डम्पिङ साइट बन्द गर्ने काठमाडौंका मेयरलाई बञ्चरेडाँडाका स्थानीयको चेतावनी

Read Time = 5 mins

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले यस्तो चेतावनी दिएको हो ।

फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्ने लगायत यसअघि महानगरपालिका र सरकारले स्थानीयवासीसँग गरेका सम्झौता कार्यान्वयन नगरे आगामी भदौ १ गतेबाट फोहोरका गाडीहरु ल्याण्डफिल साइटमा लैजन सधैँका लागि बन्द गरिने बताए ।

कार्यक्रममा बोल्दै बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले राज्यका सम्बन्धित अंगहरुले फोहोरमैला व्यवस्थापनका नाममा आजभन्दा करिव ५० वर्ष अघिदेखि सत्ता प्राप्तिको मुद्दा बनाएर स्थानीयलाई पीडा र समस्या दिइरहेको बताउनु भयो । उहाँले नागरिकहरुको सम्पतीमा पौडी खेलेर ओखरपौवाका जनताको हक, अधिकारलाई काठमाडौं महानगरपालिका लगायतका सम्बन्धित निकायले चासो नदिएको गुनासो गर्नुभयो । उहाँले आगामी भदौ १ गतेबाट सधैँका लागि उपत्यका भित्रको फोहोरमैला बञ्चरेडाँडा र सिसडोल ल्याण्डफिल साइटमा फाल्ने कुरा इतिहासको रुपमा भदौ १ हुने घोषणा गर्नुभयो । उहाँले आउँदो दिनमा यो वा त्यो बहानामा फोहोरका लागि छुट नदिने बताउनु भयो । उहाँले कोही पनि नेताको सत्ताको लागि, विरासत र अभिष्ट सिद्धिका लागि स्थानीय वासिन्दालाई फोहोर र रोगको शिकार बनाउन नसकिने बताउनु भयो ।

पत्रकार सम्मेलनमा स्थानीय राजन न्यौपानेले काठमाडौंमा यमबुद्धको शालिक बनाउने मेयरले फोहोर फाल्ने ठाउँका लागि किन बजेट तथा कार्यक्रम तर्जुमा नगरेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नयाँ र स्वतन्त्र मेयरबाट फोहोर व्यवस्थापनको आश गरेपनि त्यो सत्य हुन नसकेको बताउनु भयो ।

उहाँले काठमाडौंका मेयर बालेन्द्र साहले रुटिन नेपाललाई एक करोड रुपैयाँ दिएको आरोप लगाउँदै फोहोर फाल्ने ठाउँका लागि मिठा गफ गरेको तर बेजट ल्याउँदा समेत कुनै कार्यक्रम र योजनामा उल्लेख नगरेको बताउनु भयो । मेयर साहको सिसडोलवासीको मागलाई गरेको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताउनु भयो ।

स्थानीयवासीहरुले मानवबस्ती रहित ल्याण्डफिलसाइट विकास क्षेत्र, फोहोरमैला प्रदुषणरहित, मानवबस्ती विकास क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । त्यस्तै ल्याण्डफिल साइटमा अस्पतालजन्य फाहोरमैला, विषाधीजन्य फोहोरमैला, मृत पशुपंक्षी फोहोरमैला, ब्याट्री, विद्युतीय सामग्रीजन्य फोहोरमैला, औद्योगिकजन्य फोहोरमैला,तेजाव तथा रसायनजन्य फोहोरमैला, होटल तथा रेष्टुराँबाट उत्पादित कुहिने फोहोरमैला प्रतिवन्ध गर्नुपर्ने माग गरेका छन् । त्यस्तै नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १,२,३ लाई र धादिङको धुनिबेंसी नगरपालिका १ कोल्पुखोला आधार क्षेत्रलाई विशेष संवेदनशील घोषणा गर्नुपर्ने तथा तारकेश्वर नगरपालिका ३ को त्रिशुली रोड तथा पासाङ ल्हामू राजमार्गको पश्चिम तर्फका भूभागलाई समेत संवेदनशील घोषणा गर्नुपर्ने माग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?