असला माछाको संरक्षण गर्दै सिंजा गाउँपालिका

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

-विजय रावत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले हिमा नदीका असला माछाका भुरा संरक्षण गर्ने भएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै असला जातको माछाको भुरा संरक्षण गर्ने कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

अति लोकप्रिय अवस्थामा रहेको असला माछाका भुरा संरक्षणमा पालिका लागिपरेको छ । अध्यक्ष धितालले भन्नुभयो, ‘नदी संरक्षणका लागि नदीमा विषादी प्रयोग गर्न नदिने, विद्युतीय सामग्री, गोलाबारुद र झुल प्रयोग गरेर माछा मार्न नपाइने नभएको छ ।’ हिमा नदीमा पाइने असला जातका माछाका भुरा बचाउने उद्देश्यका साथ गाउँपालिकाले नीति तथा कार्यक्रमबाटै योजना पारित गरेको सिंजा गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक मित्रलाल धितालले हिमा नदीमा पाइने असला जातका माछा हराउने अवस्थामा पुगेको बताउनुभयो । नदीमा माछा मार्नका लागि पासो हाल्ने, करेन्ट लगाउने, जाल हान्नेलगायत कार्यले असला जातका माछाहरू लोप हुने अवस्थामा पुगेको हो । अहिले विभिन्न खालका औजार प्रयोग गरेर माछा मार्ने प्रविधि बढेको छ । माछा संरक्षणका लागि अहिलेदेखि नै गाउँपालिकाले बजेट निर्माणमै यो कार्यक्रम पारित गरेको गाउँपालिका पशुपक्षी विकास शाखाका संयोजक धितालले बताउनुभयो ।

खस भाषाको जन्मथलोसमेत रहेको सिंजा गाउँपालिका पर्यटनका लागि सम्भावना बोकेको गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष धिताले जानकारी दिनुभयो । उहाँले विद्यालयमा खस भाषाबाट पढाइसमेत अघि बढाएको बताउनुभयो । सिंजा सभ्यताबारे पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सबै पक्षसँग सहकार्य र समन्वय गरेर काम गरिरहेको सिंजा गाउँपालिकाले जनाएको छ ।

देशकै पर्यटनको आकर्षण मानिने मुगुको रारा ताल जाने पर्यटक सबै यही सिंजा गाउँपालिका भएर जाने भएकाले पर्यटकहरूलाई असला माछा र मार्सी धानको भात खुवाउन सकेमा यहाँका व्यापारीको आयस्रोतमा वृद्धि हुने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । यदि कोही नदीमा गएर माछा मार्ने कार्यमा संलग्न भए प्रहरीलाई जानकारी गराउन गाउँपालिकाले सबैलाई अनुरोधसमेत गरेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?