आदर्श र नैतिकतामा आधारित सम्मानजनक जीविकोपार्जन गराउने शिक्षा आजको आवश्यकता : राणा

कृष्ण भुसाल
Read Time = 13 mins
A A- A+

लामो समयदेखि गुणस्तरीय शैक्षिक उन्नयनमा लागि परेको नाम हो गीता राणा । ग्यालेक्सी पब्लिक स्कुलको संस्थापक प्रिन्सपल भएर निरन्तर उहाँले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको छ । देशकै गुणस्तरीय संस्थागत विद्यालयहरूको सूचीमा निरन्तर अग्रपंक्तिमा उहाँले यस विद्यालयलाई स्थापित गर्दै आउनुभएको छ । यतिबेला यो उत्कृष्ट नमुना शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ । राणाको अथक मिहिनेतले यो सम्भव भएको हो । उहाँले अन्य हजारौं संस्थागत विद्यालयका व्यावहारिक र नीतिगत समस्याको पैरवी पनि गर्दै आउनुभएको छ ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) मार्फत । उहाँ एन प्याब्सनको संस्थापक अध्यक्ष रहेर कार्य सम्पादन गर्नुभयो । उहाँले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट दोस्रो संविधानसभा सभासद (२०६९-२०७२) को प्रतितिधित्व गर्दै नेपालको संविधान २०७२ निर्माणमा समेत आफ्नो सक्रिय सहभागिता जनाउनुभयो । सफल शिक्षासेवी, शिक्षाविद्का साथसाथै राणाले खेल जगत् र समाजसेवामा पनि आफूलाई उत्तिकै सर्मपण गर्नुभएको छ । आदर्श र नैतिकतामा आधारित सम्मानजनक जीविकोपार्जन गराउने शिक्षा आजको आवश्यकता हो भन्नु हुने गीता राणासँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

यसपालिको एसइईको नतिजालाई कसरी लिनुभएको छ ?
यो जुन अवस्थामा आयो यसमा सन्तुष्टि लिनुपर्छ भन्छु म । विद्यार्थीले दुई वर्षसम्म राम्रोसँग पढ्न नपाएको अवस्थामा यो आएको हो । कोरोना महामारीका कारण अघिल्ला दुई शैक्षिक सत्रमा लिखित परीक्षा नभएपछि विद्यार्थीमा मनोवैज्ञानिक असर परेको थियो । गत वर्ष लिखित परीक्षा हुनु नै ठूलो कुरा थियो, परीक्षा हुन्छ कि हुन्न भन्ने अन्यौलकै बीचमा विद्यार्थी परीक्षामा सहभागी भएका थिए । शैक्षिक सत्र २०७६÷२०७७ मा कोरोना महामारी बढ्दै गएपछि विद्यालय क्वारेन्टिनका रूपमा प्रयोग भएका थिए । जसले गर्दा भौतिक उपस्थितिमा पढाइ, परीक्षालगायत शैक्षिक गतिविधि प्रभावित भएका थिए । ती दुई वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई शिक्षा विकास तथा समन्वय इकाइको सिफारिशको आधारमा परीक्षा नियन्त्रण कार्यालयले प्रमाणीकरण गरी एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

एसइईपछि यतिबेला विद्यार्थी राम्रो कलेज छान्ने चटारोमा छन् कसरी राम्रो कलेज छान्ने ?
कलेज छान्न विद्यार्थीले अभिभावकको साथ पनि लिनुपर्छ । मेरो छोराछोरीले छानेको कलेज ठीक छ कि छैन भनेर अभिवावक पनि चनाखो हुनुपर्छ । लहलहैमा लागेर कलेज छान्नु हुँदैन । विद्यार्थीको रुचि, चाहना, योग्यता, क्षमता, दक्षता र आफूले कुन विषयमा भविष्यमा राम्रो गर्न सक्छु भन्ने लाग्छ त्यही विषय छान्नुपर्छ । कलेज फ्रेन्डली छ छैन हेर्नुपर्छ । कलेजको रिजल्ट कस्तो छ त्यो पनि हेर्नुपर्छ । कलेजले ज्ञानलाई बुद्धि, विवेक र संस्कारसँग कतिको जोड्छ, सीप र प्रविधिसँग कसरी जोडछ त्यसलाई ध्यान दिनुपर्छ । यस्तै त्यहाँ अध्ययन गरिरहेका विद्यार्थी सन्तुष्ट छन् कि छैनन् त्यो पनि हेर्नुपर्छ ।

हाम्रा कलेजमा अस्वस्थ प्रतिस्पर्धा छ भन्ने गरिन्छ नि ?
मलाई के लाग्छ भने चाहिनेभन्दा बढी कलेज भएका कारण यस्तो भएको हो । कलेजलाई विद्यार्थी आवश्यक छ त्यसैले उनीहरूले अनेक प्रलोभन दिएर तान्ने गरेको पाइन्छ । कुन कलेजमा कति राख्ने भन्ने कोटा सिष्टम हुन जरुरी छ यसलाई रोक्नका लागि ।

नेपालको वर्तमान शिक्षालाई कसरी लिनुभएको छ, गुणस्तरी शिक्षा भएन भन्ने छ नि ?
देशको वर्तमान शिक्षा समयानुसारले परिवर्तन छ । वेष्टन प्रभाव पनि हाम्रो शिक्षामा परेको छ । डोनरमाथि डेपेन पनि भएको पाइन्छ हाम्रो शिक्षा । यसका केही सकारात्मक प्रभाव पनि रहेका छन् भने यसको नकारात्मक प्रभावमा हाम्रो परमपरागत शिक्षा प्रणालीलाई असर पु¥याएको छ । हामीले गुणस्तरीय शिक्षामा जोड दिनु आजको आवश्यकता हो । गुणस्तरीयताको परिभाषाभित्र अन्तर्राष्ट्रिय आवश्यकता, राष्ट्रिय आवश्यकताका विषय पर्दछन् । स्थानीय आवश्यकता पूर्ति गर्न सक्ने दक्ष जनशक्ति युरोप, अमेरिका नगइकन नै त्यतातिर गएकाहरूले भन्दा राम्रो आम्दानी आफ्नै भूमिमा बसेर गर्छन् । आधारभूत शिक्षाको विषयको विविधता रहनुुपर्छ । माध्यमिक कक्षादेखि विद्यार्थीहरूले आफूलाई रुचि लागेका विषयमात्र पढ्न पाउने व्यवस्था गरिनुपर्छ । राम्रो खेलाडी भएर गुणस्तरीय जीविका निर्वाह गर्नुका साथै सम्मान पनि आर्जन गर्न सकिन्छ भने विद्यार्थीले त्यस्ता विद्यार्थीले आफूलाई मन परेको कुनै खेललाई नै विषय बनाउन पाउनुपर्छ । साहित्य, संगीत, कला आदि विषयलाई व्यावसायिक विषयका रूपमा लिन सकिन्छ । सम्मानजनक रोजगारीका लागि सम्भावित विषयको पहिचान गर्नु पहिलो आवश्यकता हो । कुन-कुन क्षेत्रमा के-कति समयका लागि के-कति जनशक्तिको आवश्यकता पर्छ भन्ने तथ्यांक लिएर तद्नुसार जनशक्ति उत्पादन गर्ने योजना बनाउनुपर्छ । यस प्रकारको प्राविधिक वा व्यावसायिक शिक्षा स्वभावैले महँगो हुन सक्छ । यसका लागि राज्यले शैक्षिक ऋणको व्यवस्था गर्नुपर्छ । शुल्क बुझाउन नसक्ने असमर्थ अभिभावकका बालबालिकाको अभिभावकत्व राज्यले ग्रहण गर्नुपर्छ । लगानीको सुरक्षा दिने ग्यारेन्टीसहित निजी क्षेत्रलाई उत्प्रेरित गर्न सकिन्छ । आदर्श र नैतिकतामा आधारित सम्मानजनक जीविकोपार्जन गराउने शिक्षानीति हुनु आवश्यक छ ।

हाम्रो शिक्षा प्लस टु गराउने अनि बाहिर पठाउने भएको देखिन्छ नि ?
देशमै राम्रै गुणस्तरीय कलेज स्थापना भएका छन् । यही पनि धेरै राम्रो छ । तर पनि विद्यार्थीको एक किसिमको लहड नै छ विदेश जाने । यसमा देशको राजनीतिक कारण हुन सक्छ । फेरि अन्य देशमा शिक्षालाई इण्डष्ट्रिको रूपमा विकास गरेका छन् । उनीहरूले विभिन्न प्रलोभन र आकर्षक नारा दिएर प्रचारप्रसार गरेर विद्यार्थी तान्दै छन् । यसले हाम्रो देशको ठूलो धनराशी विदेशिएको छ । यसलाई रोक्न पहल गर्नुपर्छ । देशमै गुणस्तरीय शिक्षा रोजगारीको अवसर सिर्जना गर्न सम्बन्धित निकायले पहलकदमी लिन आवश्यक छ ।

नेपालको शिक्षा क्षेत्रमा ग्यालेक्सी पब्लिक स्कुलको योगदान कस्तो रहेको पाउनुहुन्छ, आफैँले मूल्यांकन गर्दा ?
यो अप्ठ्यारो प्रश्न हो । आफैँले आफैँलाई मूल्यांकन गर्नु भनेको गाह्रो काम हो । फेरि पनि हामीले गरेका काम र पु¥याएका योगदानको बारेमा मूल्यांकन भइरहेको हुन्छ । हामीले जब ग्यालेक्सी पब्लिक स्कुल सञ्चालनमा ल्याऔं त्यसबेला एउटा पाठ्यक्रममा आधारित भएर पढाउनुपर्ने थियो । हामीले पाठ्यपुस्तकमा मात्र आधारित नभएर अरू थुप्रै क्रियाकलाप पनि थप्यौ । ग्यालेक्सीलाई चिन्ने माध्यम भनेको नै किताबबाट मात्र नपढाएर अरू क्रियाकलाप पनि गरेर विद्यार्थीलाई सक्षम बनाएका थियौ त्यो बेला । त्यसपछि मैले अतिरिक्त क्रियाकलापलाई अतिरिक्तको रूपमा नराखेर अनौपचारिक शिक्षाको रूपमा राख्यौ । यसले विद्यार्थीलाई आफूमा भएको क्षमतालाई पहिचान गर्न सहयोग पुग्यो । धेरै विद्यार्थी त्यही पहिचानको कारणले गर्दा धेरै राम्रो ठाउँमा पुग्न सफल भएका छन् । मलाई के लाग्छ भने विद्यालयमा गुणस्तरीयता छ वा छैन भनेर थाहा पाउन त्यो विद्यालयमा पढेका विद्यार्थीले सही रूपमा आफ्नो जीवनयापन गर्न सकेको छ कि छैन भन्ने हेर्नुुपर्ने हुन्छ । यदि विद्यार्थीले सही रूपमा आफूलाई बजारमा प्रयोग गर्न सकेका छन् भने त्यहाँ गुणस्तरीयता छ, सकेका छैनन् भने गुणस्तरीयता छैन भन्ने बझिन्छ । यसका साथै विद्यालयको शिक्षा तथा कामप्रति अभिभावक तथा विद्यार्थी सन्तुष्ट छन् भने विद्यालयमा गुणस्तरीयता छ भन्न सकिन्छ । गुणस्तरीयता समयसापेक्ष रूपमा परिर्वतन हुने गर्दछ । विद्यार्थी तथा अभिभावकको रुचि तथा चाहना समयानुसार परिवर्तन हुने गर्दछ । त्यही अनुसार शिक्षामा पनि परिर्वतन हुनुपर्छ, जुन परिर्वतन यस विद्यालयले स्वीकार गर्न सकेको छ ।

यहाँ लामो समयदेखि शिक्षामा समर्पित हुनुहुन्छ, कसरी लिनुहुन्छ यो समयलाई ?
मेरो जीवनको महत्वपूर्ण समय शिक्षामा समर्पण गरे । यो क्षेत्रमा लाग्दा मैले आफैँलाई धेरैपल्ट बिर्सिएकी छु । शिक्षा नै मेरो जीवनको पहिलो र अन्तिम लक्ष्य हो । शिक्षा प्रत्येक नागरिक, नागरिक समाज र राष्ट्रको मेरुदण्डमात्र होइन मस्तिष्क र प्राणसमेत हो । मैले यस विश्वासलाई यथासम्भव मूर्तरूपमा व्यवहारमा उतार्न प्रयत्न गरेकी छु ।

अन्त्यमा
शिक्षा सर्वसुलभ हुनुपर्छ । मास एजुकेसनमा जोड दिनुपर्छ । अनावश्यक प्रतिस्पर्धालाई रोक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?