सर्वनाममा ‘सपनामा अनेक अनेक’

Read Time = 3 mins

काठमाडौं । सर्वनाम नाटकघरमा ‘सपना अनेक अनेक’ मञ्चन भइरहेको छ । अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको गीतिनाटक सपना अनेक अनेक लामो समयको अन्तरालपछि सर्वनाम नाटकघरमा यही साउन ५ गतेदेखि मञ्चन भइरहेको हो । सर्वनामले आफ्नो चार दशकको इतिहासमा पहिलो पटक गीति नाटक प्रस्तुत गरेको हो ।

साहित्यकार गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित गीति नाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र बानिका प्रधानको स्वर छ । ‘विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नो देशको यादले रात दिन तड्पिरहेका हुन्छन् । त्यो एउटा प्रतीक हो । चाहे जुनसुकै मुलुकमा पुगे पनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ । आमा अर्थात् नेपाल आमा । आमाको त्यो बिम्ब नै नाटकको सार हो’, नाटकका परिकल्पनाकार तथा निर्देशक अशेष मल्लले भन्नुभयो ।

गीति नाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोसिस गरेको मल्लले बताउनुभयो । नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि निरन्तर उत्कृष्टा पस्किँदै आउनुभएका वरिष्ठ संगीतकार राजु सिंहले ‘सपना अनेक अनेक’मार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । ‘प्रस्तुत गीति नाटकमार्फत पूर्ण संगीतकार भएको महसुस गरेको छु । गर्व पनि लागिरहेको छ । यसले नेपाली गीति नाटकमा विशेष योगदान पुर्‍याउने विश्वास लिएको छु’, सिंहले भन्नुभयो ।

गीतिनाटकको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धीरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ-गूको अभिनय छ । गीतिनाटक यही साउन २१ गतेसम्म मञ्चन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?