धार्मिक पर्यटक बोलाउन पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी

हिमालय टाइम्स
Read Time = 5 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दाहरू गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् । म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा रहेको विशाल जब्रोमा आकर्षक दुर्गा भगवतीको मन्दिर निर्माण गरेका बगरफाँटवासी अहिले मन्दिरवरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो स्थानमा पाञ्चायन देवतासहितको आकर्षक दुर्गा मन्दिर निर्माण गरिएको छ ।

मन्दिरको निर्माणसँगै, रङरोगन, मन्दिरसम्म पुग्ने पक्की पदमार्ग, रेलिङ, मन्दिर परिसरमा स्लेट ढुंगा बिछ्याउने र मन्दिर परिसरदेखि उपल्लो फाँटसम्म जाने पक्की पदमार्ग निर्माणलगायतका भौतिक संरचना बनेपछि मन्दिरको सुन्दरता थपिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ मा गण्डकी प्रदेश सरकारका सांसद विनोद केसीको पहलमा सांसद विकास कोषबाट प्राप्त चार लाख, प्रदेश सरकारकै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त दुई लाख र बेनी नगरपालिकाको एक लाख ५० हजार गरी कुल सात लाख ५० हजारको लागतमा सो संरचना निर्माण गरिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । मन्दिरलगायतका संरचना निर्माणका लागि स्थानीयले एक लाखभन्दा बढीको श्रमदानसमेत गरेका छन् । २०३८ सालमा बगरफाँटवासीले स्थापना गरेको सो मन्दिरमा विगत तीन वर्षदेखि पुन निर्माणको काम भइरहेको छ ।

अघिल्ला दुई आर्थिक वर्षहरूमा डिभिजन वन कार्यालय, बेनी नगरपालिकालगायत संघसंस्थाबाट प्राप्त बजेट र स्थानीय बगरफाँटवासीले देश तथा विदेशमा संकलन गरेको करिब १५ लाख बराबरको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माणको कार्य गरिएको थियो ।

बगरफाँटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्नका लागि दुर्गा भगवतीको मन्दिरलाई व्यवस्थित गरिएको समितिका अध्यक्ष कार्कीले बताउनुभयो । करिब तीन रोपनी सार्वजनिक जग्गामा निर्माण भएको मन्दिरले बगरफाँटलाई नै सुन्दर बनाएको छ । यस मन्दिरमा असोज र चैतको अष्टमीमा बलिसहितको पूजा हुने गर्दछ भने साधारण पूजाआजाका लागि सधैँ नै खुला रहने गर्दछ ।

करिब ४० वर्षअगाडि सामान्य ढुंगाबाट बनाइएको मन्दिरमा अहिले मन्दिर पुनर्निर्माण र अन्य भौतिक संरचनाहरू निर्माण भएपछि दर्शन तथा पूजाआजाका लागि सहजता भएसँगै गाउँकै सुन्दरता बढेको स्थानीय समाजसेवी क्या. मिनबहादुर कार्कीले बताउनुभयो । मन्दिरको चारैतिर बत्ती राखेर झलमल बनाइएको छ । बेनी–बरंजा सडकको छेउबाट मन्दिर पुग्ने पक्की पदमार्ग र मन्दिरको फेददेखि नै राखिएका विभिन्न देवीदेवताका मूर्ति तथा साना मन्दिरहरू थप आकर्षकका रूपमा रहेका छन् । मन्दिर परिसरमा अन्य संरचनाहरूसहित व्यवस्थापनको कार्य अझै बाँकी रहेकाले चालु आर्थिक वर्षमा पनि नगरपालिकामा रकमको माग गरिएको उपभोक्ता समितिका अध्यक्ष कार्कीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?