भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए (अपडेट)

Read Time = 3 mins

खोटाङ । खोटाङको साकेला गाउँपालिका ५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो ।

मानवीय क्षति नभए पनि दुबै परिवार विस्थापित भएका छन् । हालसम्म भूकम्पले मात्तिमविर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताउनु भयो । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको प्रशासनले जनाएको छ ।

भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँचवटै वडामा क्षतिको विवतरण संकलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताउनु भयो। वर्षा भइरहेका कारण क्षतिको विवरण संकलनमा कठिन भइरहेको छ । मात्तिमविर्ताका वडाध्यक्ष जीवन न्यौपानेले दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको बताउनु भयो ।

क्षति मूल्यांकनका लागि पत्राचार

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।

आइतबार बिहान भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयलाई पत्राचार गरेको हो । भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगर प्रमुख विमला राईले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?