काभ्रेस्थली घटना : ‘श्रीमान्- श्रीमतीको विवादले परिवार नै सखाप’, प्रहरी भन्छ- हत्या आपसी बेमेलबाट भएको जस्तो देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ

सन्दीप पौड्याल
Read Time = 9 mins

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा सोमबार बिहान एकै परिवारका चारजना मृत भेटिए । मृत्यु हुनेमा ४१ वर्षीय दिनेशसहित ३९ वर्षीया पत्नी सुनीता, १३ वर्षीया छोरी आशिका र आठ वर्षीय छोरा आशिक पाण्डे रहनुभएको छ । तीन जनाको हत्या भएको अवस्थामा र दिनेशको झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार पाण्डे परिवारको शव भेटिएको कोठाको अवस्था वीभत्स थियो । एउटा खाटमाथि छोराछोरीको शव थियो भने खाटमुनि अर्धनग्न अवस्थामा दिनेशकी श्रीमतीको शव रहेको थियो । उहाँको शरीरभरि धारिलो हतियार प्रहार भएको थियो । त्यस्तै, दिनेशको समेत शरीरमा धारिलो हतियार प्रहार भएको थियो । पाण्डे परिवार गोरखाको भीमसेन थापा गाउँपालिका-६, अश्राङ घर भई पदमसालमा बस्दै आएको प्रहरीले जनाएको छ ।

चारजना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । घटनाको अनुसन्धान गरिरहनु भएका एसपी कोइरालाले दिनेशले परिवारका सदस्यहरूको हत्या गरेर आत्महत्या गरेको आशंका गर्नुभएको छ । घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी उक्त कोठाभित्र छिर्न खोज्दा कोठा भित्रबाट बन्द गरिएको थियो । त्यसपछि प्रहरी उक्त ढोका फोडेर भित्र प्रवेश गरेको थियो । जसले गर्दा उक्त घटनामा बाहिरी मानिसको संलग्नता नरहेको आशंका प्रहरीले गरेको हो । दिनेश करिब १२ वर्ष कुवेतमा बसेर साढे चार वर्षअघि नेपाल फर्किनुभएको थियो । तर, पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनीता पारिवारिक झगडा लिएर तीन पटकसम्म प्रहरीको बालाजु वृत्तमा पुगिसकेको प्रहरीले नै बताएको छ । प्रहरीका अनुसार घटनाको मुख्य कारण नै पारिवारिक बेमेल देखिएको छ ।

घटनाबारे यस्तो भन्छन् छिमेकी
घटनाबारे छिमेकी पनि पारिवारिक बेमेल नै रहेको बताउँछन् । दिनेशले श्रीमती सुनिताको चरित्रबारे प्रश्न उठाउँदै आउनुभएको थियो । श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले श्रीमतीलाई कुटपिटसमेत गर्ने गरेको छिमेकी बताउँछन् । सुनिताले भने उक्त आरोप अस्वीकार गर्दै आउनुभएको थियो । छिमेकीका अनुसार घरमा झैझगडा बढ्न थाले पनि सुनिता ‘सिजनल भिसा’मा बेलायत जाने तयारीमा हुनुहुन्थ्यो । पछिल्लो समय दिनेशले मदिरा सेवन पनि बढी गर्ने गरेको छिमेकीको भनाइ छ ।

यसरी थाहा भयो घटना
सधैँ बच्चाहरूले हल्लाखल्ला हुने घर सोमबार बिहान अबेरसम्म चकमन्न नै थियो । त्यही पनि उक्त घरमा के भएको छ भन्ने कुरा छिमेकीले न राति सुइँको पाए, न त बिहान नै । घटना तब मात्र थाहा भयो । जब आशिकालाई लिन उहाँको स्कुल बस घर आइपुग्यो । आर्मी स्कुलमा पढ्ने आशिकालाई लिन स्कुल बस त आयो तर धेरैबेर कुुर्दासमेत कसैले जवाफ नदिएपछि बसका चालक आफैँ बोलाउन झ्यालमा पुगे । झ्याल खुल्लै थियो । उनले झ्यालबाट आशिकालाई बोलाए पनि तर कसैले नबोलेपछि उनले झ्यालबाट भित्र हेरे । त्यसपछि भित्र जे देखे उनको होस् हवासै उड्यो । र उनैले छिमेकी गुहारे र लगत्तै प्रहरीलाई खबर गरेका थिए । उक्त भनाइ छिमेकीले हामीलाई सुनाएका हुन् ।
पाण्डेले श्रीमतीसहित छोरा र छोरीको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेर आफैँले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार घटनाको प्रकृतिले त्यस्तै देखाएको छ ।

दिनेश र सुनिताको घरनजिकै छुट्टाछुट्टै पसलसमेत रहेको छ । दिनेशले मोबाइल पसल सञ्चालन गरिरहनु भएको थियो भने सुनिताले फेन्सी पसल सञ्चालन गरिरहनु भएको थियो । पछिल्लो समय सुनिता ‘सिजनल भिसा’मा बेलायत जाने तयारीमा रहेको र श्रीमानसँगको सम्बन्धका बारेमा राम्रो नरहेको उहाँले छिमेकी, माइती पक्ष र आफन्तसँग कुरा गर्दै आएको उक्त घटनापछि खुलेको छ ।

यता, सुनिताका माइती पक्षले भने घटनामा अरूको पनि संलग्नता भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धानको माग गरेका छन् । उनीहरूले सोमबार घटनास्थलबाट शव उठाउन केही समय प्रहरीलाई अवरोधसमेत गरेका थिए । दिनेश र सुनिताबीच विवाद रहेको माइती पक्षको भनाइ छ । दिनेशले सम्बन्ध विच्छेद गर्न चाहे पनि सुनिताले स्वीकार नगरेको उनीहरूको भनाइ छ । सुनिता विदेश जाने भएपछि उनीहरूबीच विवाद बढेको माइती पक्षको दाबी छ । घटनाको अनुसन्धान शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टिम डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोलीले गरिरहेको छ । मृतक चारै जनाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

के छ सुसाइड नोटमा ?
परिवारकै वीभत्स हत्या भएको घटनास्थलबाट प्रहरीले फेला पारेको पाँच पाना लामो ‘सुसाइड नोट’मा मृतक पाण्डेले श्रीमती सुनिता पाण्डेका कारण आफूले नसोचेको घटना गर्न बाध्य बनेको उल्लेख गर्नुभएको छ । उहाँले सुसाइड नोटमा लेख्नुभएको छ, ‘प्यारी सुनिता तिमीले मेरो मर्मलाई कहिल्यै बुझिनौँ । मैले घरमा खाना नखाएको एक महिना भयो । योबारेमा तिमीलाई कहिल्यै मतलब भएन । अझ जति माया गर्दा पनि मेरो उल्टै बदनाम गरेर छोड्यौ । प्रहरीमा लगेर थुनाउन खोज्यौ ।’ उहाँले अगाडि लेख्नुभएको छ, ‘परिवार र तिम्रो खुसीका लागि विदेशमा दुःख गरेर घर बनाएँ । तर, यसलाई मास्ने प्रयास गर्‍यौ । मलाई एक्लै पार्न खोज्यौ ।’

त्योबाहेक पाण्डेले आफ्नो सुसाइड नोटमा आफ्ना दाइ राजेन्द्र पाण्डेसँग माफी पनि माग्नुभएको छ । उहाँले आफ्ना दाइ पाण्डेलाई सम्बोधन गर्दै अन्त्यमा भन्नुभएको छ, ‘श्रीमतीकै कारण मैले नसोचेको घटना गर्न पुगेँ । यहाँसम्म आइपुग्दा तपाईंको माया र स्नेहले म यो ठाउँमा पुगेँ । तर, श्रीमतीका कारण यो अवस्थामा पुगेँ । श्रीमतीसँगको झगडाबारे तपाईंलाई पनि थाहा नै छ । मेरो कारण तपाईंलाई केही दुःख परेको भए माफी चाहन्छु । मैले नचाहँदा नचाहँदै पनि यो अवस्थामा पुगेँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?