सरकारविरुद्ध नेकपा एमालेले आज बृहत् जनप्रदर्शन गर्दै, महँगी र भ्रष्टाचार मुख्य एजेण्डा, सहभागी हुन सर्वसाधारणलाई आहृवान

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज सरकारविरुद्ध जनप्रदर्शन गर्दैछ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको र चौतर्फी भ्रष्टाचार बढेको भन्दै एमालेले विरोध प्रदर्शन गर्न लागेको हो । नेकपा एमालेका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महँगीविरुद्ध साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको थियो । जनप्रदर्शनमा उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका पार्टीका कमिटी, जनसंगठन परिचालन हुने जनाइएको छ । राजधानी काठमाडौंको वसन्तपुरबाट सुरु हुने जनप्रदर्शन ¥यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने एमालेले जनाएको छ । र्‍यालीले सहरका विभिन्न ठाउँको परिक्रमा गर्ने बताइएको छ । एमालेले बृहत् जनप्रदर्शनमा आम-सर्वसाधारणलाईसमेत सहभागिताका लागि आह्वान गरेको छ । यसअघि पनि एमालेका जनवर्गीय संगठनहरूले मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै आएका थिए ।

सरकारका गलत काम कारबाहीविरुद्ध खरो रूपमा उत्रिन अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका गलत काम कारबाहीविरुद्ध खरो रूपमा उत्रिन निर्देशन दिनुभएको छ । पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको पार्टी केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार जनविरोधी रहेको, जनताका विरुद्धमा गएर काम गरिरहेको र सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै गलत कामका विरुद्धमा डटेर लाग्न निर्देशन दिनुभएको हो । सबै विभागहरूलाई विषय केन्द्रित भएर सक्रिय हुन निर्देशन दिँदै अध्यक्ष ओलीले बैठकमा भन्नुभयो, ‘विज्ञहरूसँग परामर्श लिन तथा गर्ने कामको रोष्टर बनाएर अघि बढ्नुस् । सरकारका गलत कामकारबाहीविरुद्ध खरो रूपमा उत्रनुस् ।’

अध्यक्ष ओलीले पार्टी केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरूलाई पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न पनि निर्देशन दिनुभएको छ । समन्वय नगरी आफ्नै ढंगले चले परिणाम नआउने बताउँदै ओलीले भन्नुभयो, ‘कतिपय विभागबीच समन्वय गरेर काम गर्नुपर्ने हुन्छन् । ती काम समन्वय गरेर मात्रै गर्न तथा आ-आफ्ना विभागले गर्नुपर्ने कामको कार्ययोजनासहित तीव्र गति बढाउनुस् ।’

बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

सरकारले प्रतिपक्ष दलसँग सल्लाह नगरेको गुनासो
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले प्रमुख प्रतिपक्षसँग कुनै पनि विषयमा सल्लाह नगर्ने र प्रमुख प्रतिपक्षले सोधेको प्रश्नको उत्तर नै नदिने गरेको गुनासो गर्नुभएको छ । नेपाल निजामती कर्मचारी संगठनले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिकता विधेयक, निजामती ऐन, प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव जस्ता विषयमा सरकारले प्रमुख प्रतिपक्षसँग कुनै पनि छलफल नगरेको गुनासो गर्दै भन्नुभयो, ‘फुल हाउसले महाभियोग समितिलाई काम नदिई सदन स्थगित भएकाले प्रधानन्यायाधीशजी झुण्डेका झुण्डै हुनुहुन्छ निलम्बन । अर्को एकजना मित्र कार्यवाहक हुनुहुन्छ कति गम्भीर कुरा हो यो ? प्रधानन्यायाधीशमाथि छानबिन गर्न संसद्ले समिति बनाए पनि समितिलाई काम दिइएको छैन । प्रमुख प्रतिपक्ष के गरेर बसेको छ ? भनेर प्रश्न उठ्ने गरे पनि चुप लागेर भने बसेका छैनौँ ।’

एमाले पार्टी कार्यालयमा खीर पार्टी
साउन १५ को अवसर पारेर नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । साउन १५ मा खीर खाने दिनको परम्परा कायम राख्नको लागि कार्यक्रम आयोजना गरिएको एमाले संस्कृति विभागका प्रमुख रघुजी पन्तले जानकारी दिनुभयो । नेकपा एमालेको साहित्य कला तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका नेताहरू र कला, साहित्य क्षेत्रका स्रष्टाको उपस्थिति थियो ।

राखीमा राजनीति भएको टिप्पणी
पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई जनै पूर्णिमाको दिन राखी बाँधिदिएको तर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको टिप्पणी गर्नुभयो । चाडपर्वमा पनि राजनीति हुन थालेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘थाहा पाउनुभयो होला–इन्टरनेसनल राखी पनि सुरु भइसक्यो । राखीमा राजनीति पनि भइसक्यो । जेहोस् राखीले दाजुभाइ–दिदीबहिनीको सम्बन्ध, दसैँले सम्पूर्ण नातागोताको सम्बन्ध । छठजस्ता चाडहरू, तिजजस्ता चाडहरू, गौराजस्ता पर्वहरू यस्ता पर्वहरूले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउँछ ।’ गत वर्ष जनै पूर्णिमाको दिन कांग्रेस नेतृ आरजू राणा देउवाले भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर राखी बाँधिदिनु भएको थियो । त्यसयता चौथाइवालेको निमन्त्रणामा आरजू देउवाले पटक–पटक भारतको भ्रमण गरिसक्नु भएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, संस्कृतिविद् जगमान गुरुङ, कलाकार किरण मानन्धरलगायत उपस्थित रहनुभएको थियो । नेपाली समाजमा असार १५ मा दही चिउरा, साउन १५ मा खीर तथा जनै पूर्णिमामा क्वाँटी खाने चलन छ । झरीको बेला मरमसला प्रयोग गरेर बनाइएको खीरले शरीरमा चिसो लाग्न नदिने विश्वास गरिन्छ ।

सत्तारूढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त : पौडेल
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व-अर्थमन्त्री विष्णु पौडेलले सत्तारूढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताउनुभएको छ । यो गठबन्धनलाई मुलुकको चिन्ताभन्दा पनि सत्ता कसरी जोगाउने ? भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उहाँले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताउनुभयो । मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । ‘सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महँगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ’, उहाँले भन्नुभयो, ‘तर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ ।’ उहाँले मुलुकलाई सही दिशानिर्देश गर्ने र ठिक ढंगले नेतृत्व गर्ने पार्टी एमालेबाहेक अरू नभएको दाबी पनि गर्नुभयो । एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेथितिले पनि एमालेबाहेक अरूले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?