विद्यालयहरूलाई यातनागृह नबनाऔँ

बद्रीप्रसाद दाहाल
Read Time = 13 mins

ज्ञान, सीप र अभिवृत्ति हासिल गर्न सकौँ भनेर याचना गर्न आउने विद्यार्थी वर्गमा निजी स्कुलका कथित डिआईले अनुशासनको नाममा नानीबाबुका अंगउपांग छडी, काठे लौरो, फलामे डण्डीले सुम्ला बस्ने गरी धुलाई गरेको कुरा समय-समयमा पढेकै हो । कतिपयले त अस्तव्यस्त शौचालयलाई अनुुशासित विद्यार्थी बनाउन बन्दी गृहमा रूपान्तर गरेर क्रूरताको नांगो नाच पनि हेरिएकै हो । शिक्षा र दीक्षा दिनुपर्ने नानी बाबुहरूसित यौनिक भिक्षा मागेर कतिपय गुुरु-गुुरुमाहरूले खुुरुखुरु ब्रहृमचर्य हरण गरेका घटना बेला बेला देख्नु सुन्नु परेकै छ । आठ कक्षाका छात्र टिपेर चौबीस वर्षे गुरुमा बेपत्ता बनेको ताता खबरले केही सातामात्र नाघ्यो होला ।

विद्यार्थीलाई अनुशासित बनाउने नाममा स्कुल बन्द हुने बेला पनि मलमूत्र विसर्जन घरको ढोका खोल्नै बिर्सने स्कुल पनि भए । जसबाट भोलिपल्ट कतिपय नानीबाबुलाई यमपुरी पुुर्‍याउन चण्डअचण्डीय भूमिका निर्वाह गरेको कुरा केही वर्षअघिको हृदय हल्लाउने घटना हो । समय समयमा जिम्मेदार भनिएका प्रिन्सिपलसमेत विवेकहराम बनेर आफ्ना छात्रछात्रहरूलाई पागल, विक्षिप्त, आशाहीन पारी डिप्रेसन दिने दारूण घटना पनि सुन्नमा आएका र आइरहेकै छन् ।

यतिखेर जंगी शासनभन्दा चर्को कथित ‘डिआई’ यमराजकै भूत वा वृकासुर, धेनुकासुुर, बक्कासुर र अघासुर बनेर बालबालिका, किशोरकिशोरी, युवायुवती सबै शिक्षार्थीमाझ भयकारी दानवीय बिम्बको रूपमा खडा गरी ताण्डव मच्चाएको देख्दा उदेकै लागेर आउँछ बा ! शारीरिक एवं मानसिक विकासको क्रम अघि बढ्दैका नानीबाबुको समूहको मनोविज्ञान छाम्न असमर्थ केही अक्षम कसरी शिक्षक र प्रिन्सिपल भइटोपलेका होलान् । भांग्राका टोपीलाई गुएलीको फूल भनेझैँ टाईसुटमा सजिएर अशुद्ध अंग्रेजीमा लाजै पचाई बर्बराएका कतिपय शिक्षाका भाइरस वा माफियाहरू देख्दा कन्सिरीको रौँ कसलाई तात्दैन ? बा बा !

बालबालिकालाई ढुटो पारेर कुट्ने चकलेट दिएर मिलापत्र गराउने जनप्रतिनिधि के कानुनीराजका पक्षपाती हुन् त ? चुनावको बेला कतिपय निजी विद्यालय यिनीहरूका खर्चका स्रोत बन्न पुुगेका छन् भने के प्रहरी प्रशासन पनि त्यस्तै त्यस्तै हो ? मीठा प्रश्नहरू छन् ।

बालमनोविज्ञान, बालमैत्री परिवेश, दण्डहीन शिक्षण, सिकाइ उपलब्धि र दोषमुक्त मूल्यांकन प्रणालीमा यस्ता लबस्तरा जमात कुशल पठनपाठनका प्राणवायु बन्न सक्लान् त ? बाघका छाला ओढेका चम्बु स्यालको कथा सम्झाउने पात्रहरूबाट अभिभावकले के आशा गर्ने ! व्यवहारोपयोगी, उत्पादन र श्रमसित घुुलमिल भएको सुसंस्कारित, प्रेमालु वात्सल्य भावले पूर्ण, मर्यादित रूपमा प्रविधि र सीपको प्रयोग गर्नसक्ने जनशक्ति यस्तो दादागिरी कारखानाबाट उत्पादन हुनसक्छ त ? यसै सन्दर्भमा काठमाडौँ मीनभवन निवासी असल र ठूला शिक्षाविद् मनप्रसाद वाग्लेज्यूले यही साउन नौ गते कान्तिपुर दैनिकमा सम्पादकसमक्ष लेख्नुुभएको दससूूत्रीय चिठी पठनीय छ ‘शिक्षालय कि यातना शिविर’ ? पढ्दा थुप्रै अभिभावकका हृदय हल्लिएको र आँखामा आँसु टल्पलिएको हुनुपर्छ ।

उहाँले बालमनोविज्ञान र बालविकासको कखरा पनि नखारेका शिक्षक र प्रिन्सिपल हुनेले दण्डसजाय भोग्नै पर्छ, बालबालिकालाई कुटेरै तह लगाउनुपर्छ भन्ने ‘डिआई’ का कारण निजी विद्यालय राक्षसीकरणतिर उन्मुख भएको निक्र्यौल दिनुुभएको छ । के सरकार संविधान, नीति नियमसित बेखबर भइरहन मिल्छ ? बालबालिकालाई ढुटो पारेर कुट्ने चकलेट दिएर मिलापत्र गराउने जनप्रतिनिधि के कानुनीराजका पक्षपाती हुन् त ? चुनावको बेला कतिपय निजी विद्यालय यिनीहरूका खर्चका स्रोत बन्न पुुगेका छन् भने के प्रहरी प्रशासन पनि त्यस्तै त्यस्तै हो ? मीठा प्रश्नहरू छन् ।

क्रूर दण्ड दिनेहरू अभिभावकको गरिबीमा सैसला खेलेर कक्षा दससम्म तपाईंको बच्चाको फि नलाग्ने भनेर फकाउने गलत चेष्टा भएको छ तर के उनीहरू (शिक्षक र प्रिन्सिपल) का बच्चाहरू कसैले कुटे भने उनीहरू सहन गर्न सक्छन् ? भन्ने जस्ता विवेकपूूर्ण न्यायिक सबाललाई वाग्लेले जोडदार रूपमा उठाउनुु भएको छ । यस्ता घटना हुँदा खोइ अभिभावक संघ, विद्यार्थी संगठन र शासकहरू भनेर गम्भीर यक्ष प्रश्न उठाउँदै त्यस्ता पिटाहा अक्षम प्रिन्सिपल र शिक्षकहरूलाई कानुनी कठघरामा ठड्याउनुुपर्ने माग छ उहाँको । प्याब्सन, एनप्याब्सनजस्ता संस्थाहरू यस्ता घटनालाई जतिसुकै ढाकछोप गर्न कसिए पनि ती अपराधीमै दरिने हुन् ।

यसैले बालबालिका सम्बन्धी ऐन २०७५ को धारा ६६ (२) ङ मा टेकेर धारा ७२ (३) क अनुसार कारबाही गराऊँ भनी हिम्मत देखाउन सम्बन्धितहरूलाई आहृवान गर्नुभएको छ । वाग्ले सरको आठौँ बुँदा यसरी बोल्छ : कुनै भाइरल भिडियो दश वर्षअघिको रे ? के दश वर्षअघि यस्तो हातखुट्टा भाँच्ने कानुन थियो त नेपालमा ? आँखा फुटाउने, होस्टेलमा यातना दिने कानुुन थियो ? यस्ता जघन्य अपराधमा शिक्षा मन्त्रालय जहाँ कानुनका विद्यार्थी नै मन्त्री बनेका छन् यतिखेर के रमिते बन्न मिल्छ ? किन सम्बन्धित मन्त्रालय खोजबिन गर्दैन भन्ने कसिलो आवाज उठाएर एक न्यायप्रेमी, स्वाभिमानी प्रबुद्ध वर्गको दायित्वलाई समात्नु भएको छ ।

सम्पादकीय पत्रको अन्त्यमा बालबालिकाको जीवनभर यस्ता घटनाले नकारात्मक प्रभाव पार्ने, मानसिक रूपमा अस्वस्थ रहने हुन्छ । यस्तो घटनालाई हदम्याद लाग्ने गर्नुु हुँदैन ऊ बालिग भएपछि उजुरी दिने व्यवस्था हुनुुपर्छ । सबै बालबालिका स्वस्थ र सुरक्षित रहून् जसले अभिभावकको पैसा लिएर आफ्नो घर र छोराछोरीको जीवन व्यवस्थापन गरिरहेछ उसैले तिनका बच्चा कुट्नु भनेको आफ्नै छोराछोरीको छातीमा प्रहार गर्नु हो भन्ने कुरा निजी विद्यालय सञ्चालकले समयमै बुुझून् भनेर वाग्लेले चेतावनी दिनुुभएको छ ।

हरेक विद्यार्थीको मनोविज्ञान गहिरो ढंगले बुुझेर शैक्षिक रथ हाक्न शिक्षक परिवार सक्षम हुनैपर्छ । शिक्षकले आपूmलाई योग्य सावित गराउन विद्यार्थीलाई कागजी कल्पतरू होइन व्यावहारिक, सीपमूलक प्रविधिको उचित प्रयोग गर्न सक्ने श्रममा विश्वास गर्ने स्वावलम्बी जनशक्तिमा रूपान्तरण गर्न सक्नुु एक्काईसौँ शताब्दीको माग हो ।

यसरी निजी विद्यालयहरूले खाइलाग्दो र जाइलाग्दो अलि बलको तुजुक देखाउन सक्नेलाई प्रिन्सिपलहरूले डिआई अर्थात् अनुशासन स्थापक प्रमुख बनाएर आफूलाई केही हलुका महसुस गरेका छन् रे । यी डिआई प्रशिक्षणविहीन जस्ता छन् भन्ने गुनासो अभिभावकहरूको छ । विद्यालयको परीक्षाको नतिजा उच्च देखाएर अभिभावक चुस्ने बानी भएकाहरू विद्यार्थीहरूलाई रटन्ते, घोकन्ते र गोपीकृष्ण कहूू बनाएर प्राकृत प्रतिभालाई ब्रेक लगाई अप्राकृतिक वा कृत्रिम गुणवत्ताविहीन नागरिक उत्पादनतिर उन्मुख छन् भन्ने खरो आरोप पनि कतिपय निजी स्कुलहरूमा छ । किताबी ज्ञानभन्दा जीवन जिउन सक्ने सीपयुक्त शिक्षा आजको आवश्यकता हो । हाम्रा प्राचीन शिक्षाविद्हरूले बच्चाहरूमा प्रथम चरणमा लालना गर्ने, दोस्रो स्टेपमा हल्का ताडना दिने र १६ वर्षपुुगेपछि मित्रसमान आदर गर्ने भनेर निर्देश गरेका छन् । जुन कुरामा गहिरो मनोविज्ञान लुकेको छ । (लालयेत् पञ्चवर्षाणि दशवर्षाणि ताडयेत् । प्राप्ते तु षोडषे वर्षे पुत्रं मित्रं समाचरेत्) । यहाँ कुुट्नुु भनेर विद्यार्थीको अंगउपांगै फोरिदिने, ढाडमा सुम्लै सुम्ला उठाउने जस्ता अमानवीय र विद्यार्थीहरूलाई हृयारेसमेन्ट गर्ने कुकामको कल्पनासम्म छैन ।

जे होस् निजी वा सरकारी जुनकुनै पनि विद्यालयले विद्यार्थी जगत्लाई स्नेह, प्यार, ममता, हौसला, उत्प्रेरणा दिनु अपरिहार्य छ । हरेक विद्यार्थीको मनोविज्ञान गहिरो ढंगले बुुझेर शैक्षिक रथ हाक्न शिक्षक परिवार सक्षम हुनैपर्छ । शिक्षकले आफूलाई योग्य सावित गराउन विद्यार्थीलाई कागजी कल्पतरू होइन व्यावहारिक, सीपमूलक प्रविधिको उचित प्रयोग गर्नसक्ने श्रममा विश्वास गर्ने स्वावलम्बी जनशक्तिमा रूपान्तरण गर्नसक्नुु एक्काईसौँ शताब्दीको माग हो ।

अबको जमाना शिक्षितभन्दा प्रशिक्षितको, कोरा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारमुखी भोक निवारण गर्नसक्ने कर्मवादी उत्पादनमुखी क्षमताको जनशक्तिमा जोड दिनुु आवश्यक छ । साथै मानवीय संवेदना, दया, माया, करुणा, सहयोग अर्थात् सारांशमा भन्नुपर्दा सर्वे भवन्तुु सुखिनः सर्वे सन्तुु निरामयाः । सर्वे भद्राणि पश्यन्तु माकश्चिद्दुखभाग्जनः ।। भन्ने सूत्रको व्यावहारिक धरातलमा उतार्नु आवश्यकता हो । यही गर्न सके विद्यालय उत्प्रेरणाको स्थल, प्रेम र तात्सल्यको सुन्दर आलय हुनसक्छ । समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?