मेरो अतीत मेरो अनुभव : मेरो सेवानिवृत्त जीवन र सक्रियता

हिमालय टाइम्स
Read Time = 21 mins
A A- A+

✍️ रमेशप्रसाद गौतम

स्मरणीय कुरा के छ भने मैले १५ वर्ष नपुग्दै एसएलसी पास गरेँ । त्यसपछिदेखि नै हाइस्कुलको शिक्षकको रूपमा पहिला सीताराम हाइस्कुल जन प्रभात रात्रि प्रौढ पढाउँदै गर्दा पछि परोपकार दरबार हाइस्कुल, कीर्तिपुर र त्यसपछि शिक्षा अधिकारीका रूपमा धेरै वर्ष काम गरेर अन्तिममा पद्योदयमा आएँ । पद्योदयमा मेरो सबभन्दा लामो सेवा अवधि रहृयो । जीवनको ऊर्जाशील समय अझै बाँकी रहेको अवस्था भएकाले नै विद्यालयलाई व्यवस्थित गराउने बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म यही विद्यालयमै समय गुजार्थें । शिक्षक प्रायः अनुपस्थित भइरहनु स्वाभाविकै थियो । विद्यालय कक्षा कुनै घण्टी पनि खाली नहोस् भन्ने धारणा राख्थेँ ।

यसले गर्दा माथिल्ला कक्षाहरू खाली भए भने म आफैँ सबै कक्षा हेर्थें । गणितबाहेक अरू सबै विषयका पुस्तक आफ्नै घर्रामा राखेको थिएँ । पढाउनुअगाडि आफू पढेर मात्र कक्षामा जान्थेँ । सुरुका वर्षहरूमा दिनमा प्रायः सातै घण्टी लिने गर्थें । त्यसपछि बेलुका क्याम्पसमा दुई पिरियड तयारीका साथ पढाउन जान्थेँ । यस्तै बिहान क्याम्पसमा पनि तीन घण्टी लिने गर्थें । तैपनि थकाइ र कमजोरीको अनुभव थिएन ।
बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म विद्यालय र क्याम्पसमा ब्यस्त हुन्थेँ । जीवनका उतार चढावका बीच जीवन गुजार्दै अहिले जीवनको उत्तरार्धमा आइपुगेको छु तर पनि केही पढ्ने र खेल्ने कार्यलाई निरन्तरता दिइ नै रहेको छु । हप्तामा एक दुईवटा लेख तथा कविता वा अन्य साहित्यिक सामग्री विभिन्न पत्रपत्रिकामा प्रकाशित भएबाट पनि यसको पुष्टि हुन्छ । यसबाट सन्तुष्टि पनि मिलेको छ ।

जीवनको सुखदुःख भनेको पूर्वजन्मकै फल हो भन्ने पनि गरिन्छ । मानिसको कर्ममा जे लेखिएको छ त्यो नै पाउने हो । नलेखिएका कुरा जतिसुकै बल गरे पनि पाउँन सकिँदैन । सन्दर्भ मेरो जीवन संघर्षका अनेक घटनाले विगतका स्मृति दर्शाउँदै अनेक जीवन जगतका याद गरिमा विगतले झस्काइरहन्छ । पद्योदयमा कार्यरत रहँदा २०५८ सालमा आइभिपी प्रोग्राममा अमेरिका गएँ । पछि फेरि २०६२ सालमा अमेरिकी सेन्टर ज्ञानेश्वरको सिफारिशमा नागरिक शिक्षाकै पूर्वकार्यक्रमको अनुगमन गर्न भने केही राज्यमा गएको थिए ।

उक्त अमेरिकी केन्द्रकी उपनिर्देशिका मिस लाउराको सिफारिस थियो र म दोस्रो पटक अमेरिका पुगेँ । त्यहाँ पहिला अलवामा गएँ । त्यहाँ मेरा छोरी र ज्वाइँ थिए । केही दिन बसेँ । त्यस अवधिमा छोरीको साथ लिएर त्यहाँमा शिक्षा निर्देशकसँग भेट्न गएँ नागरिक शिक्षाबारे छलफल भयो । आपसी शिक्षाका बारेमा नेपाल र अलवामाको छलफल भयो ।

यसैबीचमा मेरी छोरी सविनाले यदि पढाउन अवसर मिले म पनि सानु कक्षा पढाउँथे भनिन् । शिक्षक निर्देशकले उत्सुक्तासाथ सोधपुछ गर्न थाले । पढाउने इच्छा भए अवसर मिल्छ भनेपछि मेरी छोरी खुशी भइन् र पढाउन तत्पर भएपछि, उनले छोरीको अन्तर्वार्तासमेत गरे । शिक्षाको तालिम नभए पढाउन नमिल्ने कुरा रहेछ । अनि छोटो अवधिको तालिम दिएर घुम्ती शिक्षकको रूपमा काम गर्न आग्रह गरे । उनले केही समय पढाउने काम गरे ।

२०५७ सालतिरको कुरा हो । दमन दाइले मलाई आफ्नो निवासमा बोलाएर भन्नुभयो रमेशजी हाम्रो मु्लुकको समग्र अवस्था बिग्रँदै जानथाल्यो । हामीले सुधार्नका लागि एउटा अभियान चलाउनु पर्‍यो । त्यसका लागि हाम्रा ख्याति प्राप्त विद्वान् साथीहरूको पनि सल्लाह लिऔँ र केही गरौँ भन्नुभयो ।

त्यसपछि टेनसी स्टेट युनिभर्सिटीमा पुगेँ । त्यहाँ सम्पर्कको सिलसिलामा एक जना नेपाली नाताले मेरा भाइ पर्ने प्रा.डा.धनेन्द्रपुरुष ढकाल रहेछन् । उनकै सहयोगले त्यहाँका राजनीतिक विषय पढाउने प्रध्यापकसँग कुराकानी र आपसी विचार आदनप्रदान हुने कार्य सम्पन्न गरियो । हाम्रो संस्था नागरिक शिक्षा प्रवद्र्धन समाजले गरेका काम कारबाहीका बारेमा जानकारी गराएँ । त्यहाँका प्रध्यापकले नागरिक शिक्षण गहन विषय भएकाले यसको महत्व छ भने । एरिजोना स्टेट युनिभर्सिटीका प्राध्यापक रवर्टस्थलसँग मेरो जानपहिचान थियो । त्यसैले उहाँले मेरो नाममा इमेल पठाएर अलावामा स्टेट युनिभर्सिटीका ग्राजुएट विद्यार्थीलाई सिटिजनसिप एजुकेसनका बारेमा ९० मिनेटको कक्षा लिनुहोला भनेर खबर गर्नुभयो ।

उक्त युनिभर्सिटीमा पनि प्रजातन्त्र र नागरिक शिक्षामा आफूले पनि मेहनतका साथ कार्यपत्र प्रस्तुत गरेँ र नागरिक शिक्षा प्रवद्र्धन समाजबाट प्रकाशित गरेका विभिन्न बुलेटिन पुस्तिकालगायत वितरण गरेँ । विद्यार्थीहरूले रुचिका साथ प्रश्न गर्न थाले । उनीहरूले राजा वीरेन्द्रको हत्या र ज्ञानेन्द्रले सत्ता लिइएको, माओवादीको हिम्सा आदि बारेमा प्रश्न गरेका थिए । विद्यार्थीका जिज्ञाषाहरूलाई सन्तोषजनक तरिकाले जवाफ दिएँ । एउटा शिक्षकलाई विद्यार्थीको जिज्ञाषाका तिर्खा मेटाउन खासै कठिन हुनुहँुदैन । यथार्थ र वास्तविक्ताका साथै जवाफ दिएँ । अन्तिम समयसम्म पनि विद्यार्थी खुशी र जिज्ञाषु देखिन्थे ।

उक्त युनिभर्सिटीमा तीनजना प्रध्यापकले डा.रमेश गौतम भनी सम्बोधन गर्दै तपाईं नेपालका प्रजातन्त्रका फाइटर नागरिक शिक्षाका अभियन्ता भनेर सम्बोधन गरेका थिए । मलाई डाक्टर भनेर सम्बोधन गरेको चाहिँ ठीक लागेन र मैले डाक्टर गरेको छैन भनेर त्यहाँका प्रध्यापकलाई भने जवाफमा उनीहरूले भने तपाइँ हाम्रो नजरमा गरेसरह नै हो, किनभने तपाईंले लेख्नुभएका पुस्तकहरू लेखहरूले प्रमाणित गरेका छन् भने । यो मेरा लागि अरू खुशीको कुरा भयो ।

यस विषय म नेपाल आएर सबैभन्दा पहिले मेरा शुभचिन्तक कान्तिपुरका तत्कालीन प्रोपाइटर हेमराज ज्ञवालीकमा गएँ र उहाँलाई यो उनीहरूले पठाएका पत्रका बारेमा कुरा गरेँ । उहाँ पनि खुशी हुनुभयो । यो विषयमा कान्तिपुरमा समाचार दिँदा पनि हुन्छ तर तपाईं यहाँको आफ्नै अवस्थामा पनि जुन इज्जत छ त्यहाँको विश्वविद्यालयले कदर गरेको प्रचारको आवश्यक छैन भन्नुभयो । मैले यो समाचारका लागि होइन मैले खालि कान्तिपुर पत्रिकाको स्तम्भकार लेखक मेरा शुभचिन्तकका रूपमा मात्र तपाईंलाई सुनाएको हो भनेँ । अनि आफ्नो विद्यालयतर्फ आएँ । त्यस बेलासम्म कान्तिपुरमा १५ दिन महिना दिनभित्र कम्तिमा मेरो एउटा लेख प्रकाशित हुने गरेको थियो ।

२०५७ सालतिरको कुरा हो । दमन दाइले मलाई आफ्नो निवासमा बोलाउनु भयो । उहाँले भन्नुभयो रमेशजी हाम्रो मु्लुकको समग्र अवस्था बिग्रँदै जानथाल्यो । हामीले सुधार्नका लागि एउटा अभियान चलाउनु पर्‍यो । त्यसका लागि हाम्रा ख्याति प्राप्त विद्वान् साथीहरूको पनि सल्लाह लिऔँ । अनि केही गरौँ भन्नुभयो । सुधार्नका लागि माध्यम शिक्षा नै हुनुपर्छ भन्नुभयो । यसको नेतृत्व डा.त्रैलोक्यनाथ उप्रेती सरलाई दियौँ भने बढी फलदायी हुन सक्दछ कि भन्नुभयो । हाम्रो दोस्रो बैठकमा डा.उप्रेती सरलाई बोलाउने निधो गर्‍यौँ । उप्रेती सर पद्योदयमा मेरो कोठामा आएर मेरो फुर्सदमा शिक्षासम्बन्धी कुरा गरिनै रहनुहुन्थ्यो । त्यस दिन पनि आउनुभयो । अनि हामी तीन जना बसेर छलफल गर्‍यौँ ।

समग्र मुलुकको राजनीति बिग्रँदै जान थालेको र नेताहरूले बोल्ने एउटा गर्ने अर्को र देशभित्र भ्रष्टाचार र अनियमितता, दण्दहीनता बढ्नुमा शिक्षा पनि जिम्मेवार छ भन्ने निष्कर्ष निकालियो । अनि नयाँ किसिमले नागरिक शिक्षालाई पाठ्यक्रम र पाठ्यपुस्तकको सुधार गराई लागू गराउने कार्यमा पहल गराउने कि भन्ने सोच राखियो । तदनुरूप पूर्वसभामुख दमननाथ ढुंगाना, डा.त्रैलोक्यनाथ उप्रेती र मसमेत भएर उपत्यकाका सार्वजनिक विद्यालय र निजी विद्यालयमा पुग्यौँ । यसबारे प्रतिक्रिया लियौँ । उपत्यकाबाहिर, पोखरा, चितवनलगायत जिल्लामा हामी तीनजनाले अध्ययनकै क्रममा निजी लगानीमै भ्रमण गर्‍यौँ ।

त्यसपछि पद्योदयमा वरिष्ठ शिक्षाविद्हरू डा.तीर्थ खनियाँ, डा.विद्यानाथ कोइराला, डा.मनप्रसाद वाग्ले, उमेश श्रेष्ठ, डा.मीनबहादुर बिष्ट, डा. बल्लभमणि दाहल, प्रा.हर्षनारायण धौभडेल, चिन्तामणि योगीलगायत व्यक्तिहरूको समूहले संस्थानको नामकरण गरी अस्थार्यी कमिटीसमेत गठन गरियो ।

संस्थाको नाम ‘नागरिक शिक्षा प्रवद्र्धन समाज’ राखियो भने उक्त भेलाले प्रमुख सल्लाहकार दमननाथ ढुंगाना र कार्य समितिको संयोजक डा.त्रैलोक्यनाथ उप्रेती, महासचिव म रमेशप्रसाद गौतम र अन्य सदस्यहरूमा डा.तीर्थ खनियाँ, डा.वल्लभमणि दाहाल, प्रा.हर्षनारायण धौमडेल, डा.विद्यानाथ कोइराला, डा.मनप्रसाद वाग्ले, डा.मीनबहादुर विष्ट, उमेश श्रेष्ठ, चिन्तामणि योगी आदि पदाधिकारीहरू रहनुभयो ।
विधिवतरूपमा यस संस्थालाई चलाउन जिल्ला प्रशासन कार्यालय र समाजकल्याण मन्त्रालयबाट मान्यता लियौँ । साधारण सभाको आयोजना गरी सो अस्थायी कमिटीलाई नै स्थायीरूप प्रदान गर्ने कार्य पनि सम्पन्न भयो । यसपछि यस संस्थालाई अझ प्रभावकारी बनाउन सल्लाहकार बोर्डको गठन गरियो जसमा प्रमुख सल्लाहकार दमननाथ ढुंगाना अन्य सदस्यहरूमा प्रा.डा.सुरेशराज शर्मा, डा.केदारनाथ श्रेष्ठ, प्रा.डा.प्रेमकुमार कसजु, डा.ईश्वरप्रसाद उपाध्यायलगायत व्यक्तिहरूलाई समावेश गरियो ।

यसपछि गहन छलफल विमर्श गरेर प्रारम्भिक कक्षादेखि नै हामीले नागरिक चेतनाको माध्यमबाट नैतिक पाठका साथै सहयोग सदभाव, मिलनसारिता स्वाभलम्वन अनुशासन आदि बारे ज्ञान र सीप प्रदान गर्ने खालका पुस्तकहरू प्रकाशित गरी विद्यालयहरूमा वितरण ग¥यौँ । नागरिक शिक्षालाई राष्ट्रव्यापी रूपमा चेतना जागउने उद्देश्यले स्थानीय तहदेखि क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्मका सभा सम्मेलन आयोजना र सहभागी हुने काम यसै संस्थामार्फत गरियो । यसमा सबैको समान योगदान रहेको छ । तथापि यस संस्थामा दमन दाइ र डा.उप्रेती सरको सक्रियता र योगदानलाई म सम्मान गर्न चाहन्छु ।

पछि यस संस्थामा महासचिवलाई सहयोग पु¥याउन सचिव पद एउटा थप गर्नु उचित हुने प्रस्ताव प्रा.हर्षनारायण धौभडेलले राख्नुभयो । सो कुरा स्वीकार गरी उक्त पदमा प्रा.डा.वासुदेव काफ्लेलाई राखियो । उहाँ साह्रै सहयोगी मिलनसार विद्वान् व्यक्ति हुनुभएकाले मलाई काम गर्न अझ सहजता मिल्यो । यस संस्थालाई विभिन्न कार्यक्रम सञ्चालनका लागि अमेरिकन सेन्टरबाट प्राप्त सहयोगलाई यस संस्थाले विर्सन सक्दैन । डा. उप्रेतीको देहावसानपछि खासै सहयोग पनि कहीँबाट प्राप्त भएन । एउटा सानो सहयोग डा.प्रेमकुमार कसजुमार्फत युनेस्कोबाट र अफिसका लागि लिएको कोठा भाडा उमेश श्रेष्ठ र दीपक उप्रेतीबाट प्राप्त भएको थियो ।

सात वर्ष यतादेखि म नेपाल बाहिर रहँदाको कारण र मेरो बसाइ डिल्लीबजार अलि टाढै रहेकाले त्यति समय सघाउन पाइरहेको छैन । तथापि यस संस्थाप्रतिको मोह भने कम छैन । नागरिक शिक्षाको अभियन्ताका रूपमा स्वदेश र विदेशमा समेत विभिन्न सेमिनार, अन्तक्र्रिया, छलफल भने गरिनै रहेको छु । नागरिक शिक्षालाई सशक्तरूपमा अघि बढाउने सन्दर्भ भने म राष्ट्रिय पाठ्यक्रम विकास परिषदको सदस्य रहँदाको अवस्था तत्कालीन शिक्षामन्त्री आमोदप्रसाद उपाध्यायसँग सरसल्लाह गरी उहाँकै निर्देशनमा गठन भएको उपसमितिमा समेत रही नागरिक शिक्षालाई विद्यालय कक्षाहरूमा पठनपाठन गराउँन पाठ्यक्रममै समावेश गरियो । नागरिक शिक्षा र नैतिक शिक्षा जस्ता विषय तत्कालै कक्षा कोठाबाट प्रारम्भसमेत गरिएको थियो ।

नागरिक शिक्षाको माध्यमबाट मानिसलाई सभ्य, सुसंस्कृत र आदर्श जीवन यापनका लागि मद्धत पु¥याउन सकिन्छ । लोक्तान्त्रिक संस्कारविना मानवीय जीवन सम्पन्न र समृद्धि हुन सक्दैन । अहिले हाम्रो देशमा कुशल नेतृत्वको अभावमा विकृतरूप मात्र देखा पर्न थालेको छ । अतः शिक्षाको उद्देश्य आदर्श समाजको निर्णय नै हो । यसैअन्तर्गत नागरिक शिक्षाले लोक्तान्त्रिक सीप सिद्धान्त, मूल्य, मान्यता र नागरिक ज्ञान प्रदान गर्दछ । यस्तै सामग्रीका साथ नागरिक शिक्षा बारे तीन दशकदेखि विभिन्न राष्ट्रिय पत्रिकाहरूमा निरन्तर लेख्दै आएको छु । ‘नागरिक शिक्षा नामक’ छुट्टै पुस्तक पनि लेखिसकेको छु ।

यससम्बन्धमा स्वदेश तथा विदेशका समेत ठाउँठाउँको विचार र नागरिक शिक्षाको प्रभाव बारे अंगेजीमा Some Glimpeses of civics education नामक पुस्तक पनि लेखेको छु । यसरी नागरिक शिक्षा हाम्रो जीवनको अभिन्न पाटोका रूपमा स्वीकार नगरी आमनागरिकलाईे सही दिशा प्रदान गर्न सकिँदैन । ‘नागरिक शिक्षा प्रर्वद्धन समाज’ नामक संस्था यी नै उद्देश्य बोकेर जन्मिएको हो तर अहिले स्रोत साधनको अभाव र कोरोना महामारीका कारणसमेतबाट यो निष्क्रिय प्राय रहँदै आएको छ ।

मेरो निवृत्त जीवन अझै पढ्न र लेख्नमै व्यस्त छ । पटक-पटकको अमेरिका जानु र आउनुपर्ने कारणले पढाउँदै आएका कलेजहरू पनि छुटन गएका छन् । कतिपय संलग्न संस्थाहरूसितको सम्बन्ध पनि पातलिँदै गएका छन् । तथापि आफूलाई निष्क्रिय भने पार्न चाहन्न । त्यसैले विभिन्न पत्रपत्रिकामा लेख्न र प्रजातन्त्रका लागि सक्दो सहयोग गर्न तत्पर नै छु । नेपाली कांग्रेससँग सम्बन्धित केही संस्थाहरूसँग पनि म संलग्न छु ।

जहाँ-जहाँ संलग्न छु कहीँ सल्लाकार कहीँ संयोजक कहीँ सदस्यका नाताले बोलाएका बखत जाने र आफूले बुझेका कुरा राख्ने गरेको छु । लोक्तन्त्र वा प्रजातन्त्रका लागि नोपली कांग्रेसले आफ्नो दायित्व भुल्नु नहुने र यो मुलुकको लोक्तन्त्रको पहरेदार भनेको नेपाली कांग्रेस नै हो भन्ने कुरा सबैमा अवगत हुनुपर्छ । कांग्रेसका नेता र कार्यक्ताहरूले पनि यिनै कुरा महसुस गरी इमानदारीपूर्वक देश र देशवासीका लागि हित हुने कार्यमै दत्तचित्त भएर लाग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
J. C. Gautam
J. C. Gautam
2022-07-31 5:28 pm

Very nice articleRa.Rameshji you shod continue sharing your experience. I have read your other articles also. They are very good. Pl. Conti. J.ue the good work

छुटाउनुभयो कि ?