इंग्ल्यान्ड पहिलोपल्ट युरो च्याम्पियन

Read Time = 2 mins

लन्डन । आठपटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक महिला युरो च्याम्पियनसिपको च्याम्पियन बनेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पहिलोपटक युरो च्याम्पियन बनेको हो ।

बेम्वली स्टेडियममा आइतबार राती भएको खेलमा इंग्ल्यान्डको जितमा एला टोन र क्लोइ केलीले गोल गर्नुभयो । जर्मनीकी लिना मागुलले एक गोल फर्काउनुभयो ।

६२औँ मिनेटमा एला टोनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले केइरा वाल्सको पासमा गोल गर्नुभएको थियो । ७९औँ मिनेटमा लिनाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । अतिरिक्त समयको ११०औँ मिनेटमा परिवर्तित खेलाडी क्लोइ केलीले गोल गर्दै इंग्ल्यान्डलाई जितसहित पहिलोपटक युरोकपको च्याम्पियन बनाउनुभयो ।

महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको इंग्ल्यान्डले पहिलोपटक उपाधि जितेको हो । यसअघि इंग्ल्यान्ड सन् १९८४ मा स्विडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६-२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

१२औँ संस्करण जारी रहँदा नवौँपटक फाइनलमा प्रवेश गरेको जर्मनी यसपटक भने सफल भएन । जर्मनी यसअघि फाइनल प्रवेश गरेका सबै आठैपटक च्याम्पियन बनेको थियो । जर्मनी १९८९, ९१, ९५, ९७, ०१, ०५, ०९ र १३ को च्याम्पियन हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?