काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघले तयार गरेको भिजन पेपर २०३० को स्वामित्व लिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महासंघले तयार गरेको भिजन पेपर २०३० को स्वामित्वका लागि सम्झौताको तयारी भइरहेको बताउनुभएको छ । नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा) द्वारा शुक्रबार काठमाडौंंमा आयोजित २८औँ कार्गो डेलाई सम्बोधन गर्दै उहाँले आगामी हप्ता मन्त्रालयले उक्त सम्झौता गर्ने बताउनुभएको हो । मन्त्री बडूभन्दा अघि बोल्नुभएका महासंघ अध्यक्ष शेखर गोल्छाले महासंघले भिजन पेपर ल्याएको र २०३० सम्म अर्थतन्त्र सय मिलियन डलर पुर्याउने रहेको भए पनि सरकारले हालसम्म पनि ओनरसिप नलिएको भन्दै ओनरसिप लिएर छिट्टै सम्झौता गर्न माग गर्नुभएको थियो ।
साथै मन्त्री बडूले नेपालको लजिस्ट्रिक नीति अन्तिम चरणमा पुगेको र मल्टिमोडल ट्रान्सपोर्ट ऐन पनि समयसापेक्ष संशोधन गर्दै नियमावली पनि जारी गर्ने प्रतिबद्धता जनाउनुभयो । नेफाले उठाउँदै आएको भारतको बन्दरगाहदेखि वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको रेल्वे सेवामा निजी क्षेत्रका रेल्वे सेवाप्रदायकलाई अनुमति दिनुपर्ने माग सम्बोधन भइसकेकाले कार्गो व्यवसायी लाभान्वित भएको उहाँको दाबी थियो । उहाँले कार्गो व्यवसायीलाई चोभारको सुक्खा बन्दरगाह र भैरहवाको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि कार्गो सेवा प्रयोग गर्न आग्रह गर्नुभयो ।
उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले मन्त्रालयले व्यापार सहजीकरणका लागि अन्य पूर्वाधार निर्माणको काम पनि गरिरहेको बताउनुभयो । चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्न सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएकाले कार्गो व्यवसायीहरू पनि लाभान्वित हुन सक्ने उहाँले बताउनुभयो ।
साथैै महासंघका अध्यक्ष शेखर गोल्छाले कार्गो व्यवसायमा लाग्ने लजिस्टिक कस्ट कम गर्न नसकेसम्म औद्योगिक उत्पादन नबढ्ने बताउनुभएको छ । अर्थतन्त्रमा रहेका समस्यासँगै लजिस्टिकमा गर्नुपर्ने विषयमा केन्द्रित भई रोडम्याप तयार पारेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि कोरोनामा पनि चलायमान भएको कार्गोे व्यवसायलाई व्यवस्थित गर्नुपर्ने, एयर कार्गोभन्दा पनि रोड कार्गो महँगो भएकाले घटाउनुपर्ने बताउनुभयो ।
उहाँले व्यवसायीहरू तरलता अभाव र बैंकको उच्च व्याजदरको मारमा परिरहेका बेला मौद्रिक नीतिले विगतमा व्यवसायीलाई दिएको सुविधासमेत कटौती भएको गुनासो गर्नुभयो । त्यस्तै बैंकको व्याजदरको बेस रेटको प्रिमियमसमेत चार प्रतिशत लिने नीतिले अत्यधिक महँगी बढाउन सक्ने मल्लको भनाइ छ ।
एयरलाइन्सहरूलाई नेफा अवार्ड
नेफाले २८औँ कार्गो डेका अवसरमा विभिन्न एयरलाइन्सलाई नेफा एन्युअल अवार्ड प्रदान गरेको छ । अनलाइनतर्फ सबैभन्दा बढी कार्गो सेवा प्रदान गर्ने कतार एयरले नेफा अवार्ड प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुने क्रमशः हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले पनि अवार्ड प्राप्त गरेका छन् । अफलाइन कार्गो सेवातर्फ ओमान एयरले अवार्ड प्राप्त गरेको छ ।
सो अवसरमा कार्गो क्षेत्रमा महथ्वपूर्ण योगदान पुर्याउने युनिक कार्गो एन्ड कुरियर कम्पनी प्रालिका प्रबन्ध निर्देशक सरोज घिमिरे, कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल र उद्योग मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी पनि नेफा एन्युअल अवार्डबाट सम्मानित हुनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका