अमेरिकी विदेशमन्त्री डोनाल्ड लू आज औपचारिक भेटघाट गर्दै

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार काठमाडौं आउनुभएको छ । दुईदिने भ्रमणमा नेपाल आउनुभएका उहाँ तीन सदस्यीय टोलीसहित विस्तारा विमानमार्फत भारत हुँदै काठमाडौंमा ओर्लिनुभएको हो ।

नेपालमा भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपालले अस्वीकार गर्ने निर्णय गरेको सन्दर्भमा छलफल गर्न लू नेपाल आएको बताइएको छ । केही समयपहिले मात्र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले नेपाल भ्रमण गर्नुभएको थियो ।

उहाँको भ्रमणलगत्तै अमेरिकाको तर्फबाट गरिएको उच्चस्तरीय भ्रमणलाई चासोका साथ हेरिएको छ । गतवर्ष एमसिसी नेपालको संसद्बाट पारित गराउन दबाब दिने उद्देश्यले नेपाल भ्रमण गर्नुभएका उहाँको यो भ्रमणका विषयमा फरक–फरक कोणबाट छलफल भइरहेको छ । नेपाल सम्बन्धलाई लिएर चीन र अमेरिकाबीच बेलाबेलामा आरोप प्रत्यारोप चलिरहेको छ । प्रस्तावित रहेकै अवस्थामा अमेरिकी राजदूतले चीनको असहमतिका बीचमा नेपालको संसद्ले एमसिसी पारित गरेको अभिव्यक्ति दिएका थिए । त्यसको चीनले खण्डन गरेको थियो ।

अमेरिकाले नेपालसँग एसपिपी सम्झौता गर्न चाहेको छ । गठबन्धन दलभित्रै उक्त सम्झौताको विरोध भएपछि मन्त्रिपरिषद्ले उक्त सम्झौतामा सहभागी नहुने निर्णय गरेको थियो । तर, सरकारले हालसम्म अमेरिकालाई औपचारिक रूपमा पत्राचार गरेर जानकारीसमेत गराइसकेको छैन । सत्ता गठबन्धन भित्रकै दलहरूले सरकारले अमेरिकालाई एसपिपीमा सहभागी नहुने निर्णयबारे औपचारिक रूपमा पत्राचार नगरेको भन्दै विरोध गर्दै आइरहेका छन् ।
बुधबार मात्रै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपी कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको थियो । पछिल्लो समय सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच एमसिसी र एसपिपीको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ । साना कम्युनिष्ट पार्टीहरूले एमसिसी र एसपिपीको विरोधमा सडक संघर्षको घोषणा गरेका छन् ।

लूले मंसिरमा नेपालमा भ्रमण गर्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट अनुमोदन भएको थिएन । उहाँले उक्त भ्रमणका दौरान नेपालको राजनीतिक र कूटनीतिक तहमा एमसिसी सम्झौतालाई अघि बढाउने सम्बन्धमा संवाद गरेर फर्किनुभएको थियो । नेपालको संसद्ले फागुन १५ मा एमसिसीलाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्बाट पारित गरेको थियो । उहाँ शुक्रबार बेलुका कतार एयरलाइन्सबाट फर्किने बताइएको छ ।

लूको नेपाल भ्रमण नियमित : अमेरिकी दूतावास
नेपालस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको बिहीबारदेखिको नेपाल भ्रमण नियमित भएको जनाएको छ । सहायक विदेशमन्त्री लू काठमाडौं आइपुग्नुअघि दूतावासले एक विज्ञप्ति जारी गरेर भ्रमणको विषयमा जानकारी गराएको हो । ‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आज नेपालको दुईदिने भ्रमणमा आउँदै हुनुहुन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘काठमाडौंमा सहायक विदेशमन्त्री लूले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स (एसिई) नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्नुहुनेछ ।’

उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तिकरण गर्दै नीतिपरक उत्पादनको प्रवद्र्धन गरिरहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । दूतावासले भ्रमणका क्रममा सहायकमन्त्री लूले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने जनाइएको छ ।

लूविरुद्ध प्रदर्शन गर्ने पक्राउ
काठमाडौं आइपुग्नु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूविरुद्ध प्रदर्शन भएको छ । सहायक विदेशमन्त्री लू विमानस्थलबाट होटलतर्फ जाने क्रममा गौशालानजिकै तिलगंगामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठ पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूले नाराबाजी गरेपछि केहीबेर सडक अवरुद्धसमेत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?