‘नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भयो’

Read Time = 6 mins
A A- A+

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताउनुभएको छ ।

ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपाल बारे अन्तरक्रियात्मक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको बतउनु भयो ।

उहाँले व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उल्लेख गर्दै सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आईपीएसको अंग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको बताउनु भयो । उहाँले सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको होइन ? भन्दै प्रश्न गर्नुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशंका गर्नुभयो । उहाँले सरकारले नागरिकलाई एसपीपीको बारेमा जानकारी नगराउनु र एसपीपीको बारेमा मन्त्रीपरिषद्ले निर्णय गरेपछि पनि पत्र नपठाउनुले देशको असंलग्न परराष्ट्र नीतिमा विचलन आउनसक्ने आशंका रहेको बताउनु भयो । उहाँले अमेरिकाले सन् २०१९ मा नै नेपाललाई क्रिटिकल पार्टनरको रुपमा उल्लेख गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ हामीले धेरै छ । एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा दोधारता छ । हुनतः व्याख्यात्मक टिप्पणी भन्ने एउटा लाज छोप्ने आधार ल्याएको छ । तर आईपीएसको अंग हो वा होइन भन्ने कुरा अझै विश्वस्त भएका छैनौँ । एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको हो कि भन्ने कुरा आउँछ । एसपीपीमा पनि त्यही काम फरक नाममा ल्याउन लागेको जस्तो भित्र हल्ला छ । राजनीतिक दलहरु नै यस मामिलामा अलि बढी गम्भीर नभएको हो कि जस्तो लाग्छ । नेपालको मित्रता टाढाको छिमेकीसँग बढ्दै गयो भने त्यसले राष्ट्रिय सुरक्षामा पार्ने असर गम्भीर हुन्छ ।’

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले नेपालमा बीआरआईलाई बुझेर नै पश्चिमा देशहरुले नेपाललाई बढी नियालीरहेको बताउनु भयो । डा. केसीले अमेरिकाका राजनीतिक र सैनिक अधिकारीहरुको बाक्लिँदो नेपाल भ्रमणले जनतामा विभिन्न संशय पैदा गरेको बताउनु भयो ।

भूराजनीतिक मामिलाका विश्लेषक समेत रहेका डा. केसीले नेपालमा बीआरआईमा हस्ताक्षर गर्दा नेपाली काँग्रेस र नेकपा माओवादीको सरकार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत रहेको उल्लेख गर्दै सबै राष्ट्रिय दलहरुको सहमतिमा नै बीआरआईमा हस्ताक्षर भएको बताउनु भयो । उहाँले डोनाल्ड लू अमेरिकाको विदेश मन्त्रालयका उपसचिव भएको तर नेपालमा दक्षिण एशिया हेर्ने भनिसकेपछि ठूलो रुपमा बखान गरिएको दाबी गर्नुभयो । उहाँले नेपालमा पसचिवले नै दक्षिण एशिया थर्कमान बनाउँछन् भन्ने डर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा बीआरआई हस्ताक्षर गर्दा प्रचण्डको सरकार थियो । प्रकाशशरण महत परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । विपक्षी एमाले थियो भनेपनि सबैको सहमतिमा नै भएको थियो नि । काँग्रेस र माओवादी सरकारको पालामा हस्ताक्षर भयो । केपी ओलीको पालामा ट्रेड एण्ड ट्रान्जिटी भएको थियो । बिआरआई राष्ट्र पनि नेपाललाई भन्न थालियो । यसलाई बुझेर नै पश्चिमा देशहरुले हामीलाई बढी नियालीरहेको छ । अमेरिकाले नेपालमा किन यति धेरै चासो देखाइरहेको छ । उपसचिव हुन् डोनाल्ड लू तर यहाँ त ठूलै मानिन्छ । तर उपसचिवले नै दक्षिण एशिया हल्लाउँछन् भन्ने डर हामीलाई होला । एमसीसी इण्डोप्यासिफिकको अंग हो वा होइन भन्ने प्रशस्त वहस छ । तर त्यो कुरा अमेरिकाले नै भनेपछि पटकपटक शंका नगर्ने भनेको हाम्रो समाज नलेजिबल बनिनसकेको जस्तो भएको छ । यो कुरामा धेरै ठूलो शंका गर्ने ठाउँहरु रह्यो ।’

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एमसीसी इण्डोप्यासिफिकको अंग हो वा होइन भन्ने प्रशस्त वहसको विषय भएको बताउनु भयो । उहाँले अमेरिकाले पटकपटक एमसीसीको बारेमा बताइरहँदा समेत नेपालले कुनै प्रतिक्रिया र देशको स्वाधिनताका लागि खबरदारी नगर्नुले नेपाली समाज नलेजिबल बनिनसकेको जस्तो महशुस भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dan Raj Regmi
Dan Raj Regmi
2022-07-30 3:26 pm

राम्रो विश्लेषण भएको छ। बधाइ छ।

छुटाउनुभयो कि ?