डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका ढकाल भन्छन् : देउवालाई आराम दिन आएको हुँ

Read Time = 4 mins

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गर्नुभएका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने हुनु भएको छ ।

पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आउनु भएका गुल्मीका सागर ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पुरै नयाँ’ अभियानसहित तीन वटा मुद्दा लिएर अगाडि बढेको बताउनु भयो ।

जसमा वातावरण विकाससँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन् ।

शेरबहादुर देउवालाई आराम दिन डडेलधुरा आएको ढकाल बताउनु हुन्छ। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उहाँको भनाइ छ ।

‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मेहेनत गर्नु भयो । हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’ उहाँले भन्नुभयो, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो । उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो । अब सल्लाह दिने काम गर्नुहुन्छ ।’

व्यवस्था पाइसकेकोले अवस्था परिवर्तन गर्ने समय आएको उहाँको भनाइ छ । डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी दिएको उहाँले बताउनु भयो। सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उहाँको तर्क छ । डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने उहाँको दाबी छ ।

उहाँ भन्नुहुन्छ, ‘१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ । म देउवालाई हराउन आएको होइन । ४०–५० देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।’

पाहुनालाई माया गर्ने नेपालीको संस्कार भएकोले त्यो माया पाउने उहाँको अपेक्षा छ । उहाँले डडेल्धुराको युवालाई गुल्मीबाट उठ्नसमेत आग्रह गर्नुभयो । देशको मुद्दा लिएर जसले जहाँबाट उठे पनि हुने उहाँको तर्क छ ।

डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो । बुधबार बस चढेर उहाँ डडेल्धुरा पुग्नु भएको हो । ढकाल पेसाले इन्जिनियर हुनु हो। उहाँ आफैंले पनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?