वाह ! अलैँची २०२२ अभियान सुरु

Read Time = 3 mins

काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा ‘वाह ! अलैँची’ अभियान शुभारम्भ गरेको छ । अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ ।

अभियानले नेपाली अलैँचीको परम्परागत मूल्य र नेपाली परिकारमा प्रयोगलाई महत्वपूर्ण सामग्रीका रूपमा बढाउनेमात्र नभई आर्थिक गतिविधिसमेत बढाउने अपेक्षा गरिएको छ । बिबिसी मास्टर्स सेफ विजेता शेफ सन्तोष शाह अभियानको ब्रान्ड एम्बेसडर रहनुभएको छ । उहाँले नेपाली अलैँचीलाई घरेलु बजारमा प्रवद्र्धन गर्न विशेष परिकार रेसिपी पनि तयार गर्नुहुनेछ । साथै अभियानले युवा आकांक्षी प्रशिक्षार्थी र शेफलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैँचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्ने महासंघले जनाएको छ । नेपालमा विश्व बजारको छ हजार छ सय मेट्रिकटन अलैँची उत्पादन हुन्छ, जुन पूर्वी पहाडी जिल्लाका कृषकको आम्दानीको मुख्य स्रोत हो । तर, नेपाली अलैँचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारतलगायत अन्य मुलुकबाट शतप्रतिशत आयात हुने सुकुमेलले प्रतिस्थापन गरिरहेको छ । सन् २०२१ मा सुकुमेलको आयात पाँच सय ६४ मेट्रिकटन थियो भने नेपाली ठूलो अलैँचीको आन्तरिक बजारमा खपत सय टनभन्दा कम थियो । त्यसैगरी नेपाली उपभोक्ताले एक सय ग्रामको सयदेखि एक सय ५० रुपैयाँसम्ममा खुद्रा बिक्री हुने नेपाली अलैँचीको मूल्यको तुलनामा हाल सय ग्रामको सुकुमेलको चार सयदेखि पाँच सय रुपैयाँसम्ममा खरिद गरिरहेको अवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?