तीन वर्षदेखि हिल्सा नाका खुलेन : हुम्लीको रोजगारी गुम्यो

Read Time = 10 mins
A A- A+

-दाने बोहरा
हुम्ला । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा नआउँदा हुम्लीको रोजगारी गुमेको छ ।
कोभिड–१९ को संक्रमणले विगत तीन वषदेखि बन्द रहेको हिल्सा नाका नखुल्दा जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा,सदरमुकाम सिमकोट, खार्पुनाथका साथै सर्केगाड गाउँपालिकाका अधिकांस स्थानीयवासीको रोजगारीका साथै रोजीरोटी गुमेको छ ।

तीन वर्षदेखि यहाँका नागरीक छिमेकी मुलुक चीनमा जान नपाउँदा आम्दानी न्यून रहेको भएको स्थानीयको भनाई छ । नाका सञ्चालनमा नआउँदा उत्तरी नाम्खा गाउँपालिकाका नागरीकले बढी घाटा व्यहोर्नु परेको छ । यो समय चीनको ताक्लाकोटमा गएर ज्यालामदुरी गरेर राम्रो कमाई गर्ने सिजन भएपनि सिमानाका सञ्चालनमा नआउँदा रोजीरोटी गुम्नुका साथै आर्थिक संकट भएको नाम्खा गाउँपालिका–१ का दावा लामाले गुनासो पोख्नुभयो । लामाले भन्नुभयो, यो “समय ताक्लाकोटमा गएर एक जना कामदारले सिजनमा रु ५ देखि रु ६ लाख सम्म कमाई गर्ने भएपनि तीन वर्षयता बन्द भएको छ ।” नाम्खावासीलाई सिमानाका सञ्चालनमा आएको समय निकै सहज हुन्थ्यो अहिले नाका बन्द हुँदा भएको उहाँको भनाई थियो ।

नाम्खावासीको सबै उठबस छिमेकी मुलुक चीनसँग हुनेभएपनि नाका बन्दले समस्या व्यहोर्नु परेको छ । यहाँका स्थानीय यो समय ताक्लाकोट पुगेर ज्यालामजदुरी गरेर दैनिक नेपाली रु तीन देखि चार हजारसम्म कमाउने गर्थे । अब रोजगारीको अरु कुनै माध्यमन नभएको उहाँको भनाई छ । सिमानाका बन्द हुँदा नाम्खा गाउँपालिका मात्रै नभएर सिमकोट, खार्पुनाथ र सर्केगाड सहित जिल्लाभरका नागरीकलाई आर्थिक अवस्था मन्दि बनाएको छ ।

नाम्खामा वर्षको एक पटक मात्रै उब्जनी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका जिल्लाको उच्च क्षेत्रमा पर्ने भएकाले वर्षको एक पटक मात्रै उब्जनी गर्दछ । जुन वाली लगाएपनि वर्षको एक पटक मात्र उत्पादन हुने भएकाले यहाँका नागरीकलाई थप खाद्यन्न संकट हुने गरेको अर्का स्थानीय लाल बहादुर लामाले बताउनुभयो । उहाँका अनुसार उवा,जौ, गहुँ लगाएपनि एक पटक मात्रै उब्जनी हुनेभएकाले तीन वर्ष यता वेलावेला खाद्यान्न संकट निम्तीदै आएको बताउनुभयो । हिउँदको समय हिमपातले आवतजावतमा कठिनाई हुने गर्दछ वर्षाको समय केही हुने उहाँले बताउनुभयो । सिमानाका नखुल्दा सिमकोटबाट खाद्यान्न लगायत अन्य सामाग्री ढुवानी गरेर लिन महंगो पर्ने गरेको लामाले बताउनुभयो । सिमा सञ्चालनका लागि आफुहरुले गाउँपालिकादेखि जिल्ला प्रशासनमा पटकपटक आग्रह गर्दापनि सुनुवाई नभएको यहाँका नागरीकको गुनासो छ ।
आर्थिक संकटमा व्यवसायी

हिल्सा नाका बन्द भएपछि यहाँका नागरीकको आम्दानी न्यून रहनुका साथै यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले बताउनुभयो । यो सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक संकटमा परेको अध्यक्ष लामाले बताउनुभयो । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरीदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उहाँको भनाई छ ।
नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरुको लगानी संकटमा पुगेका छन् । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ ।

रोजगारी गुम्यो

हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करीब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ । वैशाख महीनाको अन्तिम महीनादेखि हिमपातले रोकिएको नाका जेठ महिनाको पहिलो साता खुलेर रोजगारीका लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर तीन वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् ।
वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुनेगरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या बनाएको छ ।
करीब ८ महीना बढी चीनमा काम गरेर हुम्ला फिर्ता हुनेगरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउन समेत समस्या बनाएको छ ।
उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ । हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुनुका साथै दशैंतिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको हुम्लीको गुनासो छ ।

च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकासियो

तीन वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि जिल्लामा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा विभिन्न चार्डपर्वको समयमा यहाँका बासिन्दाले महंगो मूल्य तिरेर खसिको मासु खार्नुपर्ने बाध्यता छ ।
चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरीद गर्नुपरेको छ । गाउँघरमा पाइने स्थानीय प्रति खसिको २० देखि ३५ हजार सम्म मूल्य पर्ने गर्दछ भने प्रति केजी मासुको रु १३ सय पर्ने गरेको छ । यो समय सदरमुकाम सिमकोट सहित आसपासको क्षेत्रमा चिनियाँ च्याङ्ग्रा भरिभराउ हुने गर्थे । तर तीन वर्ष यता आयात हुन नसकेको हो । हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल विक्री हुने गरेको छ ।

सिमा सञ्चालनमा ल्याउन पहल भइरहेको पालिका अध्यक्ष लामा

विगत तीनवर्ष देखि बन्द रहेको सिमानाका सञ्चालनमा ल्याउनका लागि गाउँपालिकाको तर्फबाट आफु लागि परेको पालिका अध्यक्ष प्रेम लामाले बताउनुभयो । अध्यक्ष लामाले भन्नुभयो, सिमा सञ्चालनका लागि जिल्ला प्रशासन देखि माथिल्लो निकायसम्म पहल भइरहेको र यो वर्ष सञ्चालनमा आउन सक्ने उहाँले बताउनुभयो । गत बैशाख ३१ गते निर्वाचीत भए लगत्तै आफु सिमा सञ्चालनका लागि लागि परेको अध्यक्ष लामाले बताउनुभयो । भाद्र महिनासम्म सिमा सञ्चालनमा ल्याउने उहाँको भनाई छ । ताक्लाकोटमा गएर व्यापार व्यवसाय गर्ने र काम गर्ने सिजन आजभोली भएकाले सिमा सञ्चालन चाडो ल्याउन आफु लागि परेको पालिका अध्यक्ष लामाले बताउनुभयो ।

उता जिल्ला प्रशासन कार्यालय हुम्लाका सहयाक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलका अनुसार सिमाको विषय भएकाले माथिबाटै हिलला नाका खुलाउन पहल हुनेभएकाले आफुहरु माथिको पर्खाइमा रहेको बताउनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?