चार जिपिए ल्याउने विवेकले रोजे सामुदायिक विद्यालय

हिमालय टाइम्स
Read Time = 4 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । सामुदायिक विद्यालयतर्फबाट रुपन्देही जिल्लामै एक मात्रै चार जिपिए प्राप्त गर्ने विवेक न्यौपाने कालिका मानव ज्ञान मविका मेधावी छात्र हुनुहुन्छ । बुटवल उपमहानगरपालिका-९ मिलनचोकका न्यौपानेका बुबा गणेश न्यौपाने उद्यमी हुनुहुन्छ भने उहाँकी आमा गीता न्यौपाने निजी विद्यालयमा अध्यापन गराउँदै आउनु भएको छ । उहाँका बुबाले मिल सञ्चालन गर्दै आउनुभएको छ ।

परिवारका जेठो सन्तान हुनुहुन्छ उहाँ । बहिनी विनिता न्यौपाने कालिका मावि कक्षा नौ मा अध्ययनरत हुनुहुन्छ । विवेकले विज्ञान संकायबाट उच्च शिक्षा हासिल गर्ने लक्ष्यले सोही विद्यालयमा अध्ययन गर्ने निर्णय गर्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले चार जिपिएसहित विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै गुणस्तरलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामुदायिक विद्यालयकै नेतृत्व गर्दै चार जिपिएसहित कालिका मानवज्ञान माविले सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ । कोरोना महामारीलगायत विभिन्न समस्या र चुनौतीबीच विद्यालयले सर्वोत्कृष्ट नतिजासहित विद्यालयको गुणस्तरलाई निरन्तरता दिएको छ ।’

पूर्वप्रअ घनश्याम पाठकले कालिकाले सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण नै परिवर्तन गरेको बताउनुभयो । ‘सामुदायिक विद्यालयहरू कमजोर हुन्छन्, शिक्षकहरू दक्ष हुँदैनन् र विद्यार्थीहरू उत्कृष्ट हुँदैनन् भन्ने नकारातमक सोँच आएको अवस्थामा त्यो सोँचमा कालिकाले परिवर्तन ल्याएको छ । हाल देशमै धेरै विद्यार्थी र उत्कृष्ट विद्यालय बन्न सफल कालिकामा अध्ययनरत विद्यार्थीले गर्वले विद्यालयको नाम लिन सक्छन्’, उहाँले भन्नुभयो ।

त्यसैगरी बुटवल उपमहानगर-१० का वडाध्यक्ष बलबहादुर पुनले मुलुककै उत्कृष्ट विद्यालय रहेको वडाको वडाध्क्ष हुनुमा गौरवान्वित भएको बताउँदै विद्यालयका हरेक गतिविधि आफ्नो प्राथमिकतामा पर्ने बताउनुभयो । विद्यालय व्यवस्थपन समितिका अध्यक्ष होमबहादुर गलामीले विद्यार्थीले प्राप्त गरेको सफलताले नै विद्यालय सफल भएको बताउँदै उत्तीर्ण विद्यार्थी, अभिभावक, शिक्षक, समुदायलगायत सबैको प्रयासले निरन्तर विद्यालय सफल भएको बताउनुभयो ।

यस वर्षको एसइई परीक्षामा ६०६ जना विद्यार्थी सहभागीमध्ये ६७ जना विद्यार्थीले ३.६ देखि जिपिए ४ सम्म प्राप्त गरेको विद्यालयका शिक्षक तथा कक्षा १० संयोजक सुदर्शन रेग्मीले बताउनुभयो । विवेक न्यौपानेलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमबीच न्यौपानेसहित सो विद्यालयबाट एसइई उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?