संसार हेर्ने शब्दका आँखाहरू !

डा. नारायण चालिसे
Read Time = 13 mins

पौरस्त्य दर्शनशास्त्रमा शब्दलाई ब्रहृम मानिएको छ । ब्रहृमलाई पढेर, अनुभव वा साधना गरेर सिद्ध गर्न सकिन्छ । यस अर्थमा शब्द भनेका हाम्रा वा संसारकै पनि आँखा हुन् । शब्दलाई आँखा मानेकाहरूले हिजैदेखि संसार हेरिरहेका छन् । जसले शब्दको कला र सामथ्र्य बुझेका थिए उनीहरूले त्यसरी नै संसार हेर्दै आएका छन् । जोसँग शब्दका आँखा छैनन् उनीहरूका निम्ति संसार अहिले पनि अँध्यारो छ । शब्दको सामथ्र्य नबुझेकाहरू र शब्दसँग मित्रता गर्न नसकेकाहरूका निम्ति संसार अहिले पनि कारागार समान छ । शब्द भन्नु ज्ञानको आँखा न हो । आँखाका कोश उघारेर देखिने संसारभन्दा धेरै फराकिलो आँखा बन्द गरेर देखिने संसार छ ।

ज्ञानचक्षु र चर्मचक्षु यी दुई विधिले संसार हेर्न सकिन्छ । ज्ञानचक्षुका स्रोत शब्दब्रहृम हुन् । आध्यात्मिकहरूले आँखा चिम्लिएरै देखिने संसार हेर्न भनिरहन्छन् । भौतिवादीहरूले यसलाई बित्था चिन्तन भन्ने गर्थे । भौतिक्ता र आध्यात्मिक्ताको गहिराइमा पुग्न नसकेकाहरूले अहिले पनि भेद विचार राख्छन् । भौतिक्ता र आध्यात्मिक्ता भनेका दुई विरोधी तत्त्व हुन् यिनीहरूको मिलन सम्भव छैन भन्ने अनुदार विचारले अहिले पनि काम गरिरहेकै छ । अब हामीले शुद्ध चेतना र बुद्ध विचारलाई आध्यात्मिक्ता भन्न सक्नुपर्छ । कुरा अब आध्यात्मिक मात्रै पनि छैन । अबको भौतिक संसार हेर्न पनि भित्री आँखा नै चाहिन्छ जसलाई बुद्ध चेतना भन्न सकिन्छ ।

ती भित्री आँखा भनेका शब्द र प्रविधिका आँखा हुन् । हिजो प्रविधिको विकास नभएका समयमा सूक्ष्म चिन्तनलाई जसरी रहस्यमय मानेर ईश्वरीय अनुकम्पा मानिन्थ्यो आज त्यस्तै काम भौतिक विकासले गरिसकेको छ । ऋषिहरूले मन्त्रदान गरेका कुरालाई आज पासवर्ड विज्ञानसँग दाँज्न सकिन्छ । गुरुमन्त्रको सिद्धि शिष्यले गरेजस्तै आज पासवर्डको उपयोग गरेर उत्तरवर्ती शिष्यले पासवर्ड रूपी मन्त्रको सिद्धि प्राप्त गरेका छन् । आजको संसारलाई ज्ञानका आँखाले हेर्न सकिन्छ । हिजो भौतिक आँखा खोल्दा थोरै संसार देखिन्थ्यो भने आज त्यही अवस्थामात्रै रहेन । निश्चय पनि आँखा बन्द गर्दा धेरै संसार देखिन्छ । भौतिक आँखाको सीमा समाप्त भएपछि ज्ञानका आँखा खुल्छन् ।
तर, अब भौतिक आँखा पनि विश्वासिला बनेका छन् र दिव्यचक्षु समान बनेका छन् आज आँखाहरू । आँखाको दायराभन्दा पर रहेको ज्ञानको संसार हेर्न अब शब्दका आँखा खोल्न आवश्यक छ । शब्दको शििक्तका विषयमा हाम्रा प्राचीन ज्ञानशास्त्रमा धेरै चर्चा पाइन्छ । शब्दस्फोट, शब्दशक्ति यसैका दृष्टान्त हुन् । उपनिषद् वचनहरूले हामीलाई तिनै शब्दको यात्रामा पठाउँछन् जहाँबाट संसारको दर्शन गर्न पाइन्छ । आत्मालाई पनि हेर, सुन, मनन गर अनि ध्यान गर भनेर ज्ञानका आँखा खोल्न सबैलाई अह्राएको छ । आत्मालाई पनि हेर्न सक्ने ज्ञानचक्षुले संसार हेर्न नसक्ने कुरै भएन । शब्दले देखाउने संसार अपूर्व संसार हो र आत्मिक संसार हो ।

अब मानिसलाई संसार हेर्न बाटो खर्च बोकेर साइत गर्न पर्दैन । बस वा जहाज चढ्नु पनि पर्दैन । आफ्नै घरको ई-पुस्तक, मोबाइल, आइप्याड वा ल्यापटप खोलेर संसार हेर्न सकिन्छ, पढ्न र डुल्न सकिन्छ । संसार आज एउटा सानो मेमोरी कार्डमा अटाएको छ । मानव मनोविज्ञान बुझेर आजका यन्त्रहरूले हामीले चाहेको दृश्य वा सामान उपलब्ध गराउँछन् । मानिसले भन्दा धेरै विशिष्ट किसिमले यन्त्रले काम गर्छन् । हिजो पुस्तकमा सीमित रहेका भनिएका कुराहरू आज हाम्रा सामु उपलब्ध छन् । हामीले हिजो आत्माका कुरा गरिरहेका थियौँ । चेतनाका कुरा गर्दा ती सबैलाई अदृश्य छन् भनेका थियौँ तर हिजो अदृश्य लागेका कुराहरू दृश्यमा नभएर आएका छन् ।

अमेरिकामा बसेर युरोपमा शल्यक्रिया गर्ने यन्त्र भनौँ कि नेपालमा बसेर अमेरिकामा रहेका सन्तानसँग संवाद गरेको दृश्यकै कुरा किन नगरौँ हामी आज शब्द र दृश्य ज्ञानका पछिल्ला सुविधाहरू भोग गर्दैछौँ यी सबै हाम्रा शब्दका चम्किला आँखाहरू हुन् ।

आत्मालाई हेर्ने साधनको जन्म हुँदैछ । अब आश्चर्यले संसारबाट डेरा सर्न लागेको अवस्था छ । अब हामीलाई हाम्रो रुचि र इच्छा अनुसारको ज्ञानले भरिएको चेतनायन्त्र (मेमोरी कार्ड) उपलब्ध हुन सक्छ । मस्तिष्कमा जडान गरेपछि हामी इच्छित ज्ञानले पूर्ण बन्न सक्छौँ । संसारलाई मुठीमा राखेर हिँड्ने समयसम्म आइपुग्दा हामीले दिएको सन्देश के हो ? भनेर मनन गर्ने हो भने केही सकारात्मक र केही नकारात्मक उत्तरहरू आउलान् । अब संसारलाई आफ्नो आँखाले हेर्नु नभएर चेतनाले हेर्नु हो । यन्त्रले हेर्नु हो । संसार पढ्नु भनेको सभ्यता, संस्कृति र जीवनदर्शन हेर्नु हो । हजारौँ वर्षको सभ्यताको इतिहास हेर्न अब हामीलाई उही समय उपलब्ध हुँदैन ।

इतिहास भनेका सभ्यताका दस्तावेजहरू हुन् तर केही छैन शब्दका ऐनामा सजिएका इतिहासका अभिलेखहरूले हामीलाई इतिहासको त्यही कालखण्डमा लगेर उभ्याउँछन् । वैदिक सभ्यताका आदि गुरु हाम्रा ऋषिमुनिहरू, उनका दिव्य ज्ञानहरू, सूत्र, काव्य, साहित्य र दर्शनहरूका पनि सार कुराहरू हामीले शब्दकै माध्यमले हेरेका छौँ । म्याक्समुलरले भारत नदेखिकनै समस्त भारतीय वाङ्मयको अध्ययन गरेका थिए । ग्रिकमा जन्मिएका शुकरातलाई औपचारिक अध्ययन नगरिकनै ज्ञानका आँखा प्राप्त गरेका हुनाले कुरौटे दार्शनिक भनिन्थ्यो । प्लेटो र अरिस्टोटल पाश्चात्य दर्शनका आदर्श व्यक्तिहरू हुन् । उनीहरूलाई हामीले शब्दका आँखाले नै हेरेका हौँ ।

अफ्रिका, अष्ट्रेलिया, अमेरिका, युरोप आदिको साहित्यदर्शन, कला वावाङ्मयको इतिहास हेर्न हामी ती ठाउँमै जानु पर्दैन । शब्दले देखाएको संसार आँखाले हेरेको संसारभन्दा धेरै व्यापक हुन्छ । आर्थिक सामथ्र्य नहुनेहरू पनि शब्दका आँखाले संसार हेर्न सकेका छन् । आजको समय आध्यात्मिक जस्तै भइसकेको छ । सानो मेमोरी कार्डमा संसार समेटेर ल्याउने सामथ्र्य चानेचुने कुरा होइन र आध्यात्मिक ज्ञानबाट प्राप्त हुने ज्ञानभन्दा कमसल छैन बरु यसको दृश्यात्मक क्षमताले यो अध्यात्मज्ञानभन्दा भरपर्दो बनेर आएको छ । त्यसैले विज्ञानको पछिल्लो चेतना अध्यात्ममुखी छ भन्न सकिन्छ । कुनै यन्त्रबाट प्रसारित गरेको कुनै वस्तु अर्को दूरदेशमा त्यहीरूपमा पुग्नु त्यही दिव्य चेतनाको परिमार्जित रूप हो ।

अमेरिकामा बसेर युरोपमा शल्यक्रिया गर्ने यन्त्र भनौँ कि नेपालमा बसेर अमेरिकामा रहेका सन्तानसँग संवाद गरेको दृश्यकै कुरा किन नगरौँ हामी आज शब्द र दृश्य ज्ञानका पछिल्ला सुविधाहरू भोग गर्दैछौँ यी सबै हाम्रा शब्दका चम्किला आँखाहरू हुन् । यिनैलाई नै हामी दिव्यचक्षु भन्न सक्छौँ । हिजोका सञ्जयका आँखाहरू आज प्रकारान्तरमा आएका छन् । श्रीकृष्णका दिव्य दृष्टिहरू यिनै हुन् । विश्वलाई आफ्नो सामथ्र्यको अँगालोमा बाँधेर राखेका गतिशील, प्रगतिशील अनि उन्नतिशील राष्ट्रहरू र त्यहाँका नायकहरू आजका श्रीकृष्णहरू हुन् र तिनले प्रसारण गरेका यी प्रविधिरूपी दिव्य दृष्टिहरूले ती महान् व्यक्तिका विराट् रूपहरू प्रदर्शन गरिरहेका छन् जस्तो लाग्छ ।

ज्ञान वा विज्ञानको पनि सधैँ एकै किसिमको व्याख्या वा परिभाषा स्थिर रहँदैन । यदि यसो हुने हो भने ज्ञान वा विज्ञानको पनि गतिशील परम्परा समाप्त हुन्छ । न ज्ञान बिसाएको छ न विज्ञान नै बिसाएको छ । युगयुगका ज्ञानका आँखाले आज हेरिएको संसार भनेको शब्द वा दृश्यको संसार नै हो । हिजो आँखा बन्द गरेर संसार हेरिए जस्तै आज आँखा खोलेर त्यही ज्ञानको परिमार्जित रूप हामीले हेरिरहेका छौँ । यो आजको गतिशील अध्यात्म हो । सूक्ष्म चेतनाप्रतिकै विश्वासको नाम न अध्यात्म हो !

ज्ञानको उत्कर्ष अवस्था सबै प्रकारका भेदहरूभन्दा परको कुरा हो । जहिलेसम्म भेदको भावना रहन्छ तहिलेसम्म चेतनाले उच्च रूप लिन सक्दैन । चेतनाले विभेद मेटेको समय नै त हो अध्यात्मको पनि उत्कर्ष अवस्था । भूगोल, देश, काल, जात, लिङ्ग, वर्ण, वर्ग, सम्प्रदाय, यो वा त्यो बाहनाभन्दा धेरै पर नपुगिकन शुद्ध आध्यात्मिक पनि भइँदैन । जहिलेसम्म यो भेद रहन्छ हामी समभावयुक्त वा शुद्ध चित्तवाला बन्न सकेको मानिँदैन । कुनै धर्म वा सम्प्रदायले पनि यदि यिनै तथाकथित सीमाहरूलाई तोड्न सकेका छैनन् भने तिनले मानव भावनालाई जोड्न पनि सकेका छैनन् । ती ठाउँमा पनि शब्दका आँखाले काम गर्न सकून् भन्ने कामना गरौँ !!!

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwara Sharma
Ishwara Sharma
2022-07-30 3:01 pm

हजुर दर्शन ! , कति राम्रोसँग स्पष्ट टक्क समयनुसारको शब्द प्रयोगको सहजीकरण भीनाजु !!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?