विद्यार्थीलाई बढी डर देखाउनु हुँदैन

Read Time = 6 mins

काठमाडौं । नेपाली रजतपटकी लोकप्रिय अभिनेत्री करिश्मा मानन्धरले २०७६ सालको एसइईमा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण हुनुभयो । एसइईमा तीन जिपिए प्राप्त गर्नुभएकी करिश्मा अहिले ब्याचलरमा अध्ययनरत हुनुहुन्छ । करिश्माले विद्यार्थीलाई एसइईबारे ठूलो डर दिन नहुने बताउनुभयो । विद्यालयमा वर्षभरि पढेकै कुरा परीक्षामा आउने भएकाले परिवार, समाज तथा विद्यालयबाटै अनावश्यक डर पैदा गर्दा विद्यार्थीको मनोबल घट्नसक्ने उहाँको अनुभव छ । ‘एसइई भनेको निकै गाह्रो हो भनेर डर देखाउन थालियो भने विद्यार्थीको मनोबल झन् खस्किन्छ । त्यसैले जसरी विद्यालयभित्रको आन्तरिक परीक्षा दिन लगाइन्छ त्यही रूपमा लिइयो भने त्यस्तो गाह्रो कुरा होइन’, करिश्माले हिमालय टाइम्ससँग भन्नुभयो, ‘विद्यार्थीलाई अभिभावकसँगै विद्यालयबाटै डर पैदा गर्नुभन्दा सहज वातारण बनाइदिनुपर्छ । एसइई महत्वपूर्ण हो तर बाहिर जुन किसिमको डर, हल्ला हुन्छ त्यो किसिमको गाह्रो छैन । आन्तरिक परीक्षा दिएजस्तै हो, फरक यत्ति हो कि परीक्षा केन्द्र फरक हुन्छ ।’

अभिनेत्री करिश्माले तीन वर्षअघिको एसइई अनुभव भने आफ्ना लागि फरक रहेको सम्झिनुभयो । अन्य विद्यार्थीका लागि भन्दा आफ्ना लागि उमेरको हिसाबले धेरै नै नयाँ अनुभव भएको उहाँको भनाइ छ । अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, ‘परीक्षामा आउने प्रश्न र दिने उत्तरहरूको अनुभव त अरू विद्यार्थीको जस्तै होला तर मेरो उमेरको हिसाबले निकै फरक अनुभव भयो । यो उमेरमा आएर साना विद्यार्थीसँग बसेर पढेर परीक्षा दिँदा नयाँ अनुभव गर्न पाएँ । साथै मैले यो उमेरमा आएर एसइई दिँदैछु त्यसैले पास गर्नै पर्छ भन्ने एक किसिमको अप्ठ्येरो पनि थियो, त्यसले गर्दा अनुभव स्मरणीय रहृयो ।’

अभिनेत्री करिश्माले पाको उमेरमा एसइई दिँदा आफूलाई कत्ति पनि लाज नलागेको बताउनुभएको छ । कुनै राम्रो कामका लागि तल झर्न आफूलाई लाज नलाग्ने उहाँको भनाइ छ । ‘यदि मैले राम्रो काम गर्दैछु भने म थोरै तल झर्न मलाई कुनै अप्ठ्यारो, लाज लाग्दैन’, करिश्माले भन्नुभयो, ‘बरू मेरो कदमलाई देखेरे कतिपयले सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेको देखेँ । उहाँहरू बरू मेरो कदमदेखेर लाज मानेको पाएँ ।’ साथै उहाँले सानो उमेरका विद्यार्थीसँग बसेर पढ्नुभयो, परीक्षा पनि दिनुभयो, ती उमेर-वर्गका विद्यार्थीले एसइई बारे कत्तिको ‘भाष्ट’ रूपमा सोच्दा रहेछन् भन्ने प्रश्नमा भन्नुहुन्छ, ‘एसइई दिने उमेरका विद्यार्थी पढाइमा मात्र फोकस भइरहेका हुन्छन् । शतप्रतिशत पढाइमा ध्यान भएकाले परीक्षा भनेको कस्तो हुन्छ होला भन्ने डर त मान्दैनन् । तर एसइईभन्दा अगाडि आन्तरिक परीक्षा मात्र दिइरहेका र एसइईमा अर्कै विद्यालयमा गएर परीक्षा दिनुपर्ने भएकाले के होला, कसो होला भन्ने सोचेको पाएँ ।’

करिश्माले उमेर धेरै भयो भनेर विद्यालय जान लाज मानेर घरमै बस्ने महिलाका लागि एकपटक आफ्नो बारेमा सोच्न अनुरोध गर्नुभयो । महिलाहरूले अधिकांश समय अरूका लागि सोचेको र आफ्ना लागि पनि सोच्नुपर्ने उहाँको धारणा छ । ‘महिला दिदीबहिनीले अधिकांश समय आफ्नो परिवार, बालबच्चा भनेर समय बिताउनुहुन्छ’ उहाँले भन्नुभयो, ‘आफ्ना लागि पनि सोच्नुपर्छ । आफ्नो जीवनका लागि के गर्न सकेँ त्यो सोच्नुजरुरी छ । पढाइलाई उमेरले छेक्दैन, कुनै अप्ठ्यारो नमानी पढ्न अनुरोध गर्छु ।’ संख्यात्मक हिसाबमा शिक्षित महिलाहरूको संख्या कम भएकाले जुनसुकै उमेरका दिदीबहिनीलाई पढ्न अनुरोध गर्नुभयो । जीवनमा शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै कसैसँग लाज, डर मान्न नहुने बताउनुभयो । उहाँले अहिले विभिन्न कार्यक्रममा पुग्दा आफ्नो अनुभव पनि साट्ने गर्नुभएको छ । जसले गर्दा अरूलाई प्रेरणा मिलोस् । प्रस्तुतिः गोपिकृष्ण चापागाई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?