रेड्मीले हरेक वर्गका ग्राहक समेटेको छ : अमित पण्डा

Read Time = 6 mins

नेपाली बजारमा विभिन्न कम्पनीका मोबाइलबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । प्रतिस्पर्धाले उपभोक्ता पनि लाभान्वित हुने गरेका छन्, कम मूल्यमै स्तरीय मोबाइल फोन प्रयोग गर्न पाएका छन् । पछिल्लो समय रेड्मी ब्रान्डप्रति नेपाली उपभोक्ताको आकर्षण देखिएको छ । यिनै विषयमा रेड्मी मोबाइलका नेपालस्थित कन्ट्री जनरल म्यानेजर अमित पण्डासँग गरिएको कुराकानी :-

रेड्मी ब्रान्ड छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्नुको कारण के होला ?
हाम्रो लक्ष्य भनेको सर्वसाधारणका लागि नवीनतम प्रविधि उपलब्ध गराउँदै उनीहरूको दैनिकी सहज बनाउने हो । हामी विशेष गरी सुपथ मूल्यमा अत्याधुनिक प्रविधि भित्र्याउन लागिपरेका छौँ । हाम्रा नेपाली एमआइ फ्यान र उपभोक्ताको बढ्दो साथका कारण रेड्मीले छोटो समयमै नेपाली बजारमा लोकप्रिय बनेको हो । त्यसो त प्रारम्भिक चरणमा हामीले अनेक चुनौती सामना गर्नुपर्‍यो । सबैभन्दा ठूलो चुनौती त चाइनिज फोन भन्नासाथ कम गुणस्तरीय र दुई-चार दिनमात्र टिक्ने हुन्छन् भन्ने सोचाइ थियो तर हामी त्यस्तो सोच बदल्न सफल भइसकेका छौँ । जसका लागि प्रारम्भिक चरणदेखि नै हाम्रा उपभोक्ताले हामीलाई गर्नुभएको विश्वास र उहाँहरूले हाम्रो उत्पादनको गुणस्तर बढाउन निरन्तर प्रदान गरिरहने सल्लाह सुझावप्रति हामी अत्यन्तै आभारी छौँ ।

डिजाइन र मूल्यका हिसाबले रेड्मी फोनमा के-कस्ता विशेषता रहेका छन् ?
आफूले खर्च गर्न सक्ने बजेटमा धेरै मोडलका मोबाइल सेट किन्न सकिने भएकाले रेड्मी सिरिजलाई धेरै उपभोक्ताले रुचाउनुभएको छ । गेमिङका लागि पनि रेड्मी नै रोज्नुहुन्छ किनकि यो हेर्नमा राम्रो त छ नै, साथै यसको क्यामेरा क्वालिटी पनि उत्कृष्ट छ, डिस्प्ले पनि कलरफुल छ । ब्याट्री पनि धेरै टिक्छ । रेड्मीको मान्यता के छ भने स्मार्टफोनको मूल्य जस्तोसुकै भए पनि हेर्दा भद्दा हुनुभएन । त्यसैले आफूले खोजे जति सबै फिचर भएको अनि ट्रेन्डी र स्टाइलिस पनि भएको हुँदा रेड्मी फोन अत्यन्तै मन पराइएका छन् ।

सस्ता फोनमा फिचरहरू कम हुन्छन् भन्ने बुझाइ छ नि ?
राम्रा–राम्रा सुविधा केवल महँगो फोनमा मात्र हुनुहुँदैन भन्ने मान्यतामा हामी विश्वास राख्छौँ । यही विश्वास कायम गर्दै हामीले युवा वर्गलाई लक्षित गरी सस्तो मूल्यमा फ्ल्यागसिप स्पेसिफिकेसन भएका स्मार्टफोन उपलब्ध गराउँदै आएका छौँ । युवावर्ग लक्षित भए पनि यी फोन युवामा मात्र सीमित छैनन् किनकि रेड्मी बजेट, मिड रेन्ज र प्रिमियम मिड रेन्जलगायतका फरक-फरक मूल्यमा उपलब्ध छन् । फ्ल्यागसिप फोनको अनुभव लिन मूल्य पनि फ्ल्यागशिप नै तिर्नुपर्छ भन्ने हामीलाई लाग्दैन ।

रेड्मीका नयाँ-नयाँ मोडलहरू छिटो बजारमा आउँछन् नि ?
रेड्मीले निरन्तर परिवर्तन भइरहनुपर्ने अहिलेको प्राविधिक आवश्यकता राम्रोसँग बुझेको छ । हामीले यसरी निरन्तर परिवर्तन भइरहन प्रविधिसँगसँगै बदल्नुपर्ने आवश्यकता पनि राम्रोसँग महसुस गरेका छौँ । हाम्रा सबै प्रकारका उपभोक्ता हुनुहुन्छ र त्यसले गर्दा छुट्टाछुट्टै मूल्यअनुसार अलग-अलग फिचर भएका फोन सेटको माग भइरहन्छ, जुन हाम्रो लोकप्रियताको एउटा कारण पनि हो । त्यसैले हामी रेड्मीको हरेक नयाँँ लन्चमा हाम्रा उपभोक्ताको अलग-अलग आवश्यकता सम्बोधन गर्ने प्रयास गर्छौँ ।

रेड्मीका लागि नेपाली बजार आगामी दिनमा कस्तो रहला ?
किफायती मूल्यमा नवीनतम प्रविधि उपलब्ध गराउनुका साथै हामी फोटो खिच्न मन पराउने उपभोक्ताका लागि विशेष खालको स्मार्टफोन पनि लन्च गर्ने सोचमा छौँ । हाम्रा अन्य उपभोक्ताका लागि पनि सुपथ मूल्यमै फाइभ जी प्रविधियुक्त फोन ल्याउने तयारीमा छौँ । त्यस्तै सर्वाधिक मन पराइएका रेड्मी ए सिरिजले पनि आफ्नो यो विरासत कायमै राख्नेछन् । नवीनतम र उपयोगी प्रविधि उपभोक्तालाई प्रदान गर्न हामी प्रतिबद्ध भएर लागिरहने छौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?