रोनाल्डो खेलेको खेलमा युनाइटेड बराबरीमा रोकियो

Read Time = 4 mins

लन्डन । पोर्चुगिज भेट्रान सुपरस्टार क्रिस्टियानो रोनाल्डो खेलेको प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा स्पेनिस क्लब रायो भायोकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

रोनाल्डो प्रि-सिजनका अन्य खेलमा टोलीसँग सामेल हुनुभएको थिएन । रोनाल्डोले क्लब छाड्ने चर्चाका बीच उहाँ टोलीमा देखिनुभएको हो । उहाँलाई दोस्रो हाफको सुरुमै अमद डियालोले प्रतिस्थापन गर्नुभएको थियो । रोनाल्डोको स्थानमै मैदान छिर्नुभएका डियालोले ४८औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ५७औँ मिनेटमा अल्भारो गार्सियाले बराबरी गोल फर्काउनुभयो ।

युनाइटेड अघिल्लो खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग १-० ले पराजित भएको थियो । त्यसअघि, युनाइटेडले लिभरपुल, मेलबर्न भिक्टोरी र क्रिस्टल प्यालेसलाई हराउँदा एस्टन भिल्लासँग २-२ को बराबरी खेलेको थियो । युनाइटेडले अर्काे साता ब्राइटनविरुद्धको खेलबाट प्रिमियर लिगको नयाँ सिजन सुरु गर्नेछ ।

आइतबार राती नै लेस्टर सिटीले सेभियालाई १-० ले हराउँदा लिड्स युनाइटेडले काग्लिएरीलाई ६-२ ले हराएको छ । वल्भ्स र फरेन्सले तथा फुलहम र भिल्लारियलले समान १-१ गोलको बराबरी खेल्नुभएको थियो । यस्तै एसी मिलानले मार्सेलाई २-० ले पराजित गरेको छ । लिभरपुल स्ट्रासवर्गसँग ३-० ले पराजित हुँदा नेपोली र मलोर्काले १-१ गोलको बराबरी खेल्नुभएको थियो ।

इंग्लिस क्लब लिभरपुलले प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । लिभरपुल घरेलु मैदानमा फ्रान्सेली क्लब स्ट्रासवर्गसँग ३-० ले पराजित भएको हो । एनफिल्डमा आइतबार राती भएको खेलमा स्ट्रासवर्गको जितमा एड्रिएन थोमासनले दुई तथा हावीवोउ डिएलोले एक गोल गर्नुभयो ।

खेलको चौथो मिनेटमा एड्रिएनले गोल गर्दै स्ट्रासवर्गलाई अग्रता दिलाउनुभयो । १४औँ मिनेटमा हावीवोउ डिएलोले गोल गर्दै टोलीको अग्रता दोब्बर पार्नुभयो । २१औँ मिनेटमा एड्रिएनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि स्ट्रासवर्ग खेलमा ३-० ले अघि बढ्यो ।
तीन गोलले पछि परेको लिभरपुलले बल पोसेसन राख्दै स्ट्रासवर्गलाई दबाबमा राखे पनि फिनिसिङ गर्न नसक्दा पराजित हुन पुग्यो । लिभरपुलले शनिबार राती प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै सिजनको पहिलो उपाधि जितिसकेको छ । अब लिभरपुलले शनिबार फुलहमसँग खेल्दै नयाँ सिजनको प्रिमियर लिगको सुरुवात गर्दैछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?