महँगी र भ्रष्टाचारविरुद्ध एमालेको सडक प्रदर्शन, सरकारमाथि आरोपै आरोप

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रेको छ । नेकपा एमालेले सोमबार महँगी, भ्रष्टाचार र अनियमितताविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई उठाएर एमालेले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन काठमाडौंको वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बांगेबुढा हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा उत्रिएका एमालेका नेता तथा कार्यकर्ताले विभिन्न ब्यानर, ग्यास सिलिण्डर बोकेर विरोध जनाएका थिए । सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले प्रदर्शन गरेको जनाएको छ । सरकारका कारण महँगी, भ्रष्टाचार र बेथिति बढेको एमालेका आरोप छ ।

प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित उपत्यका विशेष प्रदेश कमिटी र त्यस अन्तर्गतका चारवटा जिल्ला कमिटी, सम्पर्क कमिटी, भ्रातृ तथा जनवर्गीय संगठनहरू अनेरास्ववियू, प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेसन, इञ्जिनियरिङ एसोसियसन, अपांग संघ, ट्रेड युनियन महासंघलगायत नेता तथा कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका थिए । गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको जनप्रदर्शन आयोजक कमिटीका संयोजक एवं नेकपा एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

यो माफियाको सरकार हो : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार माफियाको सरकार भएको आरोप लगाउनुभएको छ । भ्रष्टाचार र महँगीविरुद्ध एमालेले सोमबार काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महँगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारले चार प्रतिशतमा कायम राखेको महँगी अहिले बढेर आठ प्रतिशतमाथि लागेको जिकिर गर्दै पोखरेलले भन्नुभयो, ‘यो सरकारका कारण महँगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ । एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र समृद्धिको चाहना समाप्त पार्न खोजिएको छ । यो सरकार रहिरहे नेपाल श्रीलंका बन्ने खतरा छ । अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद् राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ । यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’

नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप
महासचिव पोखरेलले देशहितविपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाउनुभयो । महँगी र भ्रष्टाचारको विरोधमा आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको छ । नागरिकता विधेयकमा अंगीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्थाअनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेको कारण एमालेको आपत्ति रहेको छ । नेपाली चेलीहरू विवाह भएर भारत जाँदा नागरिकताका लागि सात वर्षसम्म पर्खिनुपर्ने तर भारतीय चेलीहरूले नेपालीसँग विवाह गरेर आउँदा विहे गरेकै बखतमा नागरिकता दिने खालको असन्तुलित प्रावधान संसद्ले पारित गरेको छ । यो संसद् राष्ट्रको हितमा छैन । जनताको हितमा छैन । अब यो संसद्लाई विघटन गरेर नयाँ चुनाव जानुपर्छ ।’
मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताउँदै महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नजरमा चोखिए पनि जनताको नजरमा दोषी नै रहेको टिप्पणी गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘आज यो सरकारले जनताको भविष्यमाथि खेलबाड गर्ने मन्त्रीलाई प्रमाण लुकाएर चोख्याएको दाबी गरिरहेको छ । शेरबहादुर देउवा र प्रचण्डका लागि जनार्दन शर्मा चोखिएका होलान्, जनताको नजरमा राष्ट्रको अपराधीका रूपमा, राष्ट्रको घातकका रूपमा जनताले चिनेका छन् । आज देउवा र प्रचण्डले जनतामाथि घात गर्नेहरूलाई संरक्षण गरेका छन् । अब तिनीहरूलाई सजाय दिनका लागि आउने चुनावमा हामीले उनीहरूलाई दण्डित गर्नेछौँ । सात दलीय गठबन्धन, पाँच दलीय गठबन्धन जे बनाएर आऊन्,उनीहरूलाई हामीले चुनावका मैदानमा पराजित गर्नेछौँ ।’

मल छैन सरकार, कसरी चल्छ घरबार ?
महँगी, भ्रष्टाचार तथा अनियमितताको विरोध गर्दै प्रदर्शन गरेका एमालेका नेता तथा कार्यकर्ताले सरकारले इन्धन तथा खाद्यान्नमा मूल्यवृद्धि, भ्रष्टाचार लगायत अनियमितता रोक्न माग गरेका छन् । प्रदर्शनकारीहरूले ‘बढ्दो महँगी नियन्त्रण गर्’, ‘मल छैन सरकार, कसरी चल्छ घरबार ?’, ‘मेरो उत्पादनको मूल्य कति हो सरकार ?’, ‘अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महँगी नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर्’ लगायतका नारा लेखिएका पोष्टर र ब्यानरसहित सरकारविरुद्ध नारावाजी गरेका थिए । वसन्तपुरबाट निस्किएको ¥याली भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

लिम्पियाधुरासहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट हट्नुमा प्रमुख दुई कारण सार्वजनिक गर्नुभएको छ । काठमाडौंमा सोमबार पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट हट्नुको कारण सार्वजनिक गर्नुभएको हो । अध्यक्ष ओलीले उत्तरतिरको नाका खोल्दा र लिम्पियाधुरा, लिपुलेक लगायतका नेपाली भूमि नेपालको नक्सामा समेट्दा आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गर्नुभएको हो । आफूले प्रधानमन्त्री पदको जोखिम मोलेर यी दुई काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘नाकाबन्दी लागेपछि उत्तरतिरका नाका खोलेर अब उपरान्त नाकाबन्दी हुन नसक्ने सुनिश्चित गरेँ । चीनसँग पारवहन सन्धि गरेँ । मलाई त्यतिबेला नै थाहा थियो, प्रधानमन्त्रीबाट हट्छु भन्ने । त्यसपछि विभिन्न उद्योग गरेर आफूलाई पदबाट हटाइयो ।’

लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि नेपालकै रहेको दोहोर्‍याउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी अर्घेल्याइँ गर्दैनौँ । त्यो नेपालको भूमि हो । सन् १८१६ मार्चमा कार्यान्वयन भएको सुगौली सन्धिले कालीको पूर्व नेपाल भनिसकेकाले यसमा विवाद नै हुन सक्दैन ।’
आफू प्रधानमन्त्री भएका बेला इतिहास खोजेर समेटेपछि प्रधानमन्त्रीबाट हट्न बाध्य भएको जिकिर गर्दै अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटेको भन्दा देश कता जाँदैछ भन्नेमा चिन्ता रहेको बताउनुभयो । २०२६ सालमा कीर्तिनिधि विष्टको पद पनि चेकपोष्ट हटाएकै कारण गएको स्मरण गर्दै पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले सत्ता जोगाउन राष्ट्रिय हित विपरीतका गलत काममा उद्यत हुन नहुने धारणा राख्नुभयो ।

महाकाली सन्धिमा कमजोरी भएको स्वीकारोक्ति
नेपालको संसद्ले एकीकृत महाकाली सन्धि अनुमोदन गरेको साढे दुई दशकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गर्नुभएको छ । पूर्व-जलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै एकीकृत महाकाली सन्धि अनुमोदन गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा कन्जक्टिभ वाटर (पानी खपतको बाँडफाँट)को विषयमा प्रशस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस (कमजोरी) रहे । त्यसलाई (तल्लो शारदा नहर)को पानी दिन्छु भनेर कबुल गरिएको छैन । जति पानी छ त्यसको आधारमा आधा भनेको हो । महाकाली सन्धिले आधा पानी नेपालको हो भनेर स्थापित गरेको छ ।’ २०५३ सालमा संसद्ले सन्धिलाई अनुमोदन गरेको थियो । त्यो समयमा नेकपा एमालेभित्र त्यसले ठूलो विवाद निम्तेर एमाले विभाजितसमेत भएको थियो ।

अध्यक्ष ओली गंगा आरतीमा
पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गंगा आरतीमा सहभागी हुन सोमबार साँझ पशुपति क्षेत्रमा पुग्नुभएको थियो । पशुपति क्षेत्र विकास कोषले ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति क्षेत्रमा पुग्नुभएको जनाएको हो । ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नुभएको थियो । पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति बागमती गंगा आरती परिवारलाई अनुमति दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?