बाह्रखरी कथा लेखन प्रतियोगिताको घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चौथो बाह्रखरी कथा लेखन प्रतियोगिताको घोषणा गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनबीच बाह्रखरी मिडिया प्रालि अन्तर्गतको बाह्रखरी बुक्सले ‘चौथो बाह्रखरी कथा लेखन प्रतियोगिता-२०७९’ घोषणा गरेको हो ।

नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरूको सम्मान र नवप्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो कथा आइतबारदेखि भदौ १४ गतेभित्र पठाइसक्नुपर्ने बाह्रखरी डटकमका कार्यकारी सम्पादक तथा बाह्रखरी कथाका आन्तरिक निर्णायक समितिका संयोजक गोविन्द अधिकारीले जानकारी दिनुभयो । प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक मण्डलले ५० कथा छनोट गरेर निर्णायक मण्डललाई पठाउने र निर्णायक मण्डलले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा कथा छनोट गर्ने उहाँले बताउनुभयो ।

उहाँले त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने बताउनुभयो । प्रथम कथालाई एक लाख रुपैयाँ, द्वितीयलाई ६० हजार रुपैयाँ र तृतीयलाई ४० हजार रुपैयाँ नगदसहित पुरस्कार तथा प्रमाणपत्र दिइने जनाइएको छ । त्यस्तै, अन्य २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार तथा समालोचक प्राडा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी रहनुभएको कार्यकारी सम्पादक अधिकारीले जानकारी दिनुभयो । कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते सार्वजनिक गरिने बताइएको छ । प्रतियोगितामा भाग लिन कम्तीमा एक हजार पाँच सय शब्ददेखि बढीमा चार हजार शब्दसम्मको कथा पठाउनका लागि आह्वान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?