खाद्य परिकारमा ‘ट्रान्स फ्याट’ ले क्यान्सरको जोखिम

Read Time = 7 mins

काठमाडौंं । अति खराब चिल्लो पदार्थ अर्थात् ट्रान्स फ्याट्टी एसिड जनस्वास्थ्यका लागि एकदमै हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ । डब्ल्युएचओ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा संयुक्तरूपमा काठमाडौंमा आयोजित खाद्य पदार्थमा फ्याट्टी एसिडबारेको दुईदिने कार्यक्रममा डब्ल्युएचओ तथा विभागका अधिकारीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा विभागकी महानिर्देशक डा. मनिता जोशी वैद्यले विकसित मुलुकहरूमा तयारी खाद्य पदार्थमा फ्याट्टी एसिड नियन्त्रण र न्यूनीकरणको प्रयास हुँदै आए पनि नेपालमा भने नयाँ विषय भएकाले सचेतना बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । जसका लागि विभागले अध्ययन सुरु गर्ने पनि उहाँले जानकारी गराउनुभयो ।

विभागका उपमहानिर्देशक शैैलेसकुमार झाले ट्रान्स फ्याट्टी एसिड शब्द नेपालमा धेरै प्रचलनमा नरहे पनि ट्रान्स फ्याट अर्थात् अति चिल्लो पदार्थ स्वास्थ्यका लागि अति नै खराब रहेको बताउनुभयो । प्याकेटबन्द खाद्य पदार्थहरू जस्तै– बिस्कुट, तयारी चाउचाउ, भुजिया, चिप्स, कुरकुरे, चिजबल्स, आलुचिप्सलगायतमा अधिकमात्रामा ट्रान्स फ््याट हुने उहाँको भनाइ छ ।

डब्ल्युएचओका अनुसार विकसित मुुलुकले उत्पादन हुने विभिन्न खाद्यान्नमा ट्रान्स फ्याटको मात्रा दुई प्र्रतिशतमा झारिसकेका छन् भने भारतलगायत दक्षिण एसियाली मुलुकले पनि घटाउने प्रतिबद्धता जनाएका छन् । ट्रान्स फ्याट्टी एसिडको अधिक प्रयोगले रक्त नलीहरूको भित्री भागमा असर गर्ने बताइएको छ । कार्यक्रममा डब्ल्युएचओ मुख्यालयकी डा. चिजुरु निसिडा, डा.साइमन बस्चलगायतले विश्वमा ट्रान्स फ्याट्टी एसिडको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।

विज्ञहरूले नेपालमा ट्रान्स फ्याट एसिडसम्बन्धी नीति र कार्यक्रम बनाई छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । तर, कार्यक्रममा सहभागी निजी क्षेत्रका व्यावसायिक प्रतिनिधिहरूले भने नेपालका सन्दर्भमा ट्रान्स फ्याट कडाइले औद्योगिक क्षेत्रमा पार्ने असरबारेमा अध्ययन गरेरमात्रै सोसम्बन्धी नीति नियम तर्जुमा गरिनुपर्ने बताएका छन् । डेरी तथा रेस्टुरेन्ट व्यवसायी अरनिको राजभण्डारीले जनस्वास्थ्यप्रति सबै संवेदनशील हुनुपर्ने भए पनि व्यावसायिक क्षेत्रको पनि अध्ययन गरेरमात्रै निर्णयमा पुग्नु उचित हुने बताउनुभयो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ हो, जसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ, असल कोलेस्ट्रोलको मात्रा घटाउँछ । रक्तनलीका भित्री भागमा नकारात्मक असर गरी रगतको थेग्रा जम्ने हुन सक्छ । रक्तनली साँघुरिनेक्रम बढाउनुका साथै हृदयघात र मस्तिष्कघातको जोखिम बढाउँछ । दुब्ला मानिसका तुलनामा मोटा मानिसमा बढी हानि गर्छ । कतिपय अध्ययनले ट्रान्स फ्याटले क्यान्सर बढाएको देखाएको छ ।

वनस्पति तेललाई जति धेरैपटक ततायो, त्यति नै धेरै ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ र हानिकारक बन्दै जान्छ । त्यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेनलगायतका परिकार स्वादिला भए पनि स्वास्थ्यका लागि एकदमै हानिकारक हुने हृदयरोग निवारण प्रतिष्ठानका सेन्ट्रल वर्किङ कमिटी सदस्य डा. प्रेमराज वैद्यले हिमालय टाइम्सलाई बताउनुभयो ।

डिप फ्राइ गरिएका परिकार सेवन नगर्ने, बजारमा प्याकेट बन्द गरी बिक्रीका लागि राखिएका तयारी खानेकुरा सेवन नगर्नेे, वनस्पति घिउ प्रयोग नगर्ने, तेलहरूमा ओलिभ, तोरी र नरिवल तेल बढी प्रयोग गर्ने, गाईभैंसीको घिउ प्रयोग गर्ने, रातो मासुको सट्टा सेतो मासु खाने, मिठाइ, आइक्रिम, पिज्जा, केक, तयारी चाउचाउलगायत नखाने गरेमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरण हुने वैद्य बताउनुहुन्छ ।

प्रतिष्ठानका अनुसार ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट प्राप्त हुन्छ । राँगा, भैंसी, खसीबोका आदिको रातो मासु तथा दूध ट्रान्स फ्याटका प्राकृतिक स्रोत हुन् । रातो मासुमा पाइने चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा तीनदेखि नौ प्रतिशत हुन्छ भने दूधको चिल्लो पदार्थमा दुईदेखि छ प्रतिशत हुन्छ । तर, थोरै मात्रा प्रयोग गर्दा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले हानि गर्दैन ।

नेपालमा ट्रान्स फ्याट न्यूनीकरणका लागि छिटो कानुन बनाउनुपर्ने प्रतिष्ठानले लबिङ गर्दै आएको छ । नीति नहुँदा नेपाली उपभोक्ता धेरै ट्रान्स फ्याट भएका अस्वस्थकर खानेकुरा खान बाध्य छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?