सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच एमसिसी र एसपिपीको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ । छ साना कम्युनिष्ट पार्टीहरूले एमसिसी र एसपिपीको विरोधमा सडक संघर्षको घोषणा गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?