ललितपुरका दुई पालिकामा भेटिए डेङ्गु सङ्क्रमित 

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५ र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर-घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौँ ।” हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भेटिएको उहाँले जानकारी दिनुुभयो ।

उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्‍याउन आवश्यक भएको कार्यालय प्रमुख डा विष्टको भनाइ थियो ।

सङ्क्रमित भएका स्थानमा सरसफाइका लागि उक्त कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगपालिकाका स्वास्थ्य एवं सरसफाइकर्मी लागिपरेका छन् ।

एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्ने गर्दछ ।

विशेषगरी, बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने चिकित्सकहरुको भनाइ छ । डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन ।

घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।

डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन नदिने र सामान्य कुराको होसियारी अपनाउन सकेपनि डेंगु रोगको जोखिमबाट बच्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?