अहिलेका जंगबहादुरहरू, उहिलेका जंगबहादुर

हिमालय टाइम्स
Read Time = 16 mins
A A- A+

✍️ मणि शर्मा
२००७ सालदेखि यताको दलीय व्यवस्थामा जति राष्ट्रघाती सन्धिसम्झौता कहिल्यै भएका छैनन् । जंगबहादुर राणाको कालो पक्षलाई बिर्सने हो भने उनी एकजना देशभक्त प्रधानमन्त्री थिए । अंग्रेजहरूले उनीसँग गोर्खा भर्ती केन्द्रका माग राख्दा उनले इष्ट इण्डिया कम्पनीलाई चाहेको बखत सैन्य सहयोग दिने तर आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती हुन नदिने अडान राखेका थिए । उनले अवधलाई अंग्रेजले कब्जा गर्न नसकेर नेपालको सहयोग माग्दा उनी नेपाली सेना लिई लखनउ गएर अवधको नवाबलाई युद्धमा परास्त गरी लखनउ इष्ट इण्डिाया कम्पनीलाई बुझाइदिएका थिए । यसबापत अंग्रेजले उनलाई इनाम दिन खोज्दा उनले सुगौली सन्धिबाट नेपालले गुमाएको भूभाग फिर्ता मागेका थिए ।

तर, अंग्रेजले उनको पूरै माग पूरा नगरी आंशिक मात्र गरेर केही भूभाग जसलाई पछि नयाँ मुलुक भनियो फिर्ता गरेका थिए । सुगौली सन्धिबाट गुमेको भूभागमध्ये राप्ती र महाकालीको बीचमा परेका तराईका भूभाग र राप्ती नदी र गोरखपुर जिल्लाको बीचमा परेको समस्त तराई प्रदेशहरू तथा पश्चिमतर्फ महाकाली अर्थात् शारदा नदीदेखि बागोरा तालका उत्तरी पहाडहरूका फेदीसम्म फैलिएका प्रदेशहरूका बीचको सीमा फिर्ता गराएका थिए । पछि दलीय व्यवस्थाको कमजोरीको फाइदा उठाउँदै उक्त भूभागको ठूलो हिस्सा स्वतन्त्र भारतले हड्पेको छ ।

उक्त सन्धिअनुसार प्राप्त भूमिमध्ये बर्दियाको नानपारा (हाल युपी, भारतको बहराइच जिल्ला) देखि पश्चिम र कर्णाली सम्म फिर्ता पाएको भूमि श्री ५ सुरेन्द्रले वीरता प्रदर्शन गरेबापत उक्त भूभागबाट आएको आम्दानीमा आधा आफ्नो तथा आफ्नो उत्तराधिकारीको र आधा छ भाइले बराबर अंश खाने गरी पारितोषिकको रूपमा जंगबहादुरलाई दिएका थिए । गणतन्त्रवादी शासक वर्गले जनताको सहानुभूति लिन कालापानी क्षेत्रको हाम्रो भूभाग नक्सामा त सामेल गरे तर उनीहरूमा त्यो भूभाग फिर्ता लिने साहस छैन । बरू राष्ट्रघाती नागरिकता विधेयक पारित गरेका छन् । कम्पनी सरकारले हाम्रो केही भूभाग मात्र फिर्ता गरेन, नेपालले उनीहरूलाई सहयोग गरेबापत जंगबहादुरलाई ‘नाइट ग्य्राण्ड क्रस अफ द अर्डर अफ द बाथ’ उपाधि पनि प्रदान गरेको थियो ।

इष्ट इण्डिया कम्पनीले नेपाललाई भारतका साना राज्यहरूलाई आफूमा गाभेर उनीहरूको निर्देशन अनुसार राजकाज चलाउने सीमित अधिकार दिए जस्तै यहाँ पनि त्यस्तै गर्न खोजेको थियो । उनीहरूले शाहवंशीय परम्परालाई समाप्त पार्न जंगबहादुरसँग ‘डक्ट्रिन अफ ल्याप्स’ नीति अवलम्बन गराउन चाहेका थिए तर जंगबहादुरले मानेनन् ।

नेपालीहरूको वीरता र साहसको दृश्य अंग्रेजहरूले नालापानी, देउथल, सिन्धुली, जितपुरलगायत युद्धमा देखिसकेकाले नेपाली युवाहरूलाई उनीहरूको सेनामा भर्ना गर्न चाहेर जंगबहादुरसँग अनुमति माग्दै सम्झौता गर्न भनेका थिए । अंग्रेजहरूको यसमा दुईवटा उद्देश्य थिए, वीर तथा बहादुर गोर्खाली उनीहरूको सेनामा आए उनीहरूलाई युद्ध जित्न सजिलो हुने र नेपालबाट युवा शक्तिलाई देशबाहिर पठाए देशको पक्षमा लड्ने शक्तिको अभावमा नेपाल कमजोर भई सधैँ उनीहरूको अधीनमा रहने छ । यो कुरालाई जंगबहादुरले राम्रोसँग बुझेका थिए त्यसैले उनले यो प्रस्ताव मानेनन्, जसबाट अंग्रेज भित्रभित्रै उनीसँग रिसाएका थिए ।

२०४६ सालपछि नेताहरूले आफ्ना मान्छेहरू बाहेकका युवाशक्तिलाई खाडी मुलुक तथा मलेशिया निर्यात गरेर दुईवटा फाइदा लिइरहेका छन् । एक उनीहरूले पठाएको रेमिट्यान्सले देश धान्ने र उनीहरूको भ्रष्ट तथा राष्ट्रघाती कामविरुद्ध आवाज उठाउने शक्ति देशबाहिर भएपछि उनीहरूको सरकारी हैकम निष्कण्टक हुने । जंबहादुरको युवाशक्ति देशभित्रै रहे देशको रक्षा हुन्छ भन्ने सोच थियो । अहिले हाम्रा नेताहरूलाई युवाशक्ति देशबाहिर रहे सत्ता चिरस्थायी हुन्छ भन्ने सोच छ ।

इष्ट इण्डिया कम्पनीले नेपाललाई भारतका साना राज्यहरूलाई आफूमा गाभेर उनीहरूको निर्देशन अनुसार राजकाज चलाउने सीमित अधिकार दिए जस्तै यहाँ पनि त्यस्तै गर्न खोजेको थियो । उनीहरू शाहवंशीय परम्परालाई समाप्त पार्न जंगबहादुरसँग ‘डक्ट्रिन अफ ल्याप्स’ नीति अवलम्बन गराउन चाहेका थिए तर जंगबहादुरले मानेनन् । नेपालको अस्तित्व रक्षाको लागि नेपालमा राजतन्त्र चाहिन्छ भन्ने उनको दृढ धारणा थियो । उनले भारत स्वतन्त्र भएपछि नेपाललाई हैदरावाद निजामको स्थितिमा जानबाट रोकेका थिए ।

विसं १९११ मा कम्पनी सरकार र नेपालबीच नौ सूत्रीय सन्धि भएको थियो । जुन सन्धिको दोस्रो धारामा लेखिएको थियो, ‘यस्तो व्यक्तिलाई नेपालको शासन सुम्पिइन्न जो नेपालको प्रजा छैन ।’ यसमा जंगबहादुर र इष्ट इण्डिया कम्पनीको आआफ्नै सोच देखिन्छ । यस धाराले अंग्रेजले नेपाललाई डक्ट्रिन अफ ल्याप्सअन्तर्गत इण्डियामा विलय गर्न पाउँदैन भन्ने जंबहादुरको सोच थियो भने अंग्रेजले जंगबहादुर उनीहरूको मार्गनिर्देशन अनुसार नचले कुनै नेपालीलाई प्रधानमन्त्री बनाउने सोचेका थिए । तर, जंगबहादुरले आफ्नो सफल कूटनीतिले अंग्रेजको षड्यन्त्रलाई सफल हुन नदिएर नेपाललाई इण्डियामा गाभिनबाट बचाए ।

जंगबहादुरले आफ्नो शेषपछि आफ्ना सन्ततिको शासनमा रोलक्रम बाँधेको उनका सत्रभाइहरूलाई मन परेको थिएन । लखनउ विजयपछि जंगबहादुर नेपाल फर्के पनि धीरशमशेरसँगै नफर्केर पछि फर्के । उनले त्यहाँ अंग्रेजहरूसँग सत्र भाइको शासन व्यवस्था सुदृढ पार्न उनीहरूसँग कुनै गोप्य सम्झौता गरेको आशंका छ ।

तर, आजका शासक वर्ग ठ्याक्कै जंगबहादुरको उल्टो दिशातिर अर्थात् प्रतिगामी कदमतिर हिँडिरहेका छन् । नयाँ नागरिकता विधेयक ल्याएका छन् । अहिले त विदेशी शक्तिका खटनपटनमा चल्ने शासकवर्ग छन् । जंगबहादुरले आफ्नो कुटनीतिले नेपालको स्वतन्त्रता तथा सार्वभौमसत्ता विसर्जन हुन दिएनन् तर अहिलेका नेताहरूमा त्यस्तो सोच र अडान पनि छैन । अब हेर्नुछ राष्ट्रपति विद्यादेवी भण्डारी राजा वीरेन्द्रको जस्तो नागरिकता विधेयकको भूमिकामा देखिन्छिन् कि उनले पनि त्यस्तो अडान लिन सक्ने छैनन् ?

उक्त सन्धिको चौथो धारामा ‘हत्या, हत्याको प्रयत्न, बलात्कार, अंगभंग, ठगी, डकैती, लुटपाट, विष प्रयोग, झगडा फसाद, आगलागी आदि अपराधीहरू भागेर एक दोस्राको राज्यमा आएको खण्डमा कम्पनी सरकार र नेपालले एक दोस्राका प्रजालाई सुम्पिदिने उल्लेख छ । यस सन्धिले नेपालको स्वतन्त्रता तथा सार्वभौमसत्तालाई मान्यता दिँदै दुबै देशको सरकारले आआफ्नो तरिकाले राज्य सञ्चालन गर्नेछ भन्ने स्पष्ट छ । दलीय व्यवस्थामा भएको सन्धिसम्झौताहरू हेर्दा अधिकांश राष्ट्रविरोधी छन् । एउटा अशिक्षित प्रधानमन्त्री जंगबहादुर जत्तिको राष्ट्रप्रेम र सफल कूटनीति अहिलेका शासकवर्गमा छँदैछैन । यिनीहरूको सपना केवल विदेशी शक्तिकेन्द्रको सेवा गरेर सत्तामा टिकिरहने हो ।

विदेशी शक्तिकेन्द्रहरूलाई पनि थाहा छ जो आफ्नो देशको हुन सक्दैन ऊ कुनै पनि देशको हुँदैन । यिनीहरूको उपादेयता सिद्धिएपछि यिनीहरूलाई उनीहरूले दूधमा बसेको माखा जस्तै मिल्काइदिनेछन् । यिनीहरू यति कातर छन् कि एसपिपी सम्झौतामा सामेल नहुने निर्णय गरेको पत्र अमेरिकालाई पठाउन डराइरहेको मौका छोपी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमसिसी जसरी एसपिपी पारित गराउन यहाँ आएका थिए । परराष्ट्रमन्त्रीले एसपिपीमा समावेश नहुने पत्र अमेरिकालाई पठाइसकेको मौखिक जानकारी सदनलाई दिए पनि प्रमाण देखाउन सकेनन् ।

जंगबहादुरले आफ्नो शेषपछि आफ्ना सन्ततिको शासनमा रोलक्रम बाँधेको उनका सत्रभाइहरूलाई मन परेको थिएन । लखनउ विजयपछि जंगबहादुर नेपाल फर्के पनि धीरशमशेरसँगै नफर्केर पछि फर्के । उनी त्यहाँ अंग्रेजहरूसँग सत्र भाइको शासन व्यवस्था सुदृढ पार्न उनीहरूसँग कुनै गोप्य सम्झौता गरेको आशंका छ । तिनै धीरशमशेरको सहयोगमा प्रधानमन्त्री वीरशमशेरले अंग्रेजलाई गोर्खा भर्ती केन्द्र खोल्न दिएर सत्र भाइको शासनको सूत्रपात गरे । उनीहरूले षड्यन्त्रपूर्वक प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या गरे किनकि उनले गोर्खा भर्ती केन्द्र खोल्न दिएका थिएनन् ।

उनको हत्या गर्नुपूर्व वीरशमशेर प्रधानमन्त्री बनेपछि गोर्खा भर्ती केन्द्र खोल्न दिने सहमति भयो जसको ताकमा अंग्रेज पहिलादेखि नै थिए । आज त्यसरी नै शासकवर्गले सत्ताको लागि राष्ट्रघात गरिरहेका छन् । जंगबहादुरले नेपालको धन विदेश लग्न दिएका थिएनन् । यसमा उनले कडाइ गरेका थिए तर वीरशमशेरले अंग्रेजसँग सम्झौता गरी अब उप्रान्त नेपालको प्रधानमन्त्री र मन्त्रीहरूले बेलायतको बैंकमा आफ्नो धन सम्पत्ति राख्न पाउने सम्झौता गरेर नेपालको धन विदेश पठाउन थाली नेपाललाई कंगाल बनाए । वीरशमशेरको नीतिलाई अहिलेको शासकवर्गले निरन्तरता दिएर राष्ट्रद्रोह गरिरहेका छन् । राणाहरूले तराईमा इण्डियाबाट मजदुर ल्याएर खेतीपाती गर्न लगाए तर कुनै इण्डियनलाई नागरिकता दिएनन् । तर, गणतन्त्रवादी शासकवर्गले यसो गर्न सकेका छैनन् ।

कुनै ठाउँमा दुईवटा बिरालोले एउटा रोटी भेट्टाएछन् । रोटी कसरी बाँड्ने भनेर उनीहरूमा विवाद भएछ । त्यहीँ नजिक रहेको बाँदरले उनीहरूको झगडा हेरिरहेको थियो । ऊ उनीहरूको नजिक आएर के भइरहेको छ भनेर सोध्यो । उनीहरूले आफ्नो समस्या देखाए । बाँदरले ल म तिमीहरूको निसाफ गर्दै दुवैजनालाई बराबर रोटी बाँडिदिन्छु भनेर दुई टुक्रा गर्‍यो । रोटीको एउटा टुक्रा ठूलो र अर्को सानो भयो । बाँदरले बढी भएको टुक्रालाई आफैँ खाएर बराबर गर्छु भन्दै खायो । एवं रीतले रोटी बराबर हुँदै भएन । अन्त्यमा सबै रोटी बाँदरले खायो । नागरिकतको परिणाम पनि एक दिन हुने यस्तै हो ।

बेलायतका सम्राट जर्ज पञ्चम इण्डिया आएको बेला नेपाल भ्रमण गर्न चाहना राखेकोमा चन्द्रशमशेरले विदेशीलाई देशको भित्रसम्म लग्न हुँदैन, सबै गोप्य कुरा थाहा पाउँछन् भनेर ठोरी जंगलमा आफू स्वयं गई सम्राटको त्यहीँ राजसी स्वागत गरी शिकार खेली खेलाई उतैबाट फिर्ता पठाएका थिए । अब त विदेशीका कारिन्दा सोझै प्रधानमन्त्रीको बेडरुममा पुग्ने हैसियत राख्छन् र हाम्रा संवेदनशील क्षेत्रहरूमा निर्धक्कसँग जाने आउने गर्छन् । तर, हाम्रा पूर्वप्रधानमन्त्री इण्डिया भ्रमणमा जाँदा मोदीको दर्शनाभिलाषी हुँदा हुँदै मोदीले उनलाई दर्शन दिएनन् । काम नपर्दासम्म अर्कालाई टाढै राख्नुपर्छ भन्ने विदेशीहरूले बुझेका छन् ।

इतिहासका जंगबहादुर देशभक्त थिए । सुगौली सन्धिबाट गुमेका केही भूभाग फिर्ता ल्याए, अंग्रेजबाट नेपालको स्वतन्त्रता तथा सार्वभौमसत्ताको रक्षा गरे । नेपालको धन सम्पत्ती विदेशमा जानबाट रोके तर आजका हाम्रा जंगबहादुरहरू देशलाई पराधीन बनाउन तल्लीन छन् । यो प्रवृत्तिको अन्त्य कहिले होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?