उकालो लाग्दै कोरोना ग्राफ, १४ प्रतिशत नाघ्यो संक्रमणदर

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । नेपालमा पछिल्लो समय पुनः कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएको छ । पछिल्लो समय दैनिक थपिने संक्रमितको संख्या बढ्दै गएको हो । बिहीबार मात्रै सात सय बढीमा संक्रमण पुष्टि भएको छ । देशभर दुई हजार ५४१ पिसीआर र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा ७१० जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

संक्रमणमुक्त हुनेको संख्या भने २१५ मात्रै छ । बिहीबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयले जनाएको छ ।

बुधबार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार ५६८ जना संक्रमित थपिएका थिए । सोमबारसम्म थपिने कोरोना संक्रमितको संख्या ३४७ मात्रै थियो ।

बिहीबार काठमाडौं उपत्यकामा मात्रै ३२४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २२४, भक्तपुरमा १६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या दुईहजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका ५० जिल्लामा संक्रमित देखिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या चार हजार २३६ पुगेको छ । देशभर रहेका चार हजार २३६ जना सक्रिय संक्रमितमध्ये चार हजार ८० जना होम आइसोलेसनमा र १५६ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये ३३ जना आईसीयूमा र तीनजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केही दिनअघि नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बिएफ प्वाइन्ट वान’समेत भेटिएको थियो । यसअघि ओमिक्रोनको नयाँ प्रजाति बिए फाइब पुष्टि भएको थियो ।

‘कोभिड पुनः फैलिँदै जाने खतरा छ’
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्ण रूपमा नियन्त्रण गर्न सरकारी प्रयत्न जारी रहेको बताउनुभएको छ । बिहीबार वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले केही समययता मत्थर हुँदै गएको कोरोना पुनः फैलिने खतरा देखिएको उल्लेख गर्दै त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । भविष्यमा आउन सक्ने विभिन्न महामारी नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्य विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको छ । यसलाई पूर्ण रूपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य हामीले विकास गर्नुपर्ने खाँचो छ,’ उहाँले भन्नुभयो, ‘भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोग छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्वानुमान गरेको छ । हामीले पनि नसर्ने रोगका बिरामीलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?