देश सुहाउँदो शिक्षा नीति नहुँदा बेरोजगारी बढ्यो : डा. राजेन्द्र केसी

लेखनाथ पोखरेल
Read Time = 14 mins
A A- A+

साउथ वेस्टर्न स्टेट कलेजका बारेमा बताइदिनुस् न ?
हाम्रो कलेज २०६६ सालमा स्थापना भएको हो । त्यतिबेला हामीसँग स्कुलको प्रोग्राम थिएन, प्लस टु प्रोग्राममात्रै थियो । तर, हाल हाम्रोमा स्कुल प्रोग्रामसँगै प्लस टुमा साइन्स, म्यानेजमेन्ट, हृयुमानिटिज, ल प्रोग्राम रहेका छन् भने ब्याचलर्समा बिसिए, बिबिएम, बिएसडब्लु, बिए र मास्टर्समा एमबिएस, एमइइन इंग्लिस प्रोग्राम रहेका छन् । समग्रमा भन्नुपर्दा हाम्रोमा प्ले ग्रुपदेखि मास्टर्ससम्मका प्रोग्राम सञ्चालनमा रहेका छन् । प्लस टुसम्म हाम्रो आइएसओ सर्टिफाइड कलेज हो । ब्याचलरभन्दा माथिका प्रोग्रामका लागि भने युनिभर्सिटी अफ ग्रान्ड कमिसनले दिने सर्टिफिकेट प्रक्रियामा रहेको छ ।

विद्यार्थी संख्याचाहिँ कति हो ?
विद्यार्थी संख्या करिब दुई हजार सात सय रहेको छ । १० क्लास र ११, १२ क्लासका कोर्स नेपाल सरकारको करिकुलमअनुसार र ब्याचलर्सभन्दा माथिका कोर्स त्रिभुवन विश्वविद्यालयको करिकुलमअनुसार नै छ । हाम्रोमा पासआउट रेसियो ९८ प्रतिशत रहेको छ भने हाम्रा विद्यार्थी संसारका ८० देशमा अध्ययन र रोजगारीका लागि जाने गरेका छन् । आफ्नै देशमा उद्यमी र स्टार्टअपका कार्यक्रम सञ्चालन गर्ने विद्यार्थी पनि छन् ।

सरकार र विश्वविद्यालयका कोर्स विद्यार्थीका लागि पर्याप्त छन् ?
त्यतिले मात्रै पुगेको छैन, किनभने अहिले पनि हाम्रो देशको शिक्षा पुरानो ढंगले चलिरहेको अवस्था छ । करिकुलमहरू मुलुकको आवश्यकता र स्रोतसाधनमा आधारित हुनुपर्ने थियो तर त्यस्तो भएन । सोही कारण हामी एकेडेमिकरूपमा विद्यार्थीलाई सक्षम बनाउने एउटा मोडलअनुसार हामी अघि बढेका छौँ भने अर्कातर्फ विविध अतिरिक्त क्रियाकलापमार्फत् व्यावहारिक शिक्षा पनि प्रदान गरिरहेका छौँ । जसअन्तर्गत विद्यार्थीले आफूभन्दा सिनियर र आफूभन्दा जुनियरसँग गर्ने व्यवहार, सोसाइटीसँग गर्ने व्यवहार र अध्ययनपछि काम गर्न सक्षम बनाउने भन्ने नै हो । स्कुल र युनिभर्सिटी एजुकेसन भनेको पासआउटपछि संसारका कुनै पनि युनिभर्सिटीमा अध्ययन गर्न सक्ने, संसारका कुनै पनि क्षेत्रमा काम गर्न सक्ने हुनुपर्छ । हामीले सोहीअनुसारका कार्यक्रम सञ्चालन गरेका छौँ । मुख्य कुरा, शिक्षा भनेको कामकाजसँग जोडिनुपर्छ । जतिसुकै पढे पनि पढेपछि त सबैले काम गर्नुपर्ने हुन्छ ।

शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने कारखाना हुन् भन्ने आरोप छ नि ?
हुन त सरकारलाई गाली गरेजस्तो होला तर वास्तविकता लुकाउन सकिँदैन, वास्तविकता त्यही नै हो । नेपालको तथ्यांकलाई हेर्ने हो भने पनि दुई करोड ९२ लाख जनसंख्या रहेको छ । ८० लाख युवा नेपालबाहिर छन् । कोही पढ्न गएका छन्, कोही काम गर्न गएका छन्, जे गर्न गएका भए पनि उनीहरू नेपालमा खुसी नभएरै गएका होलान् । भोलि उनीहरूले आफ्ना आमाबाबुलाई पनि उतै लिएर जान्छन् । यस्तै अवस्था रहृयो भने नेपालको जनसंख्या नै रित्तिन समय लाग्दैन ।

नेपाल सरकारले २०६५ सालमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर, प्रभावकारी देखिएको छैन । युवा स्वरोजगार कार्यक्रमअन्तर्गत पाँचखम्बे नीति अवलम्बन गरिएको छ । यो देशका युवालाई स्वरोजगार बनाउने, उद्यमशील बनाउने, स्टार्टअप बनाउने, शारीरिक, मानसिक, बौद्धिक, खेलकुदलगायत सबै पक्ष समेट्ने भनिएको छ । १० वर्षे उक्त परियोजनामा अब दुई वर्षमात्रै बाँकी छ तर केही नभई सकिने भयो । पछिल्लो समय सरकारले १० हजार नर्सलाई बेलायत लैजाने भनेर सम्झौता गर्‍यो तर हाम्रो देशबाट १० हजार नर्स रित्तिए भने देशको स्वास्थ्य अवस्था के होला ∕ त्यसैले, हाम्रो देशका सबै ११ वटा युनिभर्सिटी, चार डिन युनिभर्सिटी, करिब ३७ सय कलेज र करिब ३८ लाख स्कुलबाट सर्टिफिकेटमात्रै बाँड्ने काम भएको छ तर त्यो सर्टिफिकेटले काम गरेको छैन । त्यसैले हामी के गरिरहेका छौँ भने सरकारले व्यवस्था गरेको सर्टिफिकेटलाई फर्मल एजुकेसन डिग्री मान्दै विद्यार्थीलाई आफ्नो कार्यक्षेत्रमा सक्षम बनाउन इनफर्मल एजुकेसन डिग्रीका लागि थप अतिरिक्त कार्यक्रम सञ्चालन गरेका हौँ । शिक्षालाई इनकमसँग जोड्नुपर्छ भनेर हामीले विद्यार्थीलाई लाइफसँग जोडेर यो देशको एग्रिकल्चर, टुरिजम, हाइड्रो, कम्युनिटी, सोसाइटी, व्यक्ति र रिसोर्ससँग जोडेर शैक्षिक कार्यक्रम अघि बढाएका छौँ, हाम्रो अबको आवश्यकता पनि यही नै हो ।

भनेपछि अन्य क्षेत्रजस्तै शिक्षा यथास्थितिवादको सिकार भएको छ ?
हो, अझै पनि हाम्रो देशको सरकार, नीति निर्माता, विश्वविद्यालय, हामीजस्ता शैक्षिक संस्था सञ्चालकहरू अलमलमा छन् । शिक्षा भनेकै राम्रो ग्रेड ल्याउनु हो भन्ने मानसिकता रहेको छ । त्यसैगरी हाम्रोमा अमेरिका, युकेको जस्तो ब्याचलरको करिकुलम छ भन्ने पनि अलमल छ । किनभने अमेरिका, युकेको जस्तो करिकुलम हामीले यहाँ लागू गर्ने होइन, त्यस्ता करिकुलम नेपालसँग मेल खाँदैनन् । किनभने अमेरिकाभन्दा हामी तीन-चार सय वर्ष पछाडि छौँ, युकेभन्दा दुई-तीन सय वर्ष पछाडि छौँ, युरोपभन्दा करिब दुई सय वर्ष पछाडि छौँ । त्यसैले हाम्रो करिकुलम हाम्रो देश सुहाउँदो हुनुपर्छ । आफ्नो देशको स्रोतसाधन र आवश्यकतालाई हेरेर करिकुलम बनाउनुपर्छ । आफ्नो देश बनाउने खालको शिक्षा नीति हुनुपर्‍यो नि ∕ युनिभर्सिटी भनेको त सम्बन्धित देशका लागिमात्रै हुँदैन, अरू देशका विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्‍यो, इन्टरनेसनल प्रोफेसरहरू यहाँ जबका लागि आउने अवस्था हुनुपर्‍यो । नेपालको भौगोलिक बनावट र हावापानी यति राम्रो छ कि हाम्रो देश एजुकेसनको हब बन्न सक्छ, हेल्थ हब बन्न सक्छ, रिचर्स सेन्टरको हब बन्न सक्छ । बाहिरबाट दुई लाख पर्यटक आए भनेर हामीले खुसी हुने होइन नि ∕ हामी करोडौँ पर्यटक भित्र्याउन सक्ने अवस्थामा छौँ । अरू देशमा हाइब्रिड एजुकेसन आइसक्यो, ब्लेन्डेड एजुकेसन आइसक्यो तर हामी भने सय वर्ष पुरानो शिक्षा पढाइरहेका छौँ । प्रकृतिले हामीलाई सबै थोक दिएको छ तर त्यसलाई हामीले सदुपयोग गर्न सकेनौँ । हाम्रा विद्यार्थी देशबाहिर जानुको कारण यो पनि हो ।

विद्यार्थी बाहिर जानुको कारण शिक्षामात्रै हो कि अरू पनि छ ?
अहिले ग्लोबल भिलेज हो । ग्लोबल भिलेजमा मानिस संभारभर जान सक्छ, घुम्न सक्छ, पढ्न सक्छ, हेर्न सक्छ । जानु पनि पर्छ तर सबै कुरा सकेर नेपालमै फर्कनुपर्छ । स्वदेश फर्किएर काम गर्नुपर्छ । तथापि सरकारले भन्दैमा, नीति बनाउँदैमा उनीहरू फर्किहाल्ने अवस्था छैन । उनीहरूको मनैदेखि त्यस्तो भावना आउनुप¥यो । सबै पढ्नमात्रै त गएका छै्नन्, काम गर्न पनि गएका छन् । ४७-४८ डिग्रीमा पनि काम गरिरहेका छन् । त्यसैले उनीहरू फर्किन चाहे पनि फर्किन सक्ने अवस्था छैन, घरखेत बेचेर गएका छन् । आफ्नै देशमा उपयुक्त वातावरण बन्यो भने कोही पनि विदेशमा दोस्रो दर्जाको नागरिक बनेर बस्न चाहँदैन ।

विद्यार्थीमा एसइइपछि के पढ्ने भन्ने अन्योलता पनि देखिन्छ नि ?
हो, हामीकहाँ पढ्ने विषय नै धेरै छैनन्, हाम्रो शिक्षामा विविधीकरण नै छैन । सधैँ त्यही साइन्स, म्यानेजमेन्ट, हृयुमानिटिज भनेको छ, नयाँ विकल्प दिइएको छैन । सरकारले हामीसँग भएको हाइड्रो, टुरिजम, एग्रिकल्चर करिकुलम बनाउनुपर्‍यो ।
नेताहरूका कारण हाम्रो देश बिग्रिरहेको छ नि ∕ उनीहरूलाई सपार्ने करिकुलम चाहियो । ब्युरोक्र्याट्स घुस खाइरहेको छ, उसलाई सुधार्ने करिकुलम चाहियो । हाम्रो देशको सरकारी तलब सुविधा हेर्ने हो भने कर्मचारी, मन्त्री कसैले पनि काठमाडौंमा घर बनाउन सक्दैन । तर, अधिकांशका काठमाडौंमा घर छन् । घर, कार नहुनेको इज्जत नहुने, महँगो कार चढ्ने, ठूलो घर बनाउनेले बढी सम्मान पाउने अवस्था छ । चोरलाई सजाय हुन्छ तर चोरीभन्दा ठूलो अपराध भ्रष्टाचार, घुसखोरीले उन्मुक्ति पाउँछ । हरेक क्षेत्रमा मापदण्ड छ तर नेता, मन्त्री बन्न कुनै पनि मापदण्ड चाहिँदैन । उमेर हद, योग्यता पनि लागू हुँदैन । अरूमाथि कानुन लागू गर्ने आफू भने ऐन कानुनभन्दा माथि रहने नेपाली राजनीतिक प्रवृत्ति नै समस्याको मुख्य जड हो । अहिले हरेक क्षेत्रमा परनिर्भरता बढेर गएको छ । हाम्रो भाषा संस्कृतिको अवस्था पनि त्यस्तै छ । भाषामा विकृति सुरु भइसकेको छ । अहिले सबै स्कुल कलेजमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । आफ्ना छोराछोरीले अंग्रेजी बोल्यो, नेपाली बोल्न जानेन भने बाबुआमा गर्व गर्छन् । यस्तो प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न सकिएन हाम्रो देशको भाषा, धर्म, संस्कृति पनि रित्तिन्छ, लोप हुन्छ । भाषा संस्कृतिमा हामी कति धनी छौँ ? हामीसँग एक सय २३ भाषा, एक सय २५ जातजाति छन् । यसैलाई सेल गरेर पनि हामी धनी हुन सक्ने अवस्था छ । विश्वका अधिकांश देशले आफ्नै स्थानीय भाषा बोल्छन्, रसिया, जापान, चीन, युरोपियनहरू आफ्नै स्थानीय भाषा बोल्छन्, आफ्नै भाषा प्रवद्र्धन गर्छन् । हामीलाई चाहिँ अरूको भाषा बोल्नुपर्ने ∕ हाम्रै संस्कृत भाषाबाट अंग्रेजी भाषा बनेको छ तर संस्कृत भाषालाई हामीले आफैं छोडिसक्यौँ । यो सबै गलत शिक्षा नीतिकै कारण भइरहेको छ । प्रस्तुति : लेखनाथ पोख्रेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?