स्थानीय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ विमोचन

हिमालय टाइम्स
Read Time = 4 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । कोहलपुर नगरपालिकाको आधारभूत तह (१–८) को स्थानीय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ विमोचन गरिएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समिति निर्माण गरेको पाठ्यक्रमलाई अन्तिम रूप दिएर विमोचन गरिएको हो । स्थानीय पाठ्यक्रमको कोहलपुर नगरपालिकाका निवर्तमान प्रमुख लुटबहादुर रावत र प्रमुख पूर्णप्रसाद आचार्य लगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

आधारभूत तहको पाठ्यक्रम निर्माणको लागि गत वैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व–उपसचिव तथा विज्ञ जीतबहादुर शाहको संयोजकत्वमा सात सदस्यीय समिति बनाएको थियो । समितिले डेढ महिनामा पाठ्यक्रम निर्माण गरेर अन्तिम रूपमा दिएको हो । कुल सातवटा विषय समेटेर निर्माण गरिएको पाठ्यक्रमको औपचारिक कार्यक्रमबीच विमोचन गरिएको छ ।

हाम्रो कोहलपुर, हाम्रा संस्कृति र सम्पदा, कोहलपुर विकासका पुर्वाधार, पेसा व्यावसाय र प्रविधि, खुसीका लागि शिक्षा जीवनोपयोगी सीप, हाम्रो वातावरण र विपद् व्यवस्थापन विषय समेटिएको छ । उक्त अवसरमा बोल्दै समितिका संयोजक तथा विज्ञ शाहले स्थानीय पाठ्यक्रम निर्माण गर्ने कुरा निकै चुनौतीपूर्ण भए पनि छोटो समयमा राम्रो पाठ्यक्रम निर्माण गर्न सफल भएको बताउनुभयो ।

उहाँका अनुसार पछि पाठ्यपुस्तकको रूपमा अध्ययन हुने पाठ्यक्रमलाई व्यावहारिक र प्रयोगात्मक विधिबाट अध्यापन गराउने विधिलाई जोड दिइएको छ । हाम्रो कोहलपुर नामक पाठ्यक्रममा रहेका विषयलाई स्थानीयकरण गरिएको पनि दाबी गर्नुभयो । यस्तै, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार पाठ्यक्रम करिब डेढ महिनामा निर्माण सम्पन्न भएको हो । उहाँले पाठ्यक्रम कोहलपुर नगरपालिकाका हरेक विषयम समावेश भएको पूर्ण र उपयोगी रहेको समेत बताउनुभयो ।

यसलाई प्रयोग र कार्यन्वयनमा समेत कडाइ गरिने उहाँको भनाइ छ । जिल्ला शिक्षा तथा समन्वय इकाइ, बाँकेका प्रमुख राम सुरेश यादवले कोहलपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा ठूलो फड्को मारिरहेको बताउनुभएको थियो । उहाँले साक्षर नगरका रूपमा रहेको कोहलपुरले जिल्लाका अन्य पालिका भन्दा गुणस्तरीय पाठ्यक्रम निर्माण बताउनुभयो । यस्तै, आफ्नो पालामा सुरु भएको र नयाँ जनप्रतिनिधिको पालमा विमोचन भएको पाठ्यक्रमलाई तत्काल पाठ्यपुस्तकको रूपमा सम्पूर्ण विद्यार्थीको हातमा पु¥याउन निवर्तमान प्रमुख लुटबहादुर रावतले जोड दिनुभएको थियो । नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले संविधान र संविधानको मर्मअनुसार निर्माण भएको पाठ्यक्रम छिट्टै पाठ्यपुस्तकको रूपमा विद्यालयमा अध्ययन सुरु गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?