नवौँ राष्ट्रिय खेलकुद : ३८ खेलका ४०७ इभेन्ट्स हुने

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेलका ४०७ इभेन्ट्समा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को ११३आँै बैठकले खेल र विधा टुंग्याएको हो । ३६ खेल र दुई प्रदर्शनी खेल गरी ३८ खेलहरू हुनेछन् । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सोमबार बसेको बैठकले परिषद्को आव २०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेटसमेत पारित गरेको छ ।

राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार रुपैयाँ भत्ता दिइने भएको छ । प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरिएको छ । प्रदेश तथा विभागीय टिमहरूले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने र प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरिएको छ ।

प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई नगद २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालार्ई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई ५० हजार उपलव्ध गराउने निर्णय गरिएको छ । प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गराइने भएको छ । परिषद्को कर्मचारी सेवा, शर्तसम्बन्धी विनियम तयार गर्न परिषद् सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यस्तै, परिषद्को भौतिक संरचना तथा सम्पत्ति यकिन तथा प्रदेशमा हस्तान्तरणसम्बन्धी परिषद् सदस्य अञ्जन धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ । खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

परिषद्अन्तर्गत कार्यरत कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाइने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइने जनाएको छ ।

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा बसेको मूल आयोजक समितिको दोस्रो बैठकबाट १२ समिति तय भएको कार्यकारी समितिका संयोजकसमेत रहनुभएका राखेप सदस्य-सचिव टंकलाल घिसिङले जानकारी गराउनुभयो । विभिन्न उपसमितिको संयोजकसमेत राखेपले घोषणा गर्दै सबै समितिलाई आ-आफ्नो जिम्मेवारी सुम्पिएको छ ।

‘उपसमितिको निर्णय गरेका छौँ । निर्देशिकाले १४ उपसमिति बनाउन अधिकार दिएको छ । जसमध्ये हामीले १२ उपसमिति बनाएका छौं,’ घिसिङले भन्नुभयो । अनुशासन समिति र सुरक्षा समिति भने राखेपले केही समयपछि मात्रै घोषणा गर्ने सदस्य-सचिव घिसिङले बताउनुभयो । गठन भएका समितिको सचिव, प्रशासकीय कर्मचारी प्रायः राखेपकै विज्ञ रहेको सदस्य–सचिव घिसिङले बताउनुभयो । नेपाल सरकारले ६० करोडभित्र नवौँ प्रतियोगिता समापन गर्न निर्देशन दिएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशले ३६ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेल संख्याको टुंगोे लगाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय खेलकुदका सबै खेल स्पर्धामा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । कर्णालीले प्रतियोगितामा आफ्नो प्रदेशबाट ५६० जनाको सहभागिता रहने उल्लेख गरेको छ । सदस्य–सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८०० खेलाडीसहित एक हजार प्रशिक्षक, ५०० व्यवस्थापक, ११४ संघका प्रतिनिधि र एक हजार निर्णायक सहभागी हुने जानकारी दिनुभयो ।

नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।

नवौँ खेलकुदमा भाग लिनका लागि जेठ १० गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने मिति राखेपले तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमा केही बजेट गण्डकी प्रदेशले पनि थप्नेछ । अपुग रकमका लागि सरकारसँग माग गरिने सदस्य–सचिव टंकलाल घिसिङले बताउनुभयो ।

यस्तै, बोर्ड बैठकले २०२३ मा हुने चौधौँ साग, २०२३ मा हुने १९औँ एसियाली खेलकुद, २०२४ मा हुने पेरिस ओलम्पिक, २०२६ मा हुने शीतकालीन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सको तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने निर्णयसमेत गरेको छ । यस्तै खेलाडीका लागि छात्रावास निर्माण गर्ने तथा मूलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गरिने बोर्ड बैठकले निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?