आज साउनको तेस्रो सोमबार, शिवालय क्षेत्रमा चहलपहल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । साउनको तेस्रो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। आजै भक्तजनहरूले विभिन्न तिर्थस्थलवाट जल ल्याएर शिवालयमा चढाउने र बोलबम यात्रा गर्ने पनि चलन छ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ। पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन्। साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो । पशुपतिनाथ मन्दिरमा गतहप्ताभन्दा भारतीय पर्यटक पनि बढेका छन् ।

पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीको पनि आज उल्लेख्य सहभागिता छ । सुन्दरीजलबाट शुद्ध जल लिएर आई बोल बम यात्रीले पशुपतिनाथ मन्दिरमा अर्पण गरिरहेका छन् । बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउन चाहनेको चार ढोकामध्ये एक ढोकामा व्यवस्था गरिएको जनाइएको छ । साउनको सोमबार भगवान् शिवलाई शुद्ध जलमात्र चढाए पनि खुसी भई मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

साउन भगवान् शिवजीको महीना मानिन्छ । सोमबारलाई भगवान् शिवको बारका रुपमा मानेर भक्तजनको विशेष भीड लाग्ने गरेको हो । साउनको सोमबार विशेषगरी महिलाले व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ । यसो गरेमा विवाहिता महिलाले अटल सौभाग्य एवं अविवाहिता महिलाले सुयोग्य वर पाउने धार्मिक मान्यतासमेत रही आएको छ ।

यसै मान्यताका आधारमा साउनको सोमबार देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत काठमाडौँ उपत्यकाका शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?