मौद्रिक नीतिपछि सेयर बजारमा सुधार

Read Time = 3 mins

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि सेयर बजारमा सुधार आएको छ । मौद्रिक नीति सार्वजनिक भएपछि साताभर सेयर बजार परिसूचक नेप्से १२३.०६ अंकले बढेको छ भने २० अर्ब बढीको कारोबार भएको छ । पछिल्लो साता कुल २० अर्ब ७१ करोड ४१ लाख ४३ हजार चार सय १७ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । कुल छ कारोबार दिनमध्ये एक दिनबाहेकका अन्य सबै दिनमा नेप्से सूचक बढेका थिए ।

आइतबार सूचक ६१.०५ अंकले बढेर दुुई अर्ब ७० करोडको कारोबार भएको थियो भने सोमबार सूचक ५४.४५ अंकले बढेर चार अर्ब सात करोडको कारोबार भएको थियो । तर, मंगलबार भने सूचक ४४.८० अंकले घटे पनि तीन अर्ब ६७ करोडको कारोबार भएको थियो ।

त्यस्तै बुधबार सूचक २३.८३ अंकले बढेको थियो भने तीन अर्ब १५ करोडको कारोबार भएको थियो । बिहीबार भने सूचक १५.४८ अंकले बढेकोमा चार अर्ब ९२ करोडको कारोबार भएको थियो । शुक्रबार १३.०५ अंकले सूचक बढेको थियो भने दुई अर्ब १८ करोडको कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकले साउन ६ गते चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

यसैबीच पछिल्लो साता नेप्सेमा नेपाल इन्स्योरेन्स र कालिका पावरको बोनस सेयर सूचिकृत भएका छन् भने विन्ध्यवासिनी हाइड्रोको सेयर कारोबार सुरु भएको छ ।

सेयरसम्बन्धी इन्टरकलेज प्रतियोगिता
प्रभु क्यापिटलको प्रायोजनमा इन्टरकलेज पिचिङ प्रतियोगिता आयोजना गरिएको छ । कुसुम फाइनान्स क्लबले सेयर बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले सहभागिता जनाएका थिए । प्रतियोगीले नेप्सेमा सूचीकृत कम्पनीमध्ये ‘बाइ’ अथवा ‘सेल’ का लागि विभिन्न आधारभूत र प्राविधिक विश्लेषणमा प्रस्तुति दिएका थिए । टिम ‘स्टक जेम्स’ पहिलो र टिम ‘स्वीप्रबी’ विजयी भएका थिए । प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको १० हजार बराबरको प्रभु सेलेक्ट फन्ड र दोस्रो विजेता टिमलाई पाँच हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ । प्रतियोगिताको जजका रूपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाका साथै कुसुम कलेजका सहायक प्रोफेसर पवनकुमार झा तथा रमेश घिमिरे रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?