प्रचण्डका तुरुप आफैंलाई घातक

Read Time = 10 mins

माओवादी अध्यक्ष प्रचण्ड तुरुप फ्याक्नमा माहिर मानिन्छन् । जसका कारण उनी शान्ती सम्झौता पछि कसैले चाहेर वा नचाहेर पनि नेपाली राजनीतिको केन्द्रमा देखिन्छन् । सकेसम्म त्यसयता उनको पार्टी सधैँ सरकार मै छ नभए पनि राजनीतिको बागडोर भने प्रचण्डकै हातमा हुन्छ ।

पहिलो संविधान सभा चुनावमा सबैभन्दा ठूलो दल बनेर संसदीय राजनीतिमा उदाएको माओवादी त्यस पछि तेस्रो दल बनेपनि उसको भूमिकामा कमी छैन । अझ भनौ सरकार निर्माणको चावी आफ्नो हातमा लिएर बसेको छ । माओवादीको हातमा नेपालको राजनीतिक भविष्य रहेको खूद प्रचण्ड आफैं सगर्व भन्ने गर्दछन् । ठूलो दल नबने पनि तेस्रो दल हुँदै सरकार निर्माणको मुख्य खेलाडीका रुपमा माओवादी छ । दुई ठूला दल कांग्रेस र एमाले मिल्नै नसक्नुको कारक पनि माओवादी नै हो भन्ने गरिन्छ ।

बेला बखद कसैकसैले प्रचण्डलाई बोलीको ठेगान नभएको पनि भन्ने गरेका छन् । वास्तवमै उनी विहान एउटा कुरा गर्छन्, दिउँसो अर्को कुरा गर्छन् फेरि साँँझ भने सुन्नेलाई विहान र दिउँसो गरेको कुरा भन्दा भिन्नै लख काट्नुपर्ने खालको कुरा गर्छन् ।
तुरुप फ्याक्दा फ्याक्दै कतै आफैँ कुरुप हुने त होइनन् भनेर पनि चर्चा हुने गरेको छ । हुन त हिजो महान जनयुद्ध छेडेका प्रचण्डका सहयात्री मध्ये धेरैले उनलाई छोडेर नयाँ घरजम गरिसके । फेरि त्यो बेलाका सहयात्री एकै ठाउँ भेला पार्ने भन्दै प्रचण्ड यतिबेला समाजवादी केन्द्र नामको गठबन्धनको जोडबलमा छन् । धेरैले यसलाई कांग्रेस तर्साउने अर्को तुरुपका रुपमा लिएका छन् ।

पाँचदलीय गठबन्धनले स्थानीय निर्वाचन सम्पन्न गरेपछि आगामी संसदीय निर्वाचन भने आफ्नो नेतृत्वको सरकारले गराउन चाहान्छन् प्रचण्ड । त्यो गराउन नसकेमा आगामी निर्वाचन पछि आफ्नो नेतृत्वमा सरकार बनाउने ग्यारेन्टीको खोजीमा उनी छन् । उनको पछिल्लो भारत भ्रमण पनि यसकै सेरोफेरोमा भएको अनुमान गरिएको छ । यस अघि नै उनले फेरि एक पटक प्रधानमन्त्री बनेर देशको बागडोर समाउने अभिलाशा रहेको आफैंले बोलिसकेका छन् ।

कुनैबेला सिंगो माओवादी ‘हेडक्वाटरका चेयरम्यान’ रहेका ‘प्रचण्ड’ नेताका हिसावले यतिबेला शक्ति विहिन बन्दै गएका छन् । मूल पार्टी कमजोर बन्दै गएपछि यतिबेला प्रचण्ड एक पछि अर्को तुरुपका भरमा शक्तिशाली बन्न चाहान्छन् ।

तुरुपकै रुपमा प्रचण्डले जन आन्दोलनबाट प्राप्त उपलब्धिमाथि षड्यन्त्र भइरहेको त्रास देखाउँदै परिवर्तनकारी शक्तिहरु एकै ठाउँमा आउनुको विकल्प नरहेको भन्दै एकजुट हुन आग्रह गर्दै आएका छन् । अझ उनी राष्ट्रिय राजनीतिमा आफ्नो पल्ला भारी गराउन छरिएर रहेका मोहन वैद्य, विप्लव, बादल र डा.बाबुराम भट्टराईलगायतलाई फकाएर गठजोड गर्ने रणनीतिमा छन् ।

त्यसका लागि स्थान बनाउन नेपाली कांग्रेसलाई धम्क्याई रहेको राजनीतिका जानकारहरुले बताउँदै आएका छन् । तर उनको धम्कीले सोचेजति बजार भाउ पाउन नसकेपछि उनी कहिले माओवादी एकता त कहिले समाजवादी केन्द्रको तुरुप हान्न थालेका छन् ।
उनले सुरुवातमा देशभक्त गणतान्त्रिक सरकारको सट्टा नयाँ जनवादी क्रान्तिको बाटोबाट मुलुकलाई अघि बढाउनुपर्छ भनेर नयाँ तुरुप स्वरुप जनतालाई जनयुद्धमा मात्र लगेनन् भन्नेहरुले नेपाललाई ५० बर्ष पछाडी धकेले पनि भन्छन् । कसैले उनको त्यो कर्मलाई महान क्रान्ति भन्दै यी सम्पूर्ण परिवर्तनको देन प्रचण्ड हुन् भन्दै भक्तिगान पनि गर्छन् ।

१० वर्षको जनयुद्धको जगमा दोश्रो जनआन्दोलनको परिणाम स्वरुप प्रचण्डले ठूलै स्थान हात पारेपछि पनि उनले धेरै उपलब्धि हत्याइरहेकै छन् । दुई पटक देशको प्रधानमन्त्री बनिसकेका उनी प्रधानमन्त्री को बन्ने र बनाउने भन्ने चाबी आफ्नो हातमा पार्ने धाउन्नमा छन् । नभएपनि कम्तिमा पनि सके पहिलो–दोस्रो नभएपनि तेस्रो पार्टी बनेर बस्न चाहन्छन् ।

विशेषत प्रचण्डले भारत भ्रमण पछि मुख्य दुई कुरालाई जोडबलका साथ उठाउन थालेका छन् ।

एक आगामी निर्वाचनसम्म सत्ता गठबन्धन कायम राख्ने अर्को वाम गठबन्धन बनाउने ।

प्रचण्डका यी दुई योजना अरु केही नभएर आगामी निर्वाचनमा माओवादीलाई अझ बलियो बनाएर शक्ति आफूसँगै राख्नु सिवाय अरु केही होइनन् ।

एमालेसँग एकता गरेर कम्युनिस्ट केन्द्रको शक्तिशाली लिडर हुने उनको सपना छोटो समयमै चकनाचूर भयो । यतिबेला प्रचण्ड नेपाली कांग्रेसको हात समाएर मात्र हिड्नसक्ने अवस्थामा छ । भलै कम्युनिष्ट केन्द्र वा समाजवादी केन्द्र निर्माण गरेर त्यसको हाइकमाण्ड गर्ने उनको अभिलाशालाई अन्य कम्युनिष्टले पत्याई दिन्छन् या दिदैनन् त्यो भने हेर्न बाँकी छ । स्थानीय निर्वाचनमा कांग्रेसको साथ लिएर केही बढी नै लाभ लिएका उनमा समाजवादी केन्द्रको निर्माण गरेर कांग्रेसलाई चुनौति दिने महत्वकांक्षा बढ्दै गएको छ ।

भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आफू भारत भ्रमणमा गएको भने पनि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओको पाँच दिने नेपाल भ्रमण लगत्तै प्रचण्डको भ्रमणलाई विशेष अर्थपूर्ण रुपमा हेरिएको थियो । भलै अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिएर प्रचण्डको साइज थोरै भने घटाई दिए ।

प्रचण्डले आफ्नो भारत भ्रमणपछि मधेसको असन्तुष्टि सम्बोधन गर्न नागरिकता विधेयक पास गराउने घोषणा गरे, सोही मुताविक प्रतिनिधिसभाबाट उक्त विघेयक अहिले राष्ट्रिय सभामा छलफलमा छ ।

भारतलगायत छिमेकीसँग कम्फटेबल बन्ने उद्घोष गर्दै आएका प्रचण्डले भारतसँगको सम्बन्ध सुधार गर्न आफू जोखिम उठाउन तयार रहेको समेत घोषणा गर्ने गरेका छन् ।

आफू कमजोर हुँदै गएपछि प्रचण्डले छिमेकीसँग आशिर्वाद लिन थालेका छन् । कहिले अमेरिका, कहिले चीन, कहिले भारत रिझाउने गरेका उनी फेरि अर्को शक्तिकेन्द्र जापान भ्रमणमा जाँदैछन् ।

एमसीसीलगायतका सम्झौता कुनै हालतमा पनि गर्न नहुने अडान राख्दै आएका प्रचण्ड भारत भ्रमण लगत्तै नागरिकता विधेयक सम्बन्धि ७ वर्ष प्रावधानमा आफ्नो अडानबाट पछि हट्नु पछिल्लो उदाहरण हो ।

यसैगरी गएको असार ६ गते मन्त्रिपरिषदको बैठकले एसपीपीमा सामेल नहुने निर्णय गरेको थियो । उक्त निर्णयमा प्रचण्डले आफ्नो भूमिका सबैभन्दा बढी रहेको बताउँदै आएका छन् । तर, एक महिना बितिसक्दा समेत अमेरिकालाई पत्र नपठाउँदा समेत उनी चुप छन् । उनकै पार्टी सरकारमा छ । कतै फेरि एमसीसीझै व्याख्यात्मक टिप्पणी उठाउँदै एसपीपी पनि पास हुने त होइन भन्ने अर्को आशंका उब्जिएको छ ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ramesh
Ramesh
2022-07-28 5:03 pm

👍

रमेश नेपाल
रमेश नेपाल
2022-07-28 5:49 pm

एकदमै यथार्थपरक विष्लेशण

रिलेटेड न्युज

छुटाउनुभयो कि ?