✍️ जीवनाथ धमला
‘जीवन एक संघर्ष हो । यो संघर्षको मुकाबिला गर्दै जानुपर्छ । संघर्षले ल्याउने चुनौती आफैँले समाधानको बाटो पनि दिएको हुन्छ ।’ समाजसेवाका क्षेत्रमा आफूलाई समर्पित गर्दै आएकी सावित्री जंगम थापाको परिचय यस क्षेत्रमा राष्ट्रिय स्तरमै स्थापित र प्रतिष्ठित रहेको पाइन्छ । समाजसेवामा विसं २०२० साल यता उनको अनवरत संलग्नता रहँदै आएको छ । त्यसबेलादेखि नै उनले वैयक्तिक वा संस्थागत तह दुवै हिसाबले आफ्नो क्रियाशीलतालाई समाजसेवाका क्षेत्रमा अविच्छिन्न राख्दै आइरहेकी छिन् । उनले यस क्षेत्रमा आफूलाई मुलुककै अग्रणी व्यक्तित्वका हैसियतमा उभ्याइसकेकी छिन् ।
समाजसेवाको क्रमसँगै सावित्री जंगम थापाले आफ्नो सिर्जनात्मक प्रतिभालाई कविता, गीतिकाव्य वा उपन्यास विधामार्फत् पाठकसमक्ष प्रस्तुत गरिरहेकी छिन् । उनको सिर्जनशीलताले जीवनधारा (गीतिकाव्य), चेलीको व्यथा (नीतिकाव्य), अनुभूतिका लहर (कविता संग्रह), जमुना (स्मृति काव्य) आदि कृतिहरूबाट सुन्दर र सहज अभिव्यक्ति पाएको छ । उनको ‘आत्मबोध’ र ‘अर्चना’ शीर्षकमा दुई उपन्यास प्रकाशित छन् । यस्तै उनले आफ्नो अध्यात्मतर्फको गहिरो चिन्तन विशेषगरी गीताको अध्ययनबाट अनुभूत ज्ञानलाई सय थोपा गीतामृत, त्रिवेणी, श्रीमद्भगवद् गीता श्रीकृष्णार्जुन संवादलगायत कृतिहरू मार्फत् बडो सरल र रोचक ढंगमा पाठक समक्ष ल्याएकी छिन् ।
सावित्री जंगम थापाको समग्र व्यक्तित्व आध्यात्मिक चेतनाद्वारा निर्मित वैचारिकीबाट निर्देशित देखिन्छ । आध्यात्मिक चेतनाको उद्बोधन भएपछि मानिसले प्रथमतः आफूलाई चिन्दछ । आफ्नो ‘स्व’ को परिचय हुनु नै आत्मबोध गर्नु पनि हो ।
यसरी सावित्री जंगम थापाको सार्वजनिक जीवनयात्रा समाजसेवातर्फको पुनित कर्मशीलताबाट आरम्भ भई नेपाली काव्योद्यानलाई अनेक कविता, काव्यका सुन्दर पुष्पोपहारले सजाउँदै आध्यात्मिक जगतको असीम आकाशको दृश्यावलोकन गर्न उद्यत देखिन्छ । उनको व्यक्तित्वको अवलोकन गर्दा उनी बहुआयामिक स्रष्टा, साधक एवं आध्यात्मिक चिन्तनद्वारा अभिसिञ्चित कर्मशील एवं सिर्जनशील व्यक्तित्व हुन् । यस समीक्षात्मक आलेखमा २०७८ सालमा प्रकाशित सावित्री जंगम थापाको ‘अर्चना’ शीर्षकको पछिल्लो औपन्यासिक कृतिमाथि संक्षिप्त टिप्पणी गर्ने प्रयास गरिएको छ ।
‘अज्ञानता, भ्रम र अन्धकारबाट मनलाई मुक्त नगराई राम्रो र सही काम हुन सक्दैन । कलुषित मनले हामीलाई सँधै नराम्रो काम गर्न उत्प्रेरित गरिरहेको हुन्छ । त्यसैले विश्वभर नै आजको पहिलो आवश्यकता मनको सही रुपान्तरण हो ।’ सावित्री जंगम थापा ।
सावित्री जंगम थापाको समग्र व्यक्तित्व आध्यात्मिक चेतनाद्वारा निर्मित वैचारिकीबाट निर्देशित देखिन्छ । आध्यात्मिक चेतनाको उद्बोधन भएपछि मानिसले प्रथमतः आफूलाई चिन्दछ । आफ्नो ‘स्व’ को परिचय हुनु नै आत्मबोध गर्नु पनि हो । जब आत्मबोध हुन्छ, मानिसका व्यवहार, चिन्तन र विचारहरू सामान्य तहभन्दा अलिकति माथि उठ्न थाल्दछन् । सामान्यभन्दा फरक र माथि उठेको मानिसले आफ्ना कर्म र व्यवहारलाई विवेकद्वारा मूल्यांकन गर्दछ । जब विवेकद्वारा उसका विचार, कर्म र व्यवहारहरू निर्देशित हुन थाल्छन्, ऊ आत्मकेन्द्रित नभई अरूका आँसुहरू देख्न सक्षम बन्दछ अनि अरूको निन्याउरो हृदयलाई उज्यालो बनाउनमा आफ्नो जीवनको सार्थकता देख्दछ ।
आफूभित्रको अन्धकार वा कलुषिता नहटाई समाजलाई उज्यालो पार्न कसले सक्छ र ! मानिसका लागि वर्तमानको प्रथम आवश्यकता नै ज्ञान र विवेकद्वारा निर्मित चैतन्य सामथ्र्यको निर्माण गर्नु हो । त्यसै सामथ्र्यद्वारा निसृत कर्महरूले नै अज्ञानता, स्वार्थ, आडक्बर, ईष्र्या, अहंकारलगायतका प्रवृत्तिजन्य कलुषिताहरूबाट मुक्त गराई समाजलाई उज्यालो र सुन्दर बनाउँछन् । आफूभित्र उज्यालोको खोजी नै प्रथमतः आध्यात्मिकताको खोजी हो । सावित्री जंगम थापाद्वारा लिखित उपन्यास ‘अर्चना’ त्यही आध्यात्मिक शक्तिद्वारा निर्देशित कर्महरूमा जीवनको सार्थकता पहिल्याउँदै समाज रूपान्तरणको अभियानमा जुटिरहेकी नारीको जीवनगाथा हो ।
‘हाम्रो मुख्य उद्देश्य मानिसको मनलाई आत्मचेतनाको जागरणद्वारा स्वच्छ र स्वस्थ बनाउने हो ।’ (अर्चना, पृ. १७६)
उपन्यास आरम्भदेखि अन्त्यसम्म नारी पात्र अर्चनाको जीवन संघर्षमा केन्द्रित छ । एकजना नारीले छोरी, बुहारी, पत्नी, दिदीबहिनी, आमा आदि अनेकौँ रूपमा जिउनुपर्छ । यी सबै भूमिकामा अर्चना जिम्मेवार ढंगले क्रियाशील देखिन्छिन् । पारिवारिक हिसाबले राम्रो संस्कार र शिक्षादिक्षा प्राप्त गरेकी अर्चनाले जीवनमा अनेकाँै आफन्तहरू सहित पतिवियोगसम्मको अपघात पनि सहनुपर्छ । आफूभित्र जतिसुकै आँसु र सुस्केराहरू भए पनि उनको संयमता र जीवनप्रतिको आशावादका कारण उनी थकित र निराश नभई कर्मयात्रालाई निरन्तरता दिन्छिन् । अर्चनाभित्रको आत्मिक शक्तिले उनलाई कहिल्यै विचलित बनाउन सक्दैन ।
संसारिक व्यावहारिक जीवनमा आइपर्ने वियोग, व्यथा, दुःख, आँसु, मानसिक छटपटी जस्ता नियतिका अनेकाँै प्रहारहरूबाट विचलित नभइकन अर्चनालाई आफ्नो कर्तव्य पथमा अविचलित रही रहन उनीभित्रको आध्यात्मिक चैतन्यशक्तिले पूर्णतः टेवा दिएको छ । शिक्षण कर्मप्रति उनको पूर्ण निष्ठा छ । शिक्षाकै माध्यमबाट समाजको चेतना, संस्कार र सभ्यताको जग बसाउन सकिनेमा अर्चनालाई पूर्ण विश्वास छ । त्यसको आरम्भ मानिसको बाल्यकालदेखि नै हुन्छ भन्नेमा उनी विश्वस्त छिन् । ‘प्रत्येक व्यक्तिको बाल्यकालमा उसको मनमस्तिष्कभित्र घुसेको कुरा व्यवहार र संस्कारबाट प्राप्त ज्ञानले उसको चरित्र निर्माण भएको हुन्छ ।’ (पृ. २६)
अर्चना विचार, कर्म, संस्कार, व्यवहार सबैमा सकारात्मक छिन् । मानिसको व्यक्तित्व उसको सोचकै प्रतिबिम्ब वा प्रतिरूप हो । उनी भन्छिन् ‘कुनै कुरा वा विषयमा मनले त्यसलाई सुख सम्झे सुख हुन्छ, दुःख सम्झे दुःख बन्न पुग्छ । हामी अर्कोलाई जे दिन्छाँै त्यही फर्केर आउँछ ।’ (पृ. ३२)
अर्चना आफ्ना साथीसँगी वा पारिवारिक आफन्त-आत्मीयजनसँग भेट हुँदा सधैँ जीवनका उज्याला पाटाहरूलाई नियाल्छिन् । आफ्नो कर्मक्षेत्र शिक्षा जगतलाई नै समाजको चौतर्फी उन्नयनको आधार सम्झँदै आफू कार्यरत विद्यालयको शैक्षिक गुणस्तर उकास्न उनी प्रतिबद्ध भएर लागेकी छन् । ‘जुनसुकै कार्य गर्न पनि सुरुमा कठिन र चुनौतीपूर्ण लाग्छ तर ससाना कार्यबाट प्रारम्भ गर्दै गएर त्यसमा सफलता प्राप्त गर्न सकियो भने पछि जस्तो सुकै ठूलो तथा कठिन कार्य गर्न पनि आँट प्राप्त हुन्छ ।’ (पृ. ३७)
आफ्नो विद्यालयलाई नमुना विद्यालय बनाउन दिनरात तल्लीन अर्चनाले विद्यालय तथा शिक्षा प्रशासन, इष्टमित्र सबैतिरबाट पर्याप्त सहयोग पाउँछिन् । उनी आफ्नो लक्ष्यतिर अग्रसर हुन्छिन् । विद्यालयमा सुधारका संकेतहरू क्रमशः देखापर्दै जान्छन् तर उनी मुलुकको शिक्षा नीतिप्रति सन्तुष्ट भने छैनन् । उपयुक्त शिक्षा नीति, सोअनुसारको उद्देश्य, पाठ्यक्रम आदिको तर्जुमा हुन नसक्दा चरित्रवान्, अनुशासित विद्यार्थीहरूको उत्पादन हुन नसकेकोमा उनी चिन्तित पनि छन् । मुलुकको चौतर्फी विकासको तात्पर्य भौतिक विकासमात्र नभई आमजनताको सांस्कृतिक जीवनको विकास पनि हुनु हो । नेपाली समाजको सांस्कृतिक धरातल कमजोर बन्दै गइरहेको छ ।
पूर्वीय मूल्यमान्यताहरू धराशयी बन्दैछन् । पश्चिमी सभ्यता र संस्कृतिको अन्धानुकरण गर्ने प्रवृत्ति बढ्दो छ । आफ्नो मौलिक संस्कृति र सभ्यताको संरक्षण गरी मुलुकको प्रतिष्ठा जोगाउन सघाउ पु¥याउने वा मुलुकको सामथ्र्य बढाउन केन्द्रित हुने उपयुक्त शिक्षा मुलुकलाई चाहिएको छ । पश्चिमी जगतको जस्तो भौतिकवादमा मात्र आधारित शिक्षा नभई मुलुकका लागि आफ्नो मौलिकता र राष्ट्रिय आवश्यकतासहितको जीवनवादी शिक्षा हुनुपर्ने कुरामा उपन्यासकी मूल नायिका अर्चना जोड दिन्छिन् ।
‘संसारमा आफूलाई बढी विकसित राष्ट्र ठान्ने पश्चिमी देशका जनताहरू भौतिकवादमा विश्वास गर्दछन् । उनीहरू धन र शक्तिलाई नै मानव जीवनको ठूलो उपलब्धि ठान्दछन् । उनीहरू सबै कुरालाई लेनदेन अर्थात् व्यापार र व्यवसायको दृष्टिले हेर्दैछन् । पश्चिमेली राष्ट्रहरूका विकृतिहरू हाम्रो समाजमा भित्रिएका छन् । आज हाम्रा विद्यालयहरू पनि व्यावसायिक केन्द्र बनेका छन् ।’ (पृ. ८४)
पश्चिमी शिक्षा पद्धतिकै अनुसरण गरी नेपालको पनि शिक्षा नीति बनाई लागू गर्नु भनेको मुलुकको मौलिक संस्कृतिको विनाशका लागि बाटो खुलाउनु हो भन्ने चिन्तन अर्चनाको छ । उपन्यासकी केन्द्रीय नायिका अर्चना विद्यालयबाट उमेरको हदका कारण अवकाश प्राप्त गरेपछि समाजसेवामा लाग्ने अठोट गर्छिन् । आफन्तजन र समान विचार राख्ने मित्रहरूसँग मिलेर उनले सकारात्मक बाटोमा लाग्न प्रेरणा दिन नेतृत्वदायी भूमिका खेल्ने उद्देश्यका साथ ‘अन्तर्जागरण केन्द्र’ को स्थापना गर्छिन् ।
भौतिकवादतर्फ एकोहोरिइरहेको समाजलाई आध्यात्मिकतातर्फ पुनःस्थापित गराई मानिसमा सदाचार, नैतिकता, सद्भाव जस्ता गुणहरूको विकास गराउनुका साथै आफ्ना सांस्कृतिक मूल्यमान्यताप्रति विश्वास जगाउँदै समाजलाई सकारात्मक सोच र दिशामा लैजाने संस्थागत प्रयत्न गर्नु अन्तर्जागरण केन्द्रको उद्देश्य रहेको अर्चना बताउँछिन् । ‘यो संस्था मानिसको नकारात्मक मनलाई सकारात्मकतामा रूपान्तरण गर्ने अभियान हो ।’ (पृ. १७५) समाजलाई अनेक अमानवीय कुकर्महरूबाट जोगाउँदै स्वच्छ र स्वस्थ समाजको निर्माण गर्नु पनि संस्थाको लक्ष्य रहेको उनी बताउँछिन् । ‘हाम्रो मुख्य उद्देश्य मानिसको मनलाई आत्मचेतनाको जागरणद्वारा स्वच्छ र स्वस्थ बताउने हो ।’ (पृ. १७६)
शीर्षकबाट नै उपन्यास नायिक प्रधान कथावस्तुमा आवेष्टित रहेको प्रष्ट हुन्छ । यस उपन्यासको मूल उद्देश्य नै समाजको सकारात्मक रूपान्तरण गर्नु रहेको छ । समाजलाई सकारात्मक दिशामा अग्रसर गराउने संस्थागत आधार भनेको विद्यालय हो । विद्यालयकै गुणात्मक शिक्षाले सभ्य एवं सुसंस्कृत समाजको निर्माणमा सर्वाधिक भूमिका खेल्ने कुरा अत्यन्त स्वभाविक ढंगमा उपन्यासमा प्रस्तुत गरिएको छ । पश्चिमी संस्कृतिबाट क्षयीकरण हुँदै गएको नेपाली समाजलाई पूर्वीय आध्यात्मिक सभ्यता र संस्कृतिको मर्मबोध गराउँदै राष्ट्रिय परिचय र प्रतिष्ठालाई जोगाउन विद्यालय, समाज, सरोकारवाला व्यक्ति तथा संस्था एवं सरकारी निकायलाई आहृवान गरिएको छ ।
कुनै पनि आख्यान साहित्यमा मूलतः सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक एवं पारिवारिक परिस्थितिको प्रतिबिम्ब कुनै न कुनै हिसाबले रहेकै हुन्छ । यस उपन्यासमा यी सबै पक्षलाई पात्र-पारिवेशिक पृष्ठभूमिको निर्माण गर्दै सन्तुलित तवरले प्रस्तुत गरिएको छ ।
विषयवस्तु एवं घटनाक्रमका हिसाबले उपन्यास मूलतः एउटा विद्यालय र त्यसकी प्रधानाध्यापिका अर्चनाको जीवन संघर्ष, प्राप्ति, परिणाम आदिमा केन्द्रित छ । सकारात्मक विचारका साथ कर्म गर्नेले अन्तत्वगत्वाः विजय प्राप्त गर्छ भन्ने प्रेरणा अर्चनाको जीवनवृत्तबाट बुझ्न सकिन्छ । उपन्यास आरम्भदेखि अन्त्यसम्म नै आशावादी एवं जीवनदायी सन्देशहरूद्वारा भरिएको छ । विद्यालयको पारिवेशिक वृत्तमा घटनाक्रमहरू बढी आवेष्टित देखिए पनि सबै वर्ग, तह र तप्काका पाठकहरूका लागि यो उपन्यास रोचक र पठनीय छ । शैक्षिक जगतका लागि यो उपन्यासको पठन बढी नै अपेक्षित छ । उपन्यास कल्पनाप्रधान नभएर यथार्थवादी व्यावहारिक एवं युगसापेक्ष विषयवस्तुमा आधारित छ ।
कुनै पनि आख्यान साहित्यमा मूलतः सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक एवं पारिवारिक परिस्थितिको प्रतिबिम्ब कुनै न कुनै हिसाबले रहेकै हुन्छ । यस उपन्यासमा यी सबै पक्षलाई पात्र-पारिवेशिक पृष्ठभूमिको निर्माण गर्दै सन्तुलित तवरले प्रस्तुत गरिएको छ । ती सबै आयामको केन्द्रीय परिवेश भने सामाजिक रहेको छ । यसर्थ यस उपन्यासलाई सामाजिक उपन्यास भन्न सकिन्छ । अर्कातिर, उपन्यासको उद्देश्य पनि वैयक्तिक सन्तुष्टि वा प्राप्तको सीमामा नखुम्चिएर समाजको सकारात्मक एवं अभौतिक सांस्कृतिक, आध्यात्मिक उन्नतिका लागि गरिने चिन्तन र कार्यहरूमा बढी निर्दिष्ट छ ।
तसर्थ यसलाई सामाजिक-आध्यात्मिक चिन्तनमूलक उपन्यास पनि मान्न सकिन्छ । उपन्यासकार सावित्री जंगम थापाद्वारा गरिएका सामाजिक कर्महरू एवं उनको आध्यात्मिक अध्ययन र विचारहरूको सार्थक औपन्यासिक प्रस्तुतिका रूपमा ‘अर्चना’ पाठकसामु आएको छ । ‘मेरो लेखनको मूल उद्देश्य भनेको आधा शताब्दीभन्दा बढी समय जीवनमा मैले हासिल गरेको ज्ञान र अनुभवलाई पुस्तकका माध्यमबाट अरूलाई जानकारी गराउनु रहेको छ ।’ (सावित्री जंगम थापा)
उपन्यासकार सावित्री जंगम थापाको लेखनका यी उद्देश्यसहितका जीवनमूलक सन्देशहरू अर्चनामार्फत् आमपाठकसामु प्रवाहित हुँदै जान सकून् । उपन्यासका अक्षरहरूमार्फत् बेगिएका ज्ञान र चेतनाका धाराहरूले परिवार, समाज, अनि राष्ट्रिय सामाजिक परिवेशभित्रका अज्ञानता, आडम्बर, अविवेक अनि अन्धानुकरणका अँध्याराहरूलाई पखाल्न सकून् । उपन्यासभित्रका सन्देशहरू सुन्दर, शान्त अनि आध्यात्मिक रूपमा परिष्कृत राष्ट्रिय सभ्यताका बाहक बन्न सकून् भन्ने पुनित उद्देश्यका साथ कलम चलाउने उपन्यासकार सावित्री जंगम थापालाई हार्दिक बधाई ।
‘मानिसको अन्तर्मनभित्र ठूलो शक्ति, क्षमता र सम्भावनाह’ विद्यमान छन् । आफ्नो शक्ति, क्षमता र सम्भावनालाई उजागर गर्ने शक्ति सिर्फ मानिसमा मात्र हुन्छ ।’ (सावित्री जंगम थापा) । समाप्त
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका