छोराछोरीले विदेशको पिआर पाए भनेर गर्व गर्नु दुर्भाग्य, रमेशकुमार सिलवाल, अध्यक्ष, हिसान

लेखनाथ पोखरेल
Read Time = 17 mins

नेपालका शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप छ नि ?
त्यस्तो पनि होइन । तर, समस्याचाहिँ छ । अहिले वार्षिक करिब पाँच लाख युवा श्रम बजारमा आउँछन् । दुई प्रतिशत सरकारी निकायमा जान्छन् भने आठ प्रतिशत जनशक्ति निजी क्षेत्रले लिन्छ । भनेपछि साढे चार लाख त बेरोजगार हुने भए । साढे चार लाख जनशक्तिले केही न केही काम गर्नुपर्‍यो, कि उद्यमी बन्नुपर्‍यो, कि व्यवसायी बन्नुपर्‍यो । त्यो सम्भव नहुने धेरै विदेशिने गरेका छन् । हुनेखाने अमेरिका, अस्ट्रेलिया, युरोपतिर गएका छन्, अलि कमजोर खाडीतिर गएका छन् । राज्यले रोजगारी सिर्जना गर्न नसकेका कारण यस्तो भएको हो । हाम्रा युनिभर्सिटीले उत्पादित विद्यार्थीलाई उद्यमी व्यवसायी बनाउन नसकेको अवस्था हो । अर्को कुरा, हाम्रोमा कन्फिडेन्ट पनि छैन । मास्टर्स पास गरेको विद्यार्थीसँग पनि त्यो कन्फिडेन्ट छैन । पढेको छ तर मैले पढेको विषयमा यस्तो काम गर्छु भन्ने कन्फिडेन्ट छैन । त्यो कन्फिडेन्ट हामीले पनि विद्यार्थीमा भर्न सकेनौँ । यस्ता कारणले पनि शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना हुन् कि भन्ने लाग्यो । समग्रमा तपाईंलेउठाएको प्रश्नमा केही सत्यता नभएको होइन तर राम्रा कलेजका विद्यार्थीलाई लिन रोजगारदाता कलेजमै आउने गरेका उदाहरण पनि छन् । मैले ब्याचलर्स र मास्टर्सको सर्भे गरेको थिएँ, ९८ प्रतिशत विद्यार्थी कुनै न कुनै क्षेत्रमा आबद्ध छन् । बजारको मागअनुसारको जनशक्ति उत्पादन गर्‍यो भने त्यो जनशक्ति बिक्री हुन्छ ।

अहिले मागअनुसारको जनशक्तिको उत्पादन छ त ?
एकदमै कम छ, रोजगारदाताले खोजेको जस्तो मान्छे नपाउने, राम्रो जनशक्ति पनि प्राप्त नहुने अवस्था छ । फेरि उपलब्ध जनशक्तिलाई खोजेको जस्तो जिम्मेवारी दिन नसक्ने समस्या पनि छ । जुन हाम्रा लागि ठूलो चुनौती बनेको छ ।

पछिल्लो समय स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने शैक्षिक संस्था खुलेका छन् तर पनि अध्ययनकै लागि विदेशिनेको संख्या बढ्दोक्रममा रहेको छ नि ?
यस्तो हुनुको मुख्य कारण भनेको हाम्रा युनिभर्सिटीहरूले आफ्ना कोर्सको मार्केटिङ गर्न नसक्न्नु हो । जसका कारण हाम्रा विद्यार्थीमाथि विश्वास गर्ने आधार तयार भएन । विद्यार्थीको खाँचो नहुने हार्वर्ड, क्याम्ब्रिज, एमआइटी जस्ता युनिभर्सिटीहरू वल्र्डवाइड मार्केटिङमा निस्किन्छन् तर हाम्रो केही छैन । कोरोनापछि त अझै ती युनिभर्सिटीले फेस टु फेस क्लासमात्र नभई सर्ट टर्म वा लङ टर्म अनलाइन कोर्स सञ्चालन गर्छौँ, विश्वभरका कोही यस्तो यो कोर्स लिन चाहनुहुन्छ भने पैसा तिर्नुस्, ज्वाइन गर्नुस् भन्न थालेका छन् । अर्को कुरा, हाम्रा युनिभर्सिटीको क्यालेन्डर नै छैन, विश्वमा हरेक युनिभर्सिटीको क्यालेन्डर हुन्छ । यो मितिमा आवेदन फर्म खुल्छ, यो मितिमा प्रवेश परीक्षा हुन्छ, यो मितिमा रिजल्ट हुन्छ, यो मितिसम्म भर्ना भइसक्नुपर्छ, यो मितिदेखि क्लास सुरु हुन्छ, यो-यो मितिमा परीक्षा हुन्छ र समयमै परीक्षाको परिणाम निस्किन्छ भन्ने कुरा युनिभर्सिटीले क्यालेन्डर देखाउनुपर्ने हुन्छ तर हाम्रोमा खोई ∕ छ महिनामा सक्नुपर्ने कोर्स दुई वर्षमा पनि सकिँदैन भने विद्यार्थीले कसरी विश्वास गर्ने, कति कुरिरहने ?

हाम्रा युनिभर्सिटीलाई कसरी सुधार्ने त ?
युनिभर्सिटीहरूलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्‍यो, युनिभर्सिटीमा बन्द हड्ताल नहुने वातावरण सिर्जना गर्नुपर्‍यो । जसका लागि सबै राजनीतिक पार्टी र राजनीतिक पार्टीका भ्रातृ संगठनसमेतले कमिटमेन्ट गर्नुपर्‍यो । प्राध्यापक, कर्मचारीले पनि कमिटमेन्ट गर्नुप¥यो । किनभने विद्यार्थीको भविष्य र अभिभावकको लगानी खेर फाल्ने छुट कसैलाई छैन । अर्को कुरा, हामीले करिकुलममा पनि परिवर्तन गर्नुपर्‍यो, करिकुलमात्र नभई टिचिङ, लर्निङ सिस्टममा पनि परिवर्तन गर्नुपर्‍यो, विश्वस्तरीय शिक्षा दिन सक्नुपर्‍यो । त्यसो त केही-केहीमा परिवर्तन पनि देखिन थालेको छ । तुलनात्मकरूपमा हेर्दा आंगिक क्याम्पस, सामुदायिकभन्दा निजी क्याम्पसको परिणाम राम्रो पनि छ ।
हाम्रो रिजल्टमा पनि सुधार गर्नुपर्नेछ । हाम्रो टोलट रिजल्ट ३० प्रतिशत पनि पुगेको छैन । ३० प्रतिशतमध्ये निजी क्षेत्रका कलेजको रिजल्ट न्यूनतम पनि ६० प्रतिशतभन्दा घटी छैन तर सरकारी, सामुदायिक कलेजको अवस्था भने एकदमै नाजुक छ । त्यसको जिम्मेवारी लिनुपर्दैन ∕ राम्रो गर्नेलाई पुरस्कृत गर्नुपर्‍यो, १० प्रतिशत विद्यार्थी पास गर्न नसक्नेलाई दण्ड-सजायको पनि व्यवस्था हुनुपर्‍यो नि ? यस्ता कुरा हाम्रोमा भइदिएन । विद्यार्थीले पढे पनि हुने, नपढे पनि हुने, टिचरले पढाए पनि हुने, नपढाए पनि हुने देखिएको छ । युनिभर्सिटीको त्यतातिर ध्यान नै पुगेन । जहाँ बढी ध्यान पुगेको छ, त्यहाँको रिजल्ट पनि राम्रो आएको छ । जस्तै, काठमाडौं युनिभर्सिटीको तुलनात्मकरूपमा बढी ध्यान पुग्यो, त्यहाँको रिजल्ट अरू युनिभर्सिटीभन्दा राम्रो छ । अरू युनिभर्सिटीले पनि त्यो किसिमको पहल गर्नुप¥यो । अनुगमन हुनुपर्‍यो, मूल्यांकन हुनुपर्‍यो । मूल्यांकन हुने पनि एउटा विधि र प्रक्रिया हुनुपर्‍यो । प्राइभेटमा पनि केही कमीकमजोरी भए सुधार गर्न लगाउनुपर्‍यो । राम्रो गर्नेलाई धन्यवाद दिनुपर्‍यो । समस्याको अर्को पाटो पनि छ । मुख्य गरी राजनीतिक पार्टीका नेता र पार्टीहरूका भ्रातृ संगठनहरूले हाम्रा युवाहरूमा ऊर्जा थप्ने काम गर्नै सकेनन् । आफ्नै देशलाई स्वर्ग बनाउने हो, अर्काको देशमा गएर दोस्रो दर्जाको नागरिक हुनुभन्दा आफ्नै देशमा पहिलो दर्जाको नागरिक भएर धेरै गर्न सकिन्छ भन्ने त्यो ऊर्जा र आत्मविश्वास सरकार तथा राजनीतिक नेताहरूले दिन सकेनन् ।

यसमा विद्यार्थी र अभिभावकचाहिँ कत्तिको दोषी छन् ?
उनीहरू पनि दोषी छन् । हाम्रा अभिभावक विद्यार्थीको मानसिकता पनि के छ भने छोराछोरी विदेश गएर पढ्यो भने उसको स्ट्याटस बढ्छ भन्ने छ तर त्यस्तो होइन, विदेश गएर पढ्दैमा स्ट्याटस बढ्दैन । किनभने बाहिर जाने ६० प्रतिशतभन्दा बढी विद्यार्थीले कोर्स नै पूरा गरेका हुँदैनन् । खाली त्यो देशको भिसा लगाउनका लागिमात्रै भर्ना हुने हुन् । ८० देखि ९० प्रतिशत विद्यार्थी फर्केरै आउँदैनन् । अनि अभिभावक भन्छन्, ‘मेरा छोराले पिआर पायो, मेरी छोरीले पिआर पाई, उतैको सिटिजनसिप पाए, उनीहरू त त्यो देशको नागरिक बने’ भनेर गर्व गर्छन् । तर, विदेशमै गए पनि त्यहाँ संकट आयो भने फेरि फर्किएर आउने त यहीँ हो नि ∕ त्यतिबेला आफ्नै देश सम्झिन्छन् । पछिल्लोपटक रुस-युक्रेन युद्धका कारण युक्रेनबाट धेरै नेपाली फर्किनुपर्‍यो । विगतमा अन्य मुलुकमा संकट आउँदा पनि नेपालीहरूको सुरक्षित गन्तव्य आफ्नै देश हो । त्यसैले राष्ट्र संवेदनशील हुनुपर्छ, हाम्रो सरकारले हाम्रा युनिभर्सिटीलाई बलियो बनाइदिए पुग्छ, हाम्रा विद्यालयलाई बलियो बनाइदिए पुग्छ । निजीलाई वातावरण बनाइदिए पुग्छ, निजी आफैं प्रतिस्पर्धी हुन सक्छ । सरकारी शिक्षण संस्थामा पढाइ राम्रो नहुने, निजी महँगो हुने भएपछि कमजोर आर्थिक अवस्थाका विद्यार्थी त मर्कामा पर्ने भए नि ? निजी शिक्षाले राज्यको सिंगो जिम्मेवारी संसारमा कहीँ पनि लिन सक्दैन, निजी भनेको त व्यक्तिको लगानीको हो नि ∕ सरकारले त निजीमा लगानी गरेको हुँदैन । त्यसैले तुलनात्मकरूपमा निजी महँगो नै हुने भयो । तथापि समग्रमा भन्नुपर्दा विश्वको सबैभन्दा सस्तो शिक्षा नेपालमा रहेको छ । हाम्रा अभिभावकको क्रयशक्ति नभएर महँगो हुन गएको हो । निजी शिक्षण संस्थाले पनि १० प्रतिशतलाई छात्रवृत्ति दिने गरेका छन् । तथापि विश्वमा कतै पनि निःशुल्क शिक्षा सम्भव छैन । हिजो गुरुकुल शिक्षा त निःशुल्क थिएन, राम्रो शिक्षादीक्षाका लागि गुरुलाई खुसी बनाउनुपथ्र्र्यो, गुरुदक्षिणा चढाउनुपथ्र्यो । तर पनि सरकारले घरजग्गालगायतको भौतिक पूर्वाधारको व्यवस्था गरिदिए हामी प्रतिविद्यार्थी ५० हजार रुपैयाँ सस्तो गर्न सक्छौँ । हाल सरकारको प्रतिविद्यार्थी खर्च कति छ, त्यो खर्च दिएमा हामी सहुलियत शुल्कमै शिक्षा दिन सक्छौँ । विद्यालय, कलेज भवनलगायत अन्य भौतिक पूर्वाधारको भाडा महँगो पर्ने भएकाले पनि निजी शिक्षा केही महँगो पर्न गएको छ ।

आफ्नै गोल्डेन गेट कलेजबारेमा बताइदिनुस् न ?
गोल्डेन गेट कलेज आजभन्दा १७ वर्षअघि स्थापना भएको हो । जसलाई हामीले एक दशकभित्र विश्वविद्यालय बनाउने लक्ष्यका साथ सुरु गरेका थियौँ । विभिन्न कलेजमा कार्यरत शिक्षासेवीसमेत हामी ५० जना मिलेर यो कलेज स्थापना गरेका हौँ । २७ जना त पिएचडी साथीहरू नै हुनुहुन्छ ।

हाल विश्वविद्यालयको प्रक्रिया कहाँ पुगेको छ ?
हाम्रो लक्ष्य, उद्देश्य त्यही थियो, त्यही भएर हामीले विश्वविद्यालयको प्रारूप तयार गर्‍यौँ तर नेपाल सरकारको नीति कानुनमा प्राइभेट युनिभर्सिटीको व्यवस्था नभएकाले थप प्रक्रिया अघि बढ्न सकेको छैन । हामी त्यही ऐन, कानुन कुरेर बसेका छौँ । हाम्रो कलेज आइएसओ सर्टिफाइड प्राइभेट क्षेत्रको सबैभन्दा ठूलो कलेज पनि हो । मास्टर्स सात, ब्याचलर १८, प्लस टु तीनवटा छन् । उत्कृष्ट पूर्वाधारमा आधारित भएर नेपालमा गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ हामी अघि बढेका छौँ । परिणामले पनि त्यस्तै देखाइरहेको छ ।

गोल्डेन गेटअन्तर्गत अन्य कलेज पनि छन् कि ?
गोल्डेन गेट भन्दा पनि हाम्रो नेटवर्कअन्तर्गत अन्य दुईवटा कलेज सञ्चालनमा छन् । एड्भान्स इन्जिनियरिङ कलेज र कसमस इन्जिनियरिङ कलेज सञ्चालनमा रहेका छन् । किनभने हाम्रो ऐन कानुनले पनि हामीलाई शाखा खोल्न दिँदैन, शाखा खोल्ने हाम्रो योजना पनि छैन । तथापि कलेजकै लागि हामीले जग्गा लिएका छौँ, निकट भविष्यमै पूर्वाधार निर्माण गरेर सर्ने प्रक्रियामा भने छौँ ।

गोल्डेन गेटमा कोर्सबाहेक के-कस्ता अतिरिक्त क्रियाकलाप सञ्चालनमा छन् ?
खेलकुद, कथा, कविता, गीतसंगीत, लिडरसिप म्यानेजमेन्ट, उद्घोषण कलालगायतका कार्यक्रम सञ्चालनमा रहेका छन् । विद्यार्थीको स्वास्थ्य सेवाका लागि बिहानदेखि बेलुकासम्म डाक्टर नर्सको सुुविधा छ । वर्षको दुईपटक अनिवार्य चेकअप गर्नुपर्ने हुन्छ । त्यस्तै हामी भोलिन्टियर्स सेवा पनि सञ्चालन गर्छौँ । सुविधासम्पन्न लाइब्रेरीको व्यवस्था छ । लाइब्रेरीमा १५ हजार पुस्तक छन् । इ-लाइब्रेरीको सुविधा पनि छ, इ–लाइबेरी विद्यार्थीले जहाँबाट पनि पढ्न सक्छन् । त्यस्तै प्रपोजल खेलन, सिवी राइटिङ, म्यानेजमेन्ट तालिम पनि हुन्छ ।
समाज र जीवनसँग नजोडिएको शिक्षा काम छैन । त्यसैले ब्याचलर, मास्टर्स पास गरेको विद्यार्थीले राम्रो प्रपोजल ल्यायो र ऊ उद्यम व्यवसाय गर्न चाहन्छ भने हामी पूर्णरूपमा सहजीकरण पनि गरिदिन्छौँ । फाइनान्सिङलगायत हामी आफैं पनि पार्टनरसिपमा लगानी गर्छौँ भनेर हामीले घोषणा नै गरेका छौँ । धेरैजना विद्यार्थी उद्यमशील पनि बनेका छन् । सरकारीभन्दा प्राइभेटमा काम गर्न चाहनेको संख्या बढी छ । प्रस्तुति : लेखनाथ पोख्रेल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?