बार्सिलोनाको सहज जित

Read Time = 2 mins

बार्सिलोना । क्याटलान क्लब बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ । प्रि-सिजनका लागि अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले न्युयोर्क रेड बुल्सलाई २-० ले पराजित गरेको हो ।

बार्सिलोनाका लागि फ्रान्सेली विंगर औसमाने डेम्वेले र डच फरवार्ड मेम्फिस डिपाएले एक-एक गोल गर्नुभयो । खेलको ४०औँ मिनेटमा डेम्वेलेको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो ।

उहाँले राफिन्हाको पासमा गोल गर्नुभएको हो । प्रि-सिजनमा डेम्वेलेको यो चौथो खेलमा चौथो गोल हो । उहाँले यसअघि युभेन्ट्सविरुद्ध दुई गोल तथा इन्टर मियामीविरुद्ध ६-० को जितमा एक गोल गर्नुभएको थियो । रियल म्याड्रिडविरुद्ध भने गोल गर्न सक्नुभएन ।

८२औँ मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । ड्यानियल इडेलमल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभयो । त्यसपछि ८७औँ मिनेटमा परिवर्तित खेलाडी डिपाएले गोल गर्दै बार्सिलोनाको जित पक्का गर्नुभयो । यस खेलमा न्युयोर्क रेडबुल्स र बार्सिलोनाले सबै खेलाडीलाई मौका प्रदान गरेका थिए ।

प्रि-सिजनमा बार्सिलोनाको यो पाँचौँ खेलमा तेस्रो जित हो । यसअघि बार्सिलोनाले इन्टर मियामी र रियल म्याड्रिडलाई पराजित गर्दा युई ओलोट र युभेन्ट्ससँग बराबरी खेलेको थियो । एजेन्सी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?