स्कुस खेतीबाट मनग्य आम्दानी गर्दै इलामका किसान

Read Time = 4 mins

-प्रकाश नेपाल
इलाम । इलामको सूर्योदय नगरपालिकाका किसानले स्कुस खेतीबाट राम्रो आम्दानी गर्दे आएका छन् । यहाँका किसानले एकै सिजनमा स्कूस बेचेर ४० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

आम्दानीको राम्रो श्रोत बनाएका किसानलाई प्रोत्साहनका लागि राज्यका सम्वन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन । पछिल्लो केहीदिन यता धेरै किसानलाई स्कूस टिप्न भ्याइनभ्याई छ । विहानदेखी बेलुका अबेर सम्म स्कूसको बगानमा किसानको दिन वित्ने गरेको छ । दिनभर टिपेको स्कूसलाई बोरामा प्याक गरी साँझ सम्ममा बाटोमा पुर्याउनु पर्छ । बेलुका सबै स्कुस गाडीमा लोडगरी ब्यापारीले लाने गरेका छन् ।

थारै लगानीमा राम्रो आम्दानी दिने भएपछि किसानले मकै र चिया मासेर स्कूस खेती गर्न थालेका हुन् । एकै सिजनमा स्कूस बेचेर किसानले ४० लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेका सुर्याेदय नगरपालिका बरबोटेका किसान बिनोद श्रेष्ठ बताउनुहुन्छ ।

सूर्योदय नगरपालिकाको १४ सबै वडामा व्यवसायिक स्कूस खेती हुने गरेको छ । त्यसमा पनि बरबोटे,गैरीगाउँ,रमफोक,पान्दाम, ढोडे लगायतका क्षेत्रमा धेरै स्कूस उत्पादन हुन्छ । यहाँ उत्पादन भएको स्कुसलाई ब्यापारीले भारतीय बजारसम्म पुर्याउने गरेका छन् । प्राय किसानले चलानी जातको स्कूस खेती गरेका छन् । यो जातको स्कूस बैशाखबाट कार्तिकसम्म फल्ने गर्छ । त्यसपछि स्कूसको जराबाट पनि राम्रो आम्दानी हुन्छ । छोटो समयमा दुई पटकसम्म आम्दानी लिन सकिने भएपछि स्कूस खेतीमा किसानको आकर्षण बढ्दो छ । इलामका १० वटा पालिका मध्ये सबै भन्दा धेरै तरकारी खेती सूर्योदय नगरपालिकामा हुने गरेको छ । नगरमा करिब ८ हजार किसान व्यवसायिक सब्जी खेतीमा आबद्ध छन् । अन्य खेतीको तुलनामा स्कूसमा लगानी कम पर्ने र रोगको प्रकोप समेत न्यून रहने हुँदा किसान थप व्यवसायिक बन्न चाहान्छन् तर त्यसका लागी राज्यले सहजीकरण गरिदिनुपर्ने उनीहरुको माग छ ।

स्कुस बिक्रीबाट सूर्योदय नगरपालिकामा ठूलो रकम भित्रने गरेको छ । नगरले गरेको एक अध्ययनले १० करोड रुपैयाँ सम्मको कारोबार भएको उल्लेख छ । तर नगरले भने व्यवसायिक स्कूस खेती गर्ने किसानका लागी कुनै ठोस कार्यक्रम बनाउन सकेको छैन । नगरपालिकाले कृषि क्षेत्रमा छुट्टाएको बजेट सानातिना टुक्रे कार्यक्रममा नै सक्ने गरेको छ ।

जिल्लामा रहेको कृषि ज्ञान केन्द्र इलामले पनि व्यवसायिक स्कूस खेती गर्ने किसानका लागि कुनै कार्यक्रम बनाएको पाईदैन । धेरै किसान प्रविधि तर्फ उन्मुख हुन चाहान्छन् तर त्यस तर्फ पर्याप्त ज्ञान नहुँदा उनीहरु व्यवसायिक बन्न सकिरहेका छैनन् । किसानलाई व्यवसायिक बनाउन र उत्पादित बस्तुको बजारका लागि राज्यले आवश्यक पहल गर्न जरुरी देखिन्छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?