वेस्ट इन्डिजविरुद्धको शृंखलामा भारतको क्लिनस्विप

हिमालय टाइम्स
Read Time = 4 mins

नयाँदिल्ली । भारतले वेस्ट इन्डिजसँगको तीन एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलको शृंखलामा क्लिनस्विप गरेको छ । भारतले तेस्रो खेलमा वेस्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिका आधारमा ११९ रनले पराजित गर्दै तीनवटै खेल जितेको हो ।

वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ३६ ओभरमा ३ विकेट गुमाउँदै २२५ रन बनाएको थियो । वर्षाले खेल रोकिँदा २४ ओभरमा भारत ११५-१ को अवस्थामा थियो । बाँकी १२ ओभरमा भारतले ११० रन बनायो । भारतका शुभमन गिल ९८ बलमा सात चौका र दुई छक्कासहित ९८ रनमा अविजित रहनुभयो । गिल खेलको प्लेयर अफ द म्याच र सिरिज दुवै चुनिनुभयो ।

ओपनर तथा कप्तान शिखर धवनले ७४ बलमा ७ चौकासहित ५८ रन जोड्नुभयो । पहिलो विकेटका लागि गिल र धवनले २२.५ ओभरमा १२२ रनको शतकीय साझेदारी गर्नुभएको थियो । श्रेयस ऐर ३४ बलमा चार चौका र एक छक्कासहित ४४ र सूर्यकुमार यादव आठ रनमा आउट हुनुभयो ।

वेस्ट इन्डिजका स्पिनर हायडन वाल्श जुनियरले सर्वाधिक दुई विकेट लिनुभयो । पुन वर्षाका कारण वेस्ट इन्डिजले २६ ओभरमा डकवर्थ लेविस पद्धतिका आधारमा २५७ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याउनेक्रममा वेस्ट इन्डिज निर्धारित २६ ओभरमा १३७ रनमा समेटियो ।

वेस्ट इन्डिजका कप्तान निकोलस पुरन र ब्रेन्डन किंगले ४२-४२ रन बनाउनुभयो । पुरनले ३२ बल र किंगले ३७ बल खेल्दै समान पाँच चौका र एक छक्का प्रहार गर्नुभएको थियो । भारतका युजभेन्द्र चहलले चार ओभरमा १७ रन खर्चेर चार विकेट लिनुभएपछि वेस्ट इन्डिजको पारी ध्वस्त भएको थियो । शार्दुल ठाकुर र मोहम्मद शिराजले समान दुई–दुई विकेट लिनुभयो । भारत र वेस्ट इन्डिजबीच अब पाँच टी-२० आइको खेल हुनेछ ।
इंग्ल्यान्डको जित

इंग्ल्यान्डले पहिलो टी-२० आइमा खेलमा दक्षिण अफ्रिकालाई ४१ रनले पराजित गरेको छ । योसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि २३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले २८ बलमा दुई चौका र आठ छक्कासहित ७२ रनको विस्फोटक पारी खेल्नुभयो । इंग्ल्यान्डका तीव्रगतिका बलर रिचर्ड ग्लेसनले चार ओभरमा ५१ रन खर्चेर तीन विकेट लिनुभयो । रिस टोप्ली र आदिल राशिदले दुई-दुई विकेट हात पार्नुभयो ।

त्यसअघि काउन्ट्री ग्राउन्ड बिस्टलमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३४ रन बनायो । इंग्ल्यान्डका जोनी बेयरस्टोले ५३ बलमा तीन चौका र आठ छक्कासहित ९० रनको पारी खेल्नुभयो । मोइन अलीले मात्र १८ बलमा २ चौका र ६ छक्कासहित ५२ रनको इनिङ खेल्नुभयो । अली नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो । दक्षिण अफ्रिका लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?