ब्राजिललाई चौथो पटक कोपा अमेरिकाको उपाधि

Read Time = 2 mins

रियो । आयोजक कोलम्बियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक महिला कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ । घरेलु टोली कोलम्बियालाई १-० ले पराजित गर्दै ब्राजिल सर्वाधिक आठपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौँपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौँ संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो ।
कोलम्बियास्थित स्टेडियो अलफन्सो लोपेजमा आइतबार बिहान भएको फाइनलमा ब्राजिलको जितमा डेविन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उहाँले ३९औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्नुभएको थियो । ब्राजिल अपराजित र एक गोल पनि नखाई च्याम्पियन बनेको छ । ब्राजिल समूह चरणको चार खेलमा १७ गोल तथा सेमिफाइनलमा दुई तथा फाइनलमा एक गोल गर्न सफल भयो ।

तेस्रोपटक फाइनलमा पुगेको कोलम्बियाको च्याम्पियन यात्रामा ब्राजिल नै बाधक बन्यो । कोलम्बिया फाइनलको तीनै भेटमा ब्राजिलसँग नै पराजित भएको छ । त्यसअघि शनिबार पाराग्वेलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको छ ।

अर्जेन्टिनाकी यमिला रोड्रिग्वेज ६ गोलसहित सर्वाधिक गोलकर्ता बन्नुभयो । कोलम्बियाकी लिन्डा काइसेडो सर्वाेत्कृष्ट खेलाडी चुनिनुभयो । आठ जुलाईबाट सुरु भएको कोपा अमेरिका फेमेनिनामा कन्वेवलका १० टोलीले सहभागिता जनाएका थिए । समूह चरणपछि शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?