अन्तिमपटक प्रधानमन्त्री बनेर सम्झनयोग्य काम गर्ने मन छ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिमपटक प्रधानमन्त्री बनेर सम्झनयोग्य काम गर्न मन भएको बताउनुभएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले आफ्नो ‘लास्ट इनिङ’ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका डा. बाबुराम भट्टराई माओवादी नभएको आरोप पनि लगाउनुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एक मात्र माओवादी (माओवादी केन्द्र) मात्रै रहेको जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने पनि बताउनुभयो ।

उहाँले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताउँदै प्रतिक्रियावादीहरू, बुर्जुवाहरू र दलालहरू आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पास गर्न र एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको जिकिर गर्नुभयो ।

उहाँले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले देश विकास गर्ने कुरा माओवादीबिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

‘पहिलोपटक माओवादी सरकारमा आउँदा मिडियाले भ्रष्टाचारबारे लेख्न परेन’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो कार्यकालमा मिडियाले भ्रष्टाचारबारे लेख्न नपरेको बताउनुभयो । शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि सुशासनमा नयाँ रेकर्ड बनाएको दाबी गर्नुभयो । भ्रष्टाचारबारे एक वाक्य पनि लेख्ने ठाउँ नदिइएको भन्दै उहाँले भन्नुभयो, ‘सुशासनको दृष्टिकोणले भन्नुहुन्छ भने पहिलो गणतान्त्रिक सरकारको नौ महिने कार्यकालमा कुनै पत्रपत्रिकाले त्यो सरकारको नौ महिनामा भ्रष्टाचार यो ठाउँमा भयो भनेर एउटा वाक्य कसैले लेख्ने ठाउँ दिइएन ।’ सुशासनको नेतृत्व माओवादीले गर्दा मात्रै हुन्छ भन्दै उहाँले भन्नुभयो, ‘सुशासनको एउटा नयाँ रेकर्ड बनाइयो । यसबाट के देखिन्छ भने विकास निर्माण र समृद्धिको सुशासनको नेतृत्व माओवादीले गर्दा मात्रै हुँदो रहेछ ।’

बूढाहरू चाहिँदैनन् भन्ने समाज भत्काउने विचार हो
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले युवा, प्रौढ र वृद्धको संयोजनबिना समाज गतिशील रूपमा अघि बढ्न नसक्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘आजभोलि बूढाहरू चाहिँदैन, प्रौढहरू चाहिँदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थाल्या छन्, त्यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन ।’ उहाँले भन्नुभयो, ‘समाजका निम्ति युवा पनि चाहिन्छ, प्रौढ‚ वृद्धवृद्धा सबै चाहिन्छ । सबैलाई उचित सम्मान र समायोजन गरेर मात्रै राजनीति, पार्टी, समाज र राष्ट्र अगाडि जान्छ ।’ परिवर्तन भत्काउन कसरत भएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो परिवर्तन नरुचाउनेहरू अनेक बहानामा कहिले युवाहरूलाई निषेध गर्न खोजेर, कहिले वृद्धहरूलाई निषेध गर्न खोजेर, कहिले नेताहरूलाई निषेध गर्न खोजेर समाज भत्काउने, परिवर्तन भत्काउने कसरत भएका छन् भन्ने तपाईं हामीले बुझ्नु जरुरी छ ।’ सबै उमेर समूहका सबै पार्टीका नेता उस्तै हुन् भन्ने तर्क वाहियात भएको भन्दै उहाँले नेताहरूलाई गाली गर्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्नुभयो ।

संघ तथा प्रदेशको निर्वाचनमा दोस्रो पार्टी बन्छौँ
अध्यक्ष प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरू दोस्रो पार्टी बन्ने जिकिर गर्नुभएको छ । शनिबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले त्यसो नभए गठबन्धनमा समस्या आउने संकेत गर्दै भन्नुभयो, ‘मैले नेपाली कांग्रेसका नेताहरूसँग कुरा गर्दा भनेको छु, सायद पहिलो पार्टी अहिले तपाईंहरू नै हुने देखियो’, प्रचण्डले भन्नुभयो, ‘दोस्रो माओवादी केन्द्र नै हुने हो । त्यसमा सहयोग गर्ने हो भने सबै चिज सहज जान्छ, होइन भने सहज जाँदैन ।’ उहाँले यसमा नेतृत्व तहमा राम्रो समझदारी भएको भन्दै स्थानीय तहको जस्तो गडबड नहुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
स्थानीय निर्वाचनमा पार्टी युनिफाइड नहुँदा पहिला जितेका ५० पालिका गुमाएको भन्दै उहाँले भन्नुभयो, ‘नत्र हामी अहिले नै पहिलो कम्युनिष्ट पार्टी र मुलुकको दोस्रो ठूलो दल बन्ने अवस्था थियो ।’ अब सत्ताको बागडोर सम्हाल्ने किसिमले नतिजा ल्याउनका निम्ति जुट्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?