आधुनिकतासँगै सुन्दरताप्रतिको सचेतना पनि बढ्दो क्रममा छ : शाह

कृष्ण भुसाल
Read Time = 13 mins

दशक बढी समयदेखि ब्युटीसियन व्यवसाय अंगाल्दै आउनुभएकी गीता शाह यही पेशालाई निरन्तरता दिने सोचमा हुनुहुन्छ । विभिन्न संघ, संस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगिताहरूमा निर्णायकको भूमिका निभाउनुका साथै नेपाली समाजमा यो व्यवसायमार्फत् पुर्‍याएको योगदानलाई मूल्यांकन गर्दै विभिन्न संघ, संस्थाबाट सम्मानितसमेत हुनुभएको छ । उहाँले नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट सञ्चालित सौन्दर्य कला विषयमा बेसिक तथा एड्भान्स लेभलमा डिप्लोमा गर्नुभएको छ ।

सौन्दर्य कलालाई व्यवसाय बनाउने हकका लागि आवश्यक तालिम दिने सरकारी निकायको कमी रहेकोे उहाँ बताउनुहुन्छ । उहाँले सिटिइभिटीले उपलब्ध गराउने अवसर पनि एकदमै अपुग रहेको बताउनुभयो । बढ्दो बेरोजगारी कम गर्न र महिलाहरूलाई आत्मनिर्भर भई स्वावलम्बी बनाउन यस्ता तालिमहरूको आवश्यकता अपरिहार्य रहेको र यसमा सरकारको विशेष ध्यान जानुपर्ने उहाँको धारणा छ । ब्युटीसियन व्यवसायमा आउन चाहने दिदी, बहिनीलाई तालिमसमेत दिँदै आइरहनुभएकी गीता शाहसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :-

० सौन्दर्य कला भनेको के हो ?
व्यक्तिको आकृतिअनुसार मेकअप सामग्रीहरूको प्रयोग गरी सुन्दरता झल्काउने कलालाई सौन्दर्य कला भनिन्छ । यस्तो मेकअप समय, मौसम र उद्देश्यअनुसार फरक-फरक पनि हुन सक्दछ । विशेषतः यो भन्न सकिन्छ कि व्यक्तिको रुचि, आवश्यकता र इच्छाअनुसार सुन्दरताको कलात्मक विद्यालाई नै सौन्दर्य कला भनिन्छ ।

० नेपालमा सौन्दर्यकर्मीहरूको व्यावसायिक जीवन कस्तो छ ?
नेपालको सन्दर्भमा शृंगार व्यवसाय महिलाहरूका लागि अति आकर्षक पेशा हो । सौन्दर्य कला व्यवसायले सिर्जनशील महिलाहरूलाई आत्मनिर्भर पनि बनाउँछ । यसले महिलाहरूलाई स्वरोजगारमात्र बनाउँदैन कि आर्थिक सवलताले आत्मसम्मान पनि बढाएको छ ।

० सौन्दर्यकर्मीहरूको व्यवसायमा भित्री चुनौतीहरू के-कस्ता रहेका छन् ?
सौन्दर्य कलालाई व्यावसायीकरण गर्नु यो पेशामा संलग्न महिलाहरूको प्रमुख चुनौती हो । समयको परिवर्तनसँगै सेवाग्राहीहरूको रुचिमा आउने परिवर्तनका लागि आवश्यक मेकअप सामग्रीहरूको व्यवस्थापन अर्को चुनौती हो । त्यसैले आफ्नो सौन्दर्य कलालाई समयअनुकूल व्यावसायीकरण गर्दै आधुनिक सामग्रीको छनोट र प्रयोगबाट यो पेशामा भएका चुनौतीहरूको सामना गर्न सकिन्छ ।

० सौन्दर्यका सामग्रीहरूको गुणस्तर, आवश्यक उपकरण र सरसामानहरूको स्तरीयतामा ध्यान पु¥याउनु कत्तिको आवश्यक छ ?
मेकअप मानिसको अनुहार वा छालामा प्रयोग गर्नुपर्ने भएको हुँदा प्रयोग गरिने सामानहरूको गुणस्तर एकदमै राम्रो हुनुपर्दछ । अनि मेकअप गर्दा प्रयोग गरिने अन्य सरसामान र उपकरणहरू पनि एकदमै गुणस्तरीय, सफा र स्वस्थकर हुनु नितान्त आवश्यक छ । हामी सौन्दर्य कला व्यवसायमा प्रयोगमा आउने सामग्रीहरूको गुणस्तरमा सम्झौता गर्न सक्दैनौँ ।

० यो व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
मानव जीवनको आधुनिकीकरणसँगसँगै सुन्दरताप्रतिको सचेतना पनि बढ्दो क्रममा छ । जीवन शैलीमा आएको परिवर्तनले सुन्दरताको महत्व अझ बढाइदिएको छ । त्यसैले सुन्दरता व्यक्तिको दैनिक क्रियाकलापको अभिन्न अंग भइसकेको छ । फलस्वरूप सौन्दर्य कला व्यवसाय पनि दिनप्रतिदिन बढ्दो छ र सफलतातिर उन्मुख छ ।

० यो पेशामा रहेकाहरूको हकहितको संरक्षण हुने गरी समयानुकूल तालिम र शिक्षा दिने निकायको व्यवस्था छ कि छैन ?
सौन्दर्य कलालाई व्यवसाय बनाउने हकका लागि आवश्यक तालिम दिने सरकारी एउटा निकाय छ सिटिइभिटी । तर, सिटिइभिटीले उपलब्ध गराउने अवसर एकदमै अपुग छ । मेरो विचारमा बढ्दो बेरोजगारी कम गर्न र महिलाहरूलाई आत्मनिर्भर भई स्वावलम्बी बनाउन यस्ता तालिमहरूको आवश्यकता अपरिहार्य छ । यसमा सरकारको विशेष ध्यान जानुपर्दछ ।

० शहरमा घरैपिच्छे सौन्दर्यका लागि भनेर आकर्षक बोर्ड लगाएको देखिन्छ, प्रतिस्पर्धा कत्तिको छ ?
वर्तमान अवस्थामा सौन्दर्य व्यवसायमा पनि प्रतिस्पर्धा अत्यधिक छ । तर, समयअनुसार प्रतिस्पर्धा स्वाभाविक हो । यस्ता प्रतिस्पर्धात्मक बजारमा आफूलाई सफल बनाउन अन्यभन्दा आफ्नो कलामा निपूणता, व्यावसायिक दक्षता र गुणस्तरीय सामग्रीको प्रयोगले सेवाग्राहीको मन जित्न सकिन्छ र सफल भइन्छ ।

० सौन्दर्यको यो पेशा अंगालेका महिला र पुरुष दुवैले न्यूनतम लिनुपर्ने शिक्षा कति हो ?
सौन्दर्य कला पेशामा इच्छुक व्यक्तिहरूले सबभन्दा पहिले त नेपाल सरकारको सिटिइभिटी संस्थाबाट प्रदान गरिने सौन्दर्य शिक्षा, तालिम अनिवार्य लिनुपर्दछ । सिकाइको सीमा हुँदैन । अन्य संस्थाबाट पनि आवश्यक तालिम लिई यो व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

० यो पेशा सुनिश्चित बनाउन के गर्नुपर्ला ?
सौन्दर्य कला व्यवसाय प्रत्यक्षरूपमा मानिसहरूको जीवन शैलीमा आधारित छ । सुन्दरताले जीवन र कलाले निखरतालाई प्रभाव पारेको हुन्छ । त्यसैले जीवनको सफलतामा सुन्दरताको विशेष महत्व छ । सौन्दर्य कला व्यवसायलाई सफल बनाउन आवश्यक सीप कौशलताको उच्चतम मात्रा बढाउनुपर्दछ । आवश्यक सीप विकास तालिमहरू नियमित लिइरहनुपर्दछ । र, रचनात्मक सोचको विकास हुनु पनि उत्तिकै जरुरी छ ।

० नेपालमा सौन्दर्य कलाको पछिल्लो अवस्था कस्तो छ ?
नेपालमा सौन्दर्य कलाको महत्व दिनप्रतिदिन बढ्दो छ । मानिसहरूको इन्टरटेनमेन्टप्रतिको रुचि बढ्दो छ । जसले गर्दा गीत, संगीत र फिल्महरूको माग अत्यधिक बढ्दो छ । यसरी गीत, संगीत र फिल्मको बजार विस्तारसँगसँगै सौन्दर्य कलाकर्मीको माग पनि झन् बढोत्तरी भइरहेको छ जसले गर्दा सौन्दर्य कला व्यवसायीहरूको अवस्था राम्रो हुँदै गइरहेको छ ।

० उदाउँदा शहरहरू र शहरमुखी गाउँहरूमा यो व्यवसाय बढी फस्टाएको पाइन्छ, यसमा तपाईंको धारणा के छ ?
सामान्य जीवन निर्वाहपछिको दोस्रो आवश्यकता हो सुन्दरता । जति-जति ग्रामीण क्षेत्रमा आर्थिक अवस्थाले सवल बन्दै शहरीकरण हुँदैछन् त्यति-त्यति नै सौन्दर्य कला व्यवसायको विस्तारीकरण हुँदै जाने कुरा हो । मानिसहरू आर्थिकरूपले बलियो हुँदै गर्दा सौन्दर्यको आवश्यकता पनि बढ्दै जानेछ ।

० यो पेशाले महिलालाई आत्मनिर्भर हुन सहयोग पुर्‍याएको पाउनुहुन्छ ?
निश्चित पनि । सौन्दर्य कला पेशाले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिएको छ । किनकि सुन्दरता हरेक महिलाले रुचाइएको एउटा भावनात्मक कला हो । अनि प्रत्येक महिलाले आफू अरूभन्दा सुन्दरी भएको महसुस गर्दछन् । त्यसैले पनि यो पेशा महिलाहरूका लागि सुहाउँदो र सान्दर्भिक पेशा पनि हो । यही कारणले त महिलाहरू अन्य पेशाभन्दा सौन्दर्य पेशामा बढी नै सफल र अब्बल छन् । व्यवसायमा सफलतासँगै निश्चितरूपले आर्थिक मामला पनि सवल हुने नै भयो, परिणामस्वरूप महिलाहरू आत्मनिर्भर अवश्य भएका छन् ।

० परिवर्तित समयानुसार यो व्यवसायलाई कुन ढंगले अगाडि बढाउनुपर्ला ?
समयको परिवर्तनसँगसँगै मानिसहरूको रुचि, जीवनशैली र आवश्यकताहरू पनि परिवर्तनशीन हुन्छन् । आधुनिक जीवन पद्धतिमा सुन्दरताको महत्व झन्-झन् बढ्दै गइरहेको छ । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी मेकअपका लागि प्रयोग हुने सामग्रीहरू झनै आधुनिक र स्वस्थकर हुनु नितान्त जरुरी हुन्छ । सँगसँगै मेकअपका लागि प्रयोग हुने उपकरणहरू पनि आधुनिक हुनुपर्दछ । सबैभन्दा जरुरी त आफ्नो सीप र कलालाई समय, परिस्थिति र सेवाग्राहीको मागअनुसार परिष्कृत गर्ने र कलामा नवीनतम् प्रयोग नितान्त जरुरी हुन्छ ।

० दशक बढी समयदेखि सौन्दर्य कला पेशामा संलग्न हुनुहुन्छ । तपाईं हालसम्म के-कस्ता अवार्ड, सम्मानबाट सम्मानित हुनुभएको छ ?
मलाई विभिन्न संस्थाहरूले शृंगार विधामा पुरस्कृत र सम्मानित गर्दै आएका छन् । मेरो योगदानको उचित मूल्यांकन गरी प्रदान गरिएका मुख्य अवार्ड, सम्मानहरूमा तेस्रो बोस्टर इन्टरटेनमेन्ट अवार्ड २०२१ मा ‘जुरी अवार्ड’, विराट म्युजिक एन्ड फिल्म अवार्ड २०७८ मा प्रमाणपत्र तथा अवार्ड, एएनपी नेसनल अवार्ड २०२१ मा बेस्ट मेकअप आर्टिस्ट फेसन अवार्ड, आठौँ नेसनल क्यापिटल अवार्ड २०७८ मा बेस्ट मेकअप आर्टिस्ट अवार्ड, नाट्येश्वर म्युजिक अवार्ड २०६७ मा शृंगार विधामा सर्वोत्कृष्ट अवार्डलगायत छन् । हालै नागरिक समाजले आयोजना गरेको कार्यक्रममा ‘विशेष नागरिक पुरस्कार २०७९’ बाट पनि पुरस्कृत भएकी छु । यस्तै अन्य विभिन्न संघसंस्थाबाट पुरस्कार, सम्मान तथा अवार्ड प्राप्त भएका छन् । यस्ता पुरस्कार, अवार्ड र सम्मानले यस क्षेत्रमा अझ क्रियाशील हुनका लागि प्रेरित गर्दोरहेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?