एकदिवसीय वरीयतामा नेपाल यथावत्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहन सफल भएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औँ स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो ।

नयाँ वरीयतामा न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अस्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । यसैगरी साउथ अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानमा रहेका छन् ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान आसिफ शेखको एकदिवसीयको ब्याटिङ वरीयता सुधार भएको छ । नयाँ वरीयतामा आसिफको वरीयता दुई स्थान सुधार भएको हो ।

विकेटकिपर ब्याट्सम्यान आसिफ नयाँ वरीयताको ९८औँ स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ १००औँ स्थानमा रहनुभएको थियो । ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८१औँ स्थानमा यथावत् रहनुभएको छ ।

एकदिवसीयको बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३४औँ स्थानमा यथावत् रहनुभएको छ । बलिङमै सोमपाल कामी ९०औँ र करण केसी ९२औँ स्थानमा झर्नुभएको छ । टी–ट्वान्टी वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ३९औँ र दीपेन्द्रसिंह ऐरी ४१औँ स्थानमा यथावत् हुनुहुन्छ । आसिफ शेख पनि ९५औँ स्थानमा यथावत् रहनुभएको छ ।

टी–ट्वान्टीको बलिङतर्फ सन्दीप ३९औँ स्थानमा यथावत् रहँदा अविनाश बोहरा ८९औँ स्थानमा यथावत् हुनुहुन्छ । अल राउन्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९औँ स्थानमा यथावत् रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?